–आरडी कुलुङ
नेपालमा प्रवासन ठूलो राजनीतिक कन्टेन्टका रूपमा रहेको छ । डढेलो च्याउ झैं पलाएका नयाँ भनिने दलका नेताको कुरा सुन्ने हो भने पुराना राजनीतिक दलले घरघर गएर युवाहरूलाई प्रवासनमा पठाएका हुन् र उनीहरूले चुनाव जिते त्यसलाई चुड्कीका भरमा प्रवासन बन्द गर्ने छन् । विदेश गएका सबैलाई तात्तातै स्वदेश फर्काउने छन् र अनि सबैलाई रोजगारी दिने छन् । कुनै धर्मशास्त्रको कथाका परमप्रभूले झैं छुमन्तर गरेर देश स्वर्ग बनाउने छन् । अनि त्यो हावादारी कुरालाई पत्याउनेको कुनै अभाव छैन । जेहोस् रूमानी सपनामा रमाएका छन् ।
के अधिक प्रवासन पुराना दल र नेताहरूकै कारण शुरू भएको हो त ? होइन । बरू यो त मानव इतिहास सुरू भएदेखिकै निरञ्तरको प्रकृया हो । उहिले र अहिलेको प्रवासनको कारण भने फरक छन् । त्यो बेला खाध्यन्नको खोजी, आक्रमणबाट सुरक्षा र प्राकृतिक प्रकोपबाट बच्न ठूलठूला बसाइसराइहरू हुने गर्थे । मुलतः अस्तित्व रक्षाका निम्ति मानव समुदायले प्रवासन अङ्गाल्थे । समयक्रमसँगै प्रवासनको स्वरूप, कारण र चरित्रमा परिवर्तन आएका छन्। खासगरी पूँजीवादी युग सुरु भएपछिको प्रवासन रोजगारी, शिक्षा, व्यावसाय र विभिन्न नयाँ अवसरको खोजीमा हुने गरेको छ । अझ दोश्रो विश्वयुध्दको अन्त्यसँगै इतिहासकै सभ्य युग सुरू भयो । उत्तरी र पश्चिम युरोप, अमेरिका, जापान जस्ता देश अधिक सम्पन्न र अवसरको केन्द्रका रूपमा विकसित भए । जसले दोस्रो र तेस्रो विश्वका मानिसलाई ती देशले लोभ्याए ।
के नेपालीमात्रै प्रवासनमा जाने हुन् ?
अहिले नेपालमात्रै वैदेशिक रोजगारीमा मानव संसाधन पठाउने मुलुक भएको जसरी प्रचार भइरहेको छ । जबकी विश्वको कुनै त्यस्तो देश नहोला, जहाँका नागरिक वैदेशिक रोजगारीमा नगएका होउन् । छिमेकी मुलुक भारत विश्वमा सबैभन्दा धेरै मानव संसाधन विदेश पठाउनेमा पर्छ । ३ करोड ५० लाख भन्दा ज्यादा भारतीय विदेशमा काम गर्छन् । त्यस्तै करिब डेढ करोड बङ्गलादेशी, करिब १ करोड पाकिस्तानी, ५० लाख इण्डोनेसियन, २२ लाख फिलिपिनी वैदेशिक रोजगारीमा छन् । झण्डै २५ लाख नेपाली विदेशमा कार्यरत छन् । त्यस्तै करिब १ करोड ६० लाख अफ्रिकी वैदेशिक रोजगारमा छन् ।
नेपाली वैदेशिक रोजगारीमा नगए के हुन्छ ?
अरब र मलेसियामा नेपाली नगए बङ्गाली, भारतीय, फिलिपिनी, इण्डोनेसियाली र पाकिस्तानी गइहाल्छन् । भियतनामी, कम्बोडियन, लाओसी, थार्इ, चाइनिज, बर्मिज पनि बजारमा छन् । पूर्वि युरोप पनि धनी छैन । अफ्रिकी महादेश डल्लै बाँकी छ । श्रमशक्ति ती देशबाट आपूर्ति गर्ने छन् । उनीहरूलाई नेपाली नै हुनु पर्ने जरूरी छैन ।
सबै नेपाली बाध्यताले विदेश गएका हुन् ?
