नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले मध्यपश्चिम पृतना र पश्चिम पृतनाअन्तर्गतका सुरक्षा निकायहरूको निरीक्षण भ्रमण गर्नु भएको छ।
रक्षा मन्त्रालयअन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधान सेनापति सिग्देलले बुटवलस्थित मध्यपश्चिम पृतना र पोखरास्थित पश्चिम पृतनाअन्तर्गत रहेका सुरक्षा व्यवस्थाहरूको स्थलगत निरीक्षण गर्नुभएको हो।
निरीक्षण भ्रमणका क्रममा प्रधान सेनापतिले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आउँदो प्रतिनिधिसभा निर्वाचनको सुरक्षा तयारी तथा समसामयिक वस्तुस्थितिबारे जानकारी लिनु भएको छ। निर्वाचनलाई सुरक्षित, व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न आवश्यक तयारी चुस्त दुरुस्त राख्न निर्देशन दिनुभएको जनाइएको छ।
उहाँले निर्वाचन सुरक्षाजस्तो संवेदनशील जिम्मेवारी वहन गर्ने क्रममा उच्च सतर्कता, समन्वय र अनुशासन कायम राख्न सम्बन्धित कमाण्डर तथा सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको बताइएको छ। निर्वाचनको निष्पक्ष र शान्तिपूर्ण सञ्चालनमा सेना परिचालन हुने अवस्थामा स्पष्ट कार्ययोजना र समन्वयको आवश्यकता औँल्याइएको छ।
नेपाली सेनाले नियमित रूपमा विभिन्न पृतना तथा गणहरूको निरीक्षण गर्दै सुरक्षा अवस्थाको मूल्यांकन गर्ने परम्परा अनुरूप उक्त भ्रमण गरिएको जनाएको छ। निकट भविष्यमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रको तयारी अवस्था बुझ्न उच्च तहबाट स्थलगत अनुगमनलाई प्राथमिकता दिइएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्