Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ३० शनिबार, ६:१३ अपराह्न
अर्का अमेरिकी जर्नेलको आगमन

अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल भोलि काठमाडौं आइपुग्दैछन् । युएस आर्मी प्यासिफिकका भोवेल भोलि बिहान भुटान हुँदै आउन लागेका हुन् । निर्वाचनपछि अमेरिकी जर्नेलले तीन दिने नेपाल भ्रमण गर्न लागेका हुन् ।

यसअघि फागुन १ गते युएस इण्डो प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारो आएका थिए । उनले त्यसबेला परराष्ट्रमन्त्री बालानन्द शर्मा र प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेर पाँचखालस्थित तालिम केन्द्रको अवलोकन गरेका थिए ।

भोलि आउन लागेका जर्नेलले पनि पाँचखाल भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा भोवेलले प्रधानसेनापति सिग्देललगायत उच्च अधिकारीहरुसँग भेट गर्ने बुझिएको छ । भुटानअघि उनले नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग भेटवार्ता गरिसकेका छन् ।

भदौ २३ गतेको जेन जी प्रदर्शन, भोलिपल्टको विध्वंशपछि गठित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारसँगै हालैको निर्वाचनपछि गठन हुन लागेको रास्वपा नेतृत्वको नयाँ सरकारअघि हुन लागेको अमेरिकी जर्नेलको भ