Advertisement GIF
फाल्गुन १६ शनिबार, ९:०४ अपराह्न

व्यक्तिको होइन, व्यास्था परिवर्तनको राजनीति पुनः जागरण गर्ने । स्वदेशीय सभ्यताको जगमा बनेको शक्तिहरुसँग साझा मोर्चा निर्माण गरेर अघि बढ्ने । आन्तरिक र्राष्ट्रियताहरु एक अर्का विरुद्ध होइन । औपनिवेशिक केन्द्रिकृत राज्यविरुद्ध साझा संघर्षको निर्माण गर्ने ।

मुक्कुम्लुङलाई सांस्कृतिक होइन, राजनीतिक एजेन्डा बनाउने । केबलकार होइन, भूमि, अधिकार, स्वशासन र रैथाने मुन्धुमी सरक्षणको मुद्दा बनाउने । स्वदेशीय ज्ञान सत्ता बोक्ने पार्टी र विचारसँग एकता गर्ने । निर्वाचन भन्दाअघि नै ‘नो केबलकार’ को मुद्दा राजनीतिक रुपमा स्थापित गर्ने ।

स्वदेशीय ज्ञान सत्ताको जगमा स्वदेशवादी राज्य व्यवस्था निर्माणको एकमात्र लक्ष्य तय गर्ने । राष्ट्रिय मुक्ति क्रान्ती नै अबको एकमात्र राजनैतिक कार्यदिशा बनाएरअघि बढ्ने ।

– लाजेहाङ

मुक्कुम्लुङ (पाथीभरा) कुनै धार्मिक स्थलमात्र होइन । यो याक्थुङ (लिम्बू) सभ्यताको स्वशासित चेतनाको केन्द्र हो । आम नेपालीको आस्थाको धरोहर हो । मुक्कुम्लुङ बुझ्न राज्यको अनुमति चाहिँदैन, औपनिवेशिक सत्ता बुझ्न पाथीभरा चाहिँदैन । यही सत्यले दुई फरक यात्रा जन्मायो ।

काठमाडौंका निवर्तमान मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहको पाथिभरा यात्रा र मधेश केन्द्रीत राजनीतिका खेलाडी राजेन्द्र महतोको मुक्कुम्लुङ यात्रा । यी दुई मधेसी समुदायका जनता हुन् । दुई यात्राको भिन्नता नबुझ्नु भनेको र्राष्ट्रिय राजनीति नै नबुझ्नु हो । त्यससँगै याक्थुङ लिम्बूहरुको सवालमा त अझै गहिरो विश्लेषण हुनु जरुरी छ ।

बालेनको यात्रा
बालेन शाहको पाथिभरा यात्रा राज्यसत्ताले अनुमोदन गरेको, मिडिया–डिजाइन गरिएको, चुनावी छविको विस्तार हो । यस्तो यात्रा हिजो पनि धेरै शासकहरुले गरे र क्रमशः गरि नै रहनेछन । त्यहाँ राज्यका सुरक्षा संयन्त्र सक्रिय हुन्छन् । प्रशासनको मौन सहमति हुन्छ । फुलमाला, स्वागत, फोटो–सेसन सामान्य हुन्छ । कुनै दमन हुँदैन, कुनै प्रश्न उठदैन । अनि प्रश्न र उतर दुवै हुन्न । किनकी त्यो विशुद्ध याक्थुङ लिम्बूहरुको आस्थाको धरोहरमाथि औपनिवेशिकता कायम गर्न वैधता दिने भ्रमण हो ।

किन ? किनकि बालेनको यात्राले राज्यको आधारभूत संरचनालाई चुनौती दिँदैन । उनले कहिल्यै भनेनन्, मुक्कुम्लुङमा केबलकार निर्माण गरेर किन हस्तक्षेप गरेको ? याक्थुङ स्वशासनको ऐतिहासिक अधिकारमाथि किन औपनिबेशिकता लादेको ? किन राज्यले भूमि, भाषा, मुन्धुममाथि कब्जा गर्छ र गरिरहेको छ ? बालेनको यात्रा केबल आध्यात्मिक उपभोग हो र थियो । यो कुनै राजनीतिक मुक्तिको यात्रा होइन । यही कारण बालेनको यात्रा औपनिवेशिक राज्यका लागि सुरक्षित थियो । अनि त्यसैको वैधतामात्र हो ।