दोस्रो विश्व युध्द समाप्त भएपछि शिक्षा र अवसरका लागि संसारभरबाट पश्चिमा मुलुक जान खोज्ने चलन व्यापक बनेकै थियो । बीसौं शताब्दीको उत्तरार्ध र एक्काइसौं शताब्दीको पूर्वाधमा भएको सूचना प्रविधिको विकासले विदेश जाने, जान रहर र प्रयास गर्ने त आम चलन नै भइसकेको छ । यस्तो अवस्थामा नेपालीहरू विदेश जान रोकिएला भन्ने सोँच्नु नै व्यर्थको विषय हो । जति मानिस विदेश गइरहेका छन् ती रहरले नै गइरहेका छन् । युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया, कोरिया, इस्राइल, हङ्कङ्, मकाउ, जापान जानका लागि जुनसुकै स्तरको प्रयास गर्नेको नेपालमा रत्तिभर अभाव छैन । ति देशमा सजिलै भिसा पाउने भए यो पङ्तिकार बाहेका सबै नेपाली विदेश जालान् भन्ने लाग्छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलिया जाने धनाढ्य नेपालीहरू मात्रै छन् । उनीहरूले नेपालबाट खर्बौंको सम्पत्ति लिएर गइसकेका छन् ।
खाडीका देशहरू र मलेसिया तथा पूर्वी युरोपतिर जाने केही बाध्यताले पनि गएका छन् । तर युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलिया जानेहरू नेपालमा राम्रो अवसर लिइरहेकाहरू नै छन् । नेपालमा काम नपाएर गएका होइनन् । उदाहरणका लागि नेपालबाट भारत जाने विप्रेषणलाई हेरौं । विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय संस्थाको अध्ययनअनुसार नेपालबाट भारत जाने रेमिट्यान्स वार्षिक ४ खर्ब नेपाली रुपैयाँ भन्दा बढी छ । भारत विश्वमै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश हो । भारतमा रेमिट्यान्स पठाउने प्रमुख देशहरूको सूचीमा नेपाल ७ औँ स्थानमा छ।
नेपालीहरू यसरी विदेश जानुमा नेपालको अवस्थामात्रै होइन, विश्व व्यवस्था नै जिम्मेवार छ । समाजशास्त्री इमानुएल वालरस्टिनले ‘किन केही देशहरू धनी छन् र केही सधैं गरिब रहन्छन् ?’ भन्ने विषय अध्ययनका क्रममा सन् १९७० को दशकमा ‘ुविश्व व्यवस्था सिद्धान्त’ प्रतिपादन गरेका छन् । वालरस्टिनका अनुसार संसारलाई छुट्टाछुट्टै राष्ट्रहरूको समूहको रूपमा हेर्नु गलत छ । यसलाएै एउटा वैश्विक आर्थिक एकाईको रूपमा हेर्नु पर्ने उनको धारणा थियो । जसलाई उनले ‘विश्व(अर्थव्यवस्था’ भनेका छन् । यो व्यवस्था १६ औं शताब्दीदेखि सुरु भएको पूँजीवादमा आधारित छ।
वालरस्टिनले विश्वलाई तीनवटा श्रेणीमा विभाजन गरेका छन् ।
क. केन्द्रका देशहरू
केन्द्रमा अमेरिका, बेलायत, जर्मनी, अष्ट्रेलिया, क्यानडा, जापान जस्ता सबैभन्दा विकसित, औधोगिक र सैन्य रूपमा शक्तिशाली देशहरू पर्दछन् । तिनीहरूसँग उच्च प्रविधि र पूँजी हुन्छ । जसको बलमा तिनीहरूले गरिब र शक्तिहीन (परिधि) देशहरूबाट सस्तोमा कच्चा पदार्थ र श्रम लिन्छन् र महँगोमा तयारी सामान बेच्छन् । परिधि देशहरूको राजनीति, अर्थतन्त्र र सामाजिक व्यवस्थालाई आफ्नो स्वार्थका लागि प्रयोग गरिरहन्छन् ।
