Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ३ आइतबार, १०:०५ पूर्वाह्न
बंगलादेशमा चुनाव परिणाम : बाछिटा रास्वपामा

बंगलादेशमा विद्यार्थी आन्दोलनबाट उदाएको नयाँ राजनीतिक शक्ति हालै सम्पन्न संसदीय निर्वाचनमा अपेक्षाअनुसार नतीजा ल्याउन सकेन । कूल २९९ सिटमा भएको निर्वाचनमा स्टुडेन्ट्स अगेंस्ट डिस्क्रिमिनेसन पार्टी ६ सिटमा सीमित भयो ।

बंगलादेशको निर्वाचनपछि दक्षिण एसियाली युवा केन्द्रित राजनीतिमा यसको तरंग देखिन थालेको छ। यसले नेपालमा ‘जेनजी’ मतदातालाई लक्षित रणनीति अपनाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि पनि प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्न सक्ने छ। राजनीतिक विश्लेषकहरूका अनुसार बंगलादेशमा आन्दोलनको ऊर्जा चुनावी परिणाममा रूपान्तरण हुन नसक्नुको मुख्य कारण संगठनात्मक कमजोरी, स्थानीय संरचनाको अभाव र दीर्घकालीन नीतिगत स्पष्टताको कमी थियो। साथै आन्तरिक भन्दा बाह्य शक्तिको ईच्छाअनुसार आन्दोलन भएको र सरकार गठनदेखि राजनीतिक दल स्थापनामा बंगालीहरु सन्तुष्ट थिएनन् ।

जसले निर्वाचनमा बाह्य शक्तिको साथ पाएको दल ६ सिटमा सीमित हुन पुग्यो । यसले के देखायो भने बाह्य शक्ति, अल्गोरिदम, सामाजिक सञ्जालले जनताको मन जित्न सम्भव हुन्न । बंगलादेशमा सामाजिक सञ्जाल र सडक प्रदर्शनले बनाएको लहर मतपेटिकासम्म स्थायी रूपमा पुग्न नसक्दा नयाँ शक्ति सीमित सिटमा खुम्चिएको मूल्यांकन गरिएको छ। त्यहाँजस्तै नेपालमा पनि यसका बाछिटा पर्ने सम्भावना अति उच्च छ ।

नेपालमा रास्वपा २०७९ सालको आम निर्वाचनबाट उदाउँदै प्रतिनिधि सभामा २१ सिट जित्न सफल भएको थियो। शहरी युवा, पहिलोपटक मतदान गर्ने वर्ग र वैकल्पिक राजनीति खोजिरहेका मतदातालाई लक्षित अभियानले पार्टीलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। पार्टी जेनजी राजनीतिक उभारको मुख्य योजनाकारका रूपमा चित्रित पनि भयो । पार्टीका नेताहरु विभिन्न अपराधिकदेखि लुटपाट, ठगीका धन्दामा सम्लग्न भएका धेरै प्रमाणहरु आए र आइरहेका छन् । यसबाट रास्वपामा जनताको आशा दिनदिनै निराशामा परिणत हुन थालेको पाइन्छ ।

यही मेसोमा बंगलादेशको अनुभवले केही संकेत दिएको छ। रास्वपालाई युवा उत्साहलाई दीर्घकालीन संरचनामा रूपान्तरण गर्न नसके परिणाम सीमित हुन सक्छ। भ्रष्टाचारविरोधी नाराभन्दा बाहिर रोजगारी, शिक्षा सुधार, डिजिटल अर्थतन्त्र, सुशासन र संघीय संरचनामा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्ने दबाब बढ्दै गएको छ। ग्रामीण तथा अर्धशहरी क्षेत्रमा संगठन विस्तार नगरे राष्ट्रिय स्तरमा सिट संख्या बढाउन चुनौती देखिन्छ।

आगामी प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै राजनीतिक वृत्तमा गरिएको प्रारम्भिक आकलनअनुसार, हालको जनसमर्थनको आधार जोगाउन र विस्तार गर्न सके रास्वपाले २० देखि ३० सिटसम्म जित्ने सम्भावना देखिन्छ। तर आन्तरिक व्यवस्थापन कमजोर भए वा युवा मतदातामा निराशा बढे सिट संख्या १२–१५ मै सीमित हुन सक्ने विश्लेषण पनि छ। यसैले आगामी निर्वाचन रास्वपाका लागि उभारलाई संस्थागत बनाउने कि क्षणिक लहरमा सीमित हुने भन्ने निर्णायक मोडमा पुगेको देखिन्छ ।

दक्षिण एसियाली राजनीतिक परिदृश्यमा विद्यार्थी आन्दोलन र जेनजी उभारले नयाँ सम्भावना देखाए पनि अन्ततः चुनावी सफलता संगठन, नेतृत्वको विश्वसनीयता र स्पष्ट नीतिमै निर्भर रहने तथ्य बंगलादेशको परिणामले पुनः स्मरण गराएको छ। नेपालमा पनि यही परीक्षा अब आगामी निर्वाचनले गर्नेछ। पश्चिमाको ‘दानापानी’ र योजनाबाट अघिबढेको भन्ने रास्वपामा लागेको दाग मेटाउने भन्दा मतदातालाई धम्क्याउनेदेखि अल्गोरिदमको प्रयोगले तथा वाध्य पारेर मत लिने रणनीति अन्ततः घातक नै हुने देखिन्छ । यही गतिमा अघि बढेको खण्डमा रास्वपाको पनि बंगलादेशको नयाँ पार्टीको जस्तो लज्जाजनक हार नहोला भन्न सकिन्न ।