राजेन्द्र महतोको यात्रा
राजेन्द्र महतोको मुक्कुम्लुङ यात्रा भने राज्यका लागि खतरा थियो । त्यहीँ मुकुम्लुङ पक्षधर आन्दोलनकारीसमेत थिए । त्यो भ्रमण याक्थुङ लिम्बूहरुको आस्थाको धरोहर बचाउने उदेश्यको साथ थियो ।
किन ? किनकि, उनले मुक्कुम्लुङलाई धार्मिक पर्यटकीय स्थल भनेनन्, उनले यसलाई याक्थुङ प्रथम राष्ट्रको स्वशासनको प्रतीकका रूपमा बोले । उनले औपनिवेशिक राज्य संरचनामाथि प्रश्न उठाए । त्यसैले उनलाई स्वागत होइन, गोली चलाइयो । संवाद होइन, दमन गरियो । सम्मान होइन, राज्यको डर देखियो । राज्य सधैं यस्तै गर्छ । पङतिकार चस्मादित गवा हुन् । राजेन्द्र महतोसहित उहाँसगै त्यहाँ पुग्ने सम्पूर्ण टिममाथि हत्या प्रयास गरियो । जो मुकुम्लुङ धङस गर्ने नीति बोक्छ उसलाई माला, जो मुकुम्लुङ बचाउनु भन्छ, उसलाई गोली । महतोको यात्रा याक्थुङहरुको मात्र होइन, सम्पूर्ण पथम राष्ट्रहरूको साझा राजनीतिक यात्रा र आवाज थियो ।

मित्र शक्ति नचिन्ने रोग
यहाँ सबैभन्दा गम्भीर प्रश्न उठ्छ । याक्थुङ लिम्बूहरुको ताप्लेजुङ आफ्नो बहुमत बसोबासको भूगोल हो । तर राजनीतिक निर्णय लिने कुरामा आफ्नो सभ्यताको प्रतिनिधित्व गर्न सक्ने पात्रको कहिले प्रतिनिधित्व हुँदैन । त्यहाँ हिजोदेखि नै लागेको रोग हो । मानसिकतामा लागेको रोग भएकोले गैर लिम्बूले जितेर आउने, गैर लिम्बूहरुलाई नै जिताएर पठाउन सकेन भने याक्थुङ लिम्बूहरुलाई गहिरो पिर पर्ने बानी परिसकेको छ । बालेन यात्राको समर्थनमा याक्थुङ बुद्धिजीवी, कार्यकर्ता र नेताहरूले दिएको अभिव्यक्ति र समर्थन हेरे पुग्छ । किन समर्थन गरेको पनि थाहा छैन । केका लागि गर्दैछु त्यो त झन ख्याल नै गर्दैन । ‘ख्यालख्यालमा चार ईन्च’ त सहोदरमा मात्र लागू हुन्छ । आन्तरिक झगडाले नै भूमिमाथिको अधिकार र इतिहास गुमेको इतिहास ताजै छ । पार्टीहरुको मूल विचार लाइन के हो ? त्यो त झन याद गर्ने कुरै भएन । यसको एउटैमात्र कारण एक शब्दमा भन्नू पर्दा राजनीतिक दलाली हो । सरदारी चेतना हो । पुराना दलका याक्थुङ नेताहरु आयातित ज्ञान सत्ताबाट पार्टी बनेको दलको सरदारी (दलाल) बने । नयाँ दलका याक्थुङ अनुहारहरु विचार उहीँ तर अझ निखारिएको सरदार बन्ने कोसिश गरिरहेको देखिन्छ । अनुहार फेरिएको मात्र हो । पुरानै आयातित स्क्रिप्ट बोकेर दौडिरहेको छ्न् । व्यक्तिपूजामा रमाउने, व्यास्था नबुझ्ने रोग फैलियो र जरासम्म पुगेको छ । याक्थुङ राजनीतिमात्र होइन उत्पीडित जाती, बर्गको राजनीति आन्दोलनबाट होइन, सामाजिक सञ्जालको लाइकबाट निर्देशित हुन थालेको छ र त्यो एल्गोरिदमले तय गर्दछ ।