ख. परिधिका देशहरू
परिधिका देशहरू भनेका अफ्रिकी महादेशका अधिकांश देशहरू, ल्याटिन अमेरिकाका कतिपय देशहरू र एसियाका नेपालजस्ता गरिब तथा कम विकसित मुलुक पर्छन् । जुन देशको कच्चा पदार्थ (खानी र कृषि), जलस्रोत र श्रम सस्तोमा केन्द्र देशहरूले लिन्छन् । परिधिका देशहरूको अर्थतन्त्र, राजनीति र स्रोतमा केन्द्रका देशहरूको परोक्ष नियन्त्रण हुन्छ । उनीहरूको सदासयता विना चल्न नसक्ने हुन्छन् । जसले एउटा दुस्चक्रमा तस् देश सधैं फसिरहेका हुन्छन् । उदाहरणका लागि हालैको भेनेज्वेला घटना र अहिले क्यूबामा भइरहेको घटना ।
ग.अर्ध- परिधिका देशहरू
भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिकाजस्ता मध्यम विकसित र शक्तिशाली देशहरू अर्ध–परिधिमा पर्छन् । अर्थात् यी देशहरू केन्द्र र परिधिको बीचमा पर्छन् । यिनीहरूमा केही हदसम्म औद्योगिकीकरण, पूँजी र प्रविधिको विकास भएको हुन्छ। यिनीहरूले परिधिलाई केन्द्रले जस्तै शोषण गर्छन् तर केन्द्रबाट आफैं शोषित हुन्छन्। उदाहरणका लागि ट्रम्पले चीन, ब्राजिल, भारत र हालैमा दक्षिण अफ्रिकासँग लिइरहेको व्यापार नीतिलाई लिन सकिन्छ । तर अर्ध–परिधिका देशहरूले विश्व व्यवस्थालाई सन्तुलनमा राख्न मद्दत भने गरेका हुन्छन् ।
यो सिध्दान्तअनुसार परिधिका देशहरू गरिब भइरहनुमा केन्द्र र अर्ध–परिधिका देशहरूको शोषण जिम्मेवार छ । त्यो भनेको केन्द्र र अर्ध–परिधिका देशहरूसँग परिधिका देशको सदैव ‘असमान विनिमय’ हो । केन्द्रका देशहरूले उच्च मूल्यका सामान बेच्छन् । तर परिधिका देशहरूले न्यून मूल्यका कच्चा पदार्थ बेच्नु परेको हुन्छ । यसले गर्दा धन सधैं परिधिबाट केन्द्रतर्फ प्रवाह हुन्छ । जसलाई पूँजीको सञ्चय भनिन्छ। वालरस्टिनका अनुसार देशहरूको स्थान स्थायी हुँदैन ।
कुनै देश परिधिबाट अर्ध– परिधिमा पुग्न सक्छ जस्तै चीन । तर यो प्रणालीभित्र सबै देश एकैसाथ धनी हुन सम्भव छैन । यो सिद्धान्तले भन्छ कि नेपाल जस्ता देशहरूको विकास केवल आन्तरिक प्रयासले मात्र सम्भव छैन, किनकि हामी एउटा यस्तो विश्वव्यापी संरचनामा बाँधिएका छौँ जहाँ नियमहरू पहिले नै शक्तिशाली देशहरूले आफ्नो अनुकुल बनाएका छन् । शक्तिशाली देशहरूले अरूको भूभाग र स्रोतमाथि कब्जा जमाएर आफ्नो अर्थव्यवस्था बलियो बनाए, जसले गर्दा आजको असमान विश्व संरचना जन्मियो।
त्यस्तै समाजशास्त्रीहरू राउल प्रिबिस र आन्द्रे गुन्डर फ्र्याङ्कद्वारा प्रतिपादित परनिर्भरताको सिद्धान्तले विश्वलाई दुई प्रमुख समूहमा विभाजन गर्छ, केन्द्र र परिधि ।
क. केन्द्र
