-डा जनार्दन सुवेदी
आज बिहान मैले श्री दुर्गा प्रसाईंको एउटा भिडियो क्लिप देखें। उद्यमीबाट सामाजिक, राजनीतिक अभियन्ता बनेका उनले एक जना नेताको बेइमानीलाई व्यंग्य गर्दै ‘बिउबोको’ शब्द प्रयोग गरेका थिए। सुरुमा म हाँसेँ। शब्द आफैंमा ग्रामीण स्वाद बोकेको छ । बिउबोको भन्नाले खसी नबनाएको प्रजनन्का लागि राखिएको बोको जनाउँछ । जसको मूल्य बुद्धिभन्दा बढी प्रवृत्तिमा हुन्छ। अवसरवादी र सिद्धान्तविहीन नेताहरूको चरित्र चित्रण गर्न त्यो रूपक (उपनाम) एकदमै तीखो र सटिक थियो।
तर त्यो हाँसो धेरै बेर टिकेन। मनमा प्रश्न उठ्यो, यदि एक जना नेतालाई बिउबोको भन्न सकिन्छ भने सामाजिक सञ्जालमा छाएको पूरै पुस्तालाई के भन्ने ? यी केवल व्यक्ति होइनन् ? यी भीड हुन्, डिजिटल समूह हुन्, जसको मुख्य योगदान ‘हिहि’ मात्र हो। हजारौंले परिवर्तनका लागि रगत बगाउँदा, कतिपयले ज्यान गुमाउँदा, यिनीहरू भने पीडाभन्दा रमाइलो, स्मृतिभन्दा रमाइलो गर्नेमाध्यम रोज्छन्।
सामाजिक सञ्जालमा हिहि दोहोर्याउँदै हिँड्ने यी पात्रहरूको विडम्बना देख्दा लाग्छ, उनीहरू आफूलाई गम्भीर बौद्धिक ठान्छन्। फेसबुक स्टाटस, टिकटक स्किट, ट्विटर थ्रेड हातमा लिएर सार्वजनिक बुद्धिजीवीझैं प्रस्तुत हुन्छन्। तर न उनीहरू पढ्छन्, न गहिरो सोच गर्छन्। ज्ञानको आवरण ओढ्ने साहस भने यति छ कि सुकरातले पनि सुस्केरा हाल्थे।
समस्या हाँसोमा छैन। हाँसो स्वस्थ समाजको संकेत हो। समस्या तब सुरु हुन्छ जब हाँसोले चिन्तनलाई विस्थापित गर्छ। हिहि तर्क होइन, दृष्टिकोण होइन। यो केवल असुरक्षाबाट जन्मिएको हल्का आवरण हो। नेपाल परिवर्तनको कठिन मोडमा छ । पीडादायी उथलपुथलसँगै सम्भावित नविनताको सम्भावना पनि छ। तर बिउबोको दल त्यो परिवर्तन देख्न सक्दैन।
सञ्चारशास्त्रमा सहभागिता भ्रमको कुरा गरिन्छ। लाइक, सेयर, क्याप्सलकै अक्षरले लेख्नु, यी आलोचनात्मक संलग्नता होइनन्। तर डिजिटल जोकरहरू आफ्ना पोस्टलाई क्रान्तिकारी घोषणापत्र ठान्छन्। उनीहरू आफूलाई लोकतन्त्रका रक्षक, राष्ट्रवादका संरक्षक, गणतन्त्रका भविष्य वक्ता सम्झन्छन्। तर वास्तविकता उनीहरू पुराना नारा पुनःचक्रण गर्छन्, त्यसमा हाँसोको ट्र्याक थप्छन्।
यी पात्रहरू बौद्धिकता अभिनय गर्छन्। सार्वभौमसत्ता, जनमत, लोकतान्त्रिक मूल्यजस्ता शब्द छर्किन्छन् । तर न राजनीतिक सिद्धान्त पढेका छन् न इतिहास बुझेका। उधारो शब्दका पोसाक लगाएर उनीहरू स्टेट्सम्यानझैं हिँड्छन्। हिहिले तर्कलाई प्रतिस्थापन गर्न सक्दैन।
पहिलो नजरमा यो प्रवृत्ति निर्दोष लाग्न सक्छ । अनौठो हाउभाउ र मजाकको डिजिटल तमासा। तर यसले सार्वजनिक बहस बिगार्छ। विश्लेषणभन्दा आक्रोशलाई पुरस्कार दिन्छ। नेपालजस्तो संवेदनशील लोकतान्त्रिक यात्रामा यो खतरनाक छ।