बालेन मोह
बालेन शाह कुनै व्यक्तिगत शत्रु होइनन् । तर उनको राजनीतिक दृष्टिकोण र चिन्तनले स्वदेशी सभ्यतासँग संवाद गर्दैन । स्वशासनको प्रश्न उठाउँदैन ।केन्द्रिकृत राज्यलाई चुनौती दिँदैन । याक्थुङहरूले बालेनमा ‘उद्धारकर्ता’ देख्नु भनेको औपनिवेशिक संरचनाभित्र नयाँ मुख खोज्नुमात्र हो । यसले याक्थुङ राजनीति मुक्तितर्फ होइन, व्यवस्थापनतर्फ धकेल्छ । तसर्थ लोकप्रियअनुहार होइन, उसले बोक्ने पार्टीको दस्तावेज हेर्नु जरुरी छ । बालेनको अनुहार बिक्री भनेको रबिको धमिलिइरहेको अनुहारको सहायक कुरामात्र हो । यो रबिको धेरै चलाखीमध्ये अर्काे महत्त्वपूर्ण चलाखी हो ।
बालेन, रवि, स्वर्णिम , गगन र कुलमान यी तत्काल नयाँ देखिएका नेताहरूको राजनीतिक दस्तावेज हेर्दा पुराना दलहरुको नयाँ भर्सन हुन् । एकै औपनिवेशिक संरचनाका फरकफरक अनुहारमात्र हुन् । आयातित ज्ञान सत्ताको नयाँ सरदारहरु हुन् ।

अब के गर्ने ?

व्यक्तिको होइन, व्यास्था परिवर्तनको राजनीति पुनः जागरण गर्ने । स्वदेशीय सभ्यताको जगमा बनेको शक्तिहरुसँग साझा मोर्चा निर्माण गरेर अघि बढ्ने । आन्तरिक र्राष्ट्रियताहरु एक अर्का विरुद्ध होइन । औपनिवेशिक केन्द्रिकृत राज्यविरुद्ध साझा संघर्षको निर्माण गर्ने । मुक्कुम्लुङलाई सांस्कृतिक होइन, राजनीतिक एजेन्डा बनाउने । केबलकार होइन, भूमि, अधिकार, स्वशासन र रैथाने मुन्धुमी सरक्षणको मुद्दा बनाउने । स्वदेशीय ज्ञान सत्ता बोक्ने पार्टी र विचारसँग एकता गर्ने । निर्वाचन भन्दाअघि नै ‘नो केबलकार’ को मुद्दा राजनीतिक रुपमा स्थापित गर्ने । स्वदेशीय ज्ञान सत्ताको जगमा स्वदेशवादी राज्य व्यवस्था निर्माणको एकमात्र लक्ष्य तय गर्ने । राष्ट्रिय मुक्ति क्रान्ती नै अबको एकमात्र राजनैतिक कार्यदिशा बनाएरअघि बढ्ने ।

निष्कर्ष
गोलीले देखाएको सत्य, फुलमालाले स्वागत पाउनु राजनीतिक सही हुनु होइन । गोलीले दमन हुनु , राजनीतिक गलत हुनु होइन । राज्यले जसलाई गोली हान्छ, त्यो नै प्रायः राज्यको वास्तविक चुनौती हुन्छ । राज्यको वास्तविक चुनैती नै भोलिको शक्ति र सत्ता बन्छ । यो नै राजनीतिको वास्तविक सत्य हो । मुक्कुम्लुङले आज एउटा कुरा स्पष्ट गरिदिएको छ । औपनिवेशिक राज्यसँग माला माग्ने कि स्वशासित राष्ट्रको हैसियतमा गोलि ?
शक्तिशाली इतिहास भएको याक्थुङहरूले अब ऎतिहासिक निर्णय गरेर अघि बढ्नै पर्दछ । इतिहासले सधै मौका दिँदैन ।