Advertisement GIF
चैत्र २९ आइतबार, १०:१३ पूर्वाह्न

आज २०८२ को अन्त्यतिर आइपुग्दा, वर्षभरिको घटनाक्रमलाई फर्केर हेर्दा एउटा भयावह चित्र र सँगै सुनौलो भविष्यको रेखा देखिन्छ। ७६ जना सहिदको रगत र जलेका सरकारी निजी र व्यवसायिक भवनहरूको खरानीमा एउटा यस्तो नयाँ नेपालको जग ठडिएको छ, जहाँ युवाहरूले आफ्नो भविष्य आफैँ निर्माण गर्ने साहस जुटाएका छन्। बालेनको नेतृत्वमा रहेको वर्तमान सरकार र संसदमा देखिएको युवा विज्ञहरूको बाहुल्यताले २०८२ साललाई विध्वंसभित्र पनि समृद्धिको आशा रोपिएको वर्षका रूपमा स्थापित गरिदिएको छ।

पुराना नेताहरूले दशकौँसम्म गर्न नसकेको परिवर्तन केवल एउटा वर्षको उथलपुथलले सम्भव गरायो। यो वर्षले नेपालीलाई सिकायो कि जब धैर्यको बाँध फुट्छ, तब भूगोल र उमेरका पर्खालहरू भत्किन्छन् अनि नयाँ इतिहासको जन्म हुन्छ। तसर्थ, २०८२ साललाई इतिहासले रगत र आँसुको वर्षका रूपमा मात्र सम्झने छैन । बरु यो वर्षलाई नेपालीले आफ्नो देशको भाग्य र भविष्य आफैँ कोर्न सुरु गरेको ‘महान प्रस्थान’ को वर्षका रूपमा सधैँ गर्वका साथ स्मरण गरिरहने छन्। विध्वंसले पुराना संरचना भत्काए पनि त्यहीँबाट पलाएका आशाका नयाँ किरणहरूले अब मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा लैजाने विश्वास पलाएको छ।

–रमेश सुवेदी/काठमाडौ

नेपालको राजनीतिक र सामाजिक इतिहासमा २०८२ साल केवल एउटा संवत्सर मात्र रहेन । यो एउटा युगको अन्त्य र अर्को नयाँ युगको प्रसव पीडाको साक्षी बन्यो।

यस वर्षले जति त्रासदी भोग्यो, त्यति नै उत्साहजनक परिवर्तनका बीउहरू पनि रोप्यो। वर्षको सुरुवात जेनजी भनिने नयाँ पुस्ताको अभूतपूर्व सडक विद्रोहबाट भयो, जसले दशकौँदेखि जकडिएको परम्परागत सत्ताको जगलाई क्षणभरमै हल्लाइदियो। भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धका विरुद्ध सङ्गठित भएको यो युवा आक्रोशले अन्ततः हिंसात्मक मोड लिँदा ७६ जना निर्दोश नेपालीले ज्यान गुमाउनु प¥यो।

भदौ २३ । २४ को त्यो रापिलो सातामा सडकमा बगेको रगत र देशभर भएका आगजनीका घटनाले राज्यसत्ता कतिसम्म कमजोर र जनस्तरबाट कटेको थियो भन्ने यथार्थलाई छताछुल्ल पारिदियो। प्रदर्शनकारीहरूले सिंहदरबार र बालुवाटार घेराउ गरेपछि सुरक्षा संयन्त्रले समेत अनपेक्षित दबाब महसुस ग¥यो । मुलुक गृहयुद्धको संघारमा पुगेको आभास भयो। यही जनआक्रोशको राप थाम्न नसक्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको करिव दुई तिहाइको शक्तिशाली भनिएको सरकार सत्ताच्युत हुन पुग्यो, जसले नेपाली राजनीतिमा एउटा ठूलो युगको अवसान र अनिश्चितता पैदा गर्यो ।

ओली सरकारको पतनसँगै मुलुकलाई संवैधानिक संकटबाट जोगाउन र निर्वाचनको सुरक्षित अवतरण गराउन पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भयो। यो सरकारको गठन नेपालको इतिहासमै एउटा फरक प्रयोग थियो । जसले छोटो समयमै शान्ति सुरक्षा कायम गर्दै देशलाई फागुन २१ को ऐतिहासिक निर्वाचनतर्फ सफलतापूर्वक डोर्यायो ।

सुशीला सरकारले तयार पारेको निर्वाचनको मैदानमा यो वर्षको सबैभन्दा ठूलो राजनीतिक सुनामी देखियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत राजनीतिक शक्तिहरूलाई इतिहासमै सबैभन्दा ठूलो धक्का दिँदै संसदमा झन्डै दुई तिहाइ नजिकको सिट हासिल ग¥यो। यो केवल मतको गणना मात्र थिएन, बरु दशकौँदेखि नेपाली राजनीतिमा हालिमुहाली गरिरहेका पुराना पात्र र प्रवृत्तिप्रति जनताको चरम निराशा र विद्रोह थियो।

निर्वाचनको परिणामले अर्थात् उपेन्द्र यादव, राजेन्द्र महतो जस्ता क्षेत्रीय राजनीतिका चतुर खेलाडीदेखि लिएर शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड) सम्मका हस्तीहरूलाई राजनीतिको मूलधारबाट किनारीकृत गरिदियो। मधेसको राजनीतिमा उपेन्द्र यादवको वर्चस्वलाई समेत नयाँ पुस्ताले पूर्णतः अस्विकार गर्दा मधेसले पनि अब पहिचानभन्दा माथि उठेर सुशासन र विकासको मूलधार खोजेको प्रष्ट भयो।

यही चुनावी आँधीबेहरीको बीचमा सबैभन्दा रोचक र ऐतिहासिक मोड तब आयो, जब काठमाडौँका निवर्तमान मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट स्वयं केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरे।

बालेन शाहको यो जित केवल एउटा निर्वाचन क्षेत्रको जित थिएन, बरु यो काठमाडौँको सडकबाट सुरु भएको सुशासनको हुटहुटी सिंहदरबारको मूल कुर्सीसम्म पुग्ने एउटा नयाँ युगको सुरुवात थियो। बालेन शाहको प्रधानमन्त्रीमा उदय हुनुले नेपालमा अब ‘पहुँच र विरासत’ को राजनीति सकिएर ‘काम र नतिजा’ को राजनीति सुरु भएको स्पष्ट सन्देश दिएको छ।