नेपालको इतिहासले देखाएको छ, प्रगति ठूलो स्वरले होइन, गहिरो सोचले हुन्छ। कविहरूले दमनका बेला संस्कृति जोगाए । विद्वानहरूले सार्वभौमसत्ताको नक्सा कोरे। परिवर्तन उपहासले होइन, मननले सम्भव भयो। तर बिउबोकोसँग धैर्य छैन। किताब धुलो खान्छ, उनीहरू फिड रिफ्रेस गर्छन्। ह्यासट्याग नै उनीहरूको क्षितिज हो।
विडम्बना के भने, शासन सुधार, जवाफदेहिता र सार्वभौमिकताबारे नयाँ बहसहरूलाई यिनै जोकरहरूले खिल्ली उडाउँछन्। तर यिनले बुझ्दैनन्, जनताले पहिलो पटक गहिरो प्रश्न सोध्न थालेका छन्। युवा पुस्ताले नाराभन्दा उत्तर माग्दैछ।
उनीहरू किन हाँस्छन् ? किनकि हाँसो सजिलो छ। पढ्नु, सोच्नु, आत्मालोचना गर्नु कठिन छ। मीम सजिलो छ, निबन्ध गाह्रो। ट्विट सजिलो छ, सिद्धान्त गहिरो।
समाजशास्त्री एर्विङ गफम्यानले भनेका थिए, सामाजिक जीवन रंगमञ्च हो, जहाँ मानिसहरू भूमिका निर्वाह गर्छन्। हाम्रो बिउबोकोले यो शाब्दिक अर्थमै लिएको छ। सामाजिक सञ्जाल उनीहरूको मञ्च हो, आफू कलाकार, जनता दर्शक। तर स्क्रिप्ट खोक्रो छ। संवाद कमजोर छ। यस्तो अभिनय धेरै टिक्दैन। तर खतरा के भने, वास्तविक बहस उनीहरूको श्वरमा हराउन सक्छ।
बिउबोकोलाई केवल हास्यपात्र ठानेर बेवास्ता गर्नु पनि गल्ती हो। उनीहरू हाम्रो सार्वजनिक संस्कृतिको कमजोरीको लक्षण हुन्। जब शिक्षा व्यापार बन्छ, बहस सतही हुन्छ र नेताहरू नाटकमा रमाउँछन्, तब सामाजिक सञ्जालका बफुनहरू सामान्य देखिन थाल्छन्।
हामीले आवाजलाई मूल्यसँग नजोड्न सिक्नुपर्छ। ठूलो स्वर सधैं सही हुँदैन। पढ्ने, सोच्ने, बहस गर्ने संस्कार पुनर्जीवित गर्नुपर्छ। बिउबोकोको हिहिले हामीलाई हँसाओस् तर हाम्रो दिशा निर्धारण नगरोस्।
समाजहरू जसले जोकर र चिन्तक छुट्याउन सक्दैनन्, तिनीहरूले न हास्य जोगाउँछन् न बुद्धि। नेपाल आज यस्तै मोडमा उभिएको छ। एकातिर नवीकरणको बाटो छ, आलोचनात्मक चिन्तन र इमानदार बहसको। अर्कोतिर बिउबोकोको सर्कस, जहाँ हिहिले विचारलाई विस्थापित गर्छ।
छनोट हाम्रो हो। हामीले जोकरजस्तालाई मञ्च दिने कि विचारलाई सम्मान गर्ने ? म सामाजिक सञ्जाल स्क्रोल गर्दा हिहिको गुञ्जन सुन्छु। म हाँस्छु, उनीहरूसँग होइन, त्यो समाजमाथि जसले जोकरलाई विद्वान ठान्छ। त्यो हाँसो तीतो छ। तर यसले सम्झाउँछ– चिन्तन, सत्य र मननको लडाइँ अझै सकिएको छैन। बिउबोको चिच्याउन सक्छ तर अन्ततः यथार्थले नै ठूलो स्वरमा बोल्नेछ।
(लेखक मियामी विश्वविद्यालय, ओहायो, अमेरिकामा समाजशास्त्र विभागको प्राध्यापक रहनु भएको छ ।)