यसअन्तर्गत विकसित र शक्तिशाली औधोगिक राष्ट्रहरू अमेरिका, बेलायत, जापानसमेत पर्छन् । यिनीहरूसँग प्रविधि, पूँजी र शक्ति हुन्छ।
ख. परिधि
यसअन्तर्गत यी अल्पविकसित वा गरिब राष्ट्रहरू अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका धेरै देशहरू पर्दछन् । यी देशहरू कच्चा पदार्थ र सस्तो श्रमका स्रोत हुन् ।
यो सिद्धान्तले भन्छ कि धनी देशहरूको शोषणको चक्र यस्तो बलियो छ जसले गरिब देशहरूलाई धनी बन्न दिँदैन । गरिब देशहरू ‘पिछडिएका’ होइनन्, बरु उनीहरूलाई धनी देशहरूले योजनाबध्द रूपमा ूगरिब बनाइएकाू हुन् । गरिब देशहरूले सस्तो मूल्यमा कच्चा पदार्थ धनी देशहरूलाई बेच्छन् । त्यही कच्चा पदार्थबाट तयारी वस्तु बनाएर महँगो मूल्यमा फेरि तिनै गरिब देशहरूलाई बेच्छन् । यसले गर्दा धन सधैं गरिब देशबाट धनी देशतिर प्रवाह हुन्छ।
कतिपय सिध्दान्तले कडा मिहिनेत गरे गरिब देश धनी हुन्छन्ू भन्छ, तर परनिर्भरताको सिद्धान्तले ‘जबसम्म विश्वको आर्थिक संरचना बदलिँदैन, तबसम्म धनीले गरिबलाई शोषण गरिरहन्छ र गरिब देश कहिल्यै आत्मनिर्भर हुन सक्दैनन्’ भन्न्ने मान्यता राख्छ।
फेरि सुरूकै प्रसंगमा फर्कौं । कथित् नयाँ भनिएका दलले आफ्नो सरकार बने नेपालीहरू विदेश जान नपर्ने, विदेशमा भएकालाएै फर्काउने भन्ने भनाइ नाङ्गो झुट हो । विश्व व्यवस्था नै यस्तो छ कि अविकसित मुलुकका मानिसलाई केन्द्रका देशले सदावहार तानिरहेको हुन्छ । अहिले सूचना प्रविधिको युगमा त्यो झन् आकर्षक ढङ्गबाट व्यापक बनेको छ । सबैलाई यही देशमा रोजगारी दिने कुरा त झन् सम्भव नै छैन ।
नेपालको प्रगतिको प्रमुख बाधक भनेकै राजनीतिक अस्थिरता हो । वर्तमान विश्व व्यवस्थाले नेपाल जस्ता देशलाई यसरी गाँजेर राखेको छ, जहाँका राजनीतिक नेता र पार्टी अदृष्य शक्तिका गोटी हुन्छन् । विभाजन र विवादको उद्योग नै खोलिदिन्छन् । बाझ्ने काममा नै राजनीतिक शक्तिको समय र उर्जा सकिन्छ । देशको लागि काम कस्ले गर्ने ? कसैले देशका लागि काम गरे खुइल्याउन सुरू भइहाल्छ । पार्टी र नेता उत्पादनको कारखाना नै खुल्छ । धेरै बिरालो भएपछि मुसा मार्ने कुरै भएन ।
अन्तमा नयाँ दावी गर्नेले पुराना भनिएकालाई गर्ने आमचकारी गाली धेरैलाई गीताको श्लोक झैं छ । नेता र पार्टी फेरिँदैमा देशले सुख पाउने होइन । धेरैलाई अघाउँजी पुर्याउन भाडाँमा रोटी नै बढाउनुपर्छ । भान्से परिवर्तन हुँदैमा सबैलाई पेटभरि पुग्ने त कथामा मात्रै हो । जेहोस् देश रमितामा छ र अर्को दुःखको प्रतिक्षामा समाज रोमान्टिक मुडमा छ । तर अहिले धेरैजना एक्स पुराना भनेका दुःखका मुहान हुन्, अनि नयाँ दाबी गर्नेहरू सुखका मूल हुन्, भन्नेको भ्रममा छन् ।
(कुलुङ समसामयिक सामाजिक विषयमा जानकारी राख्ने लेखक हुनुहुन्छ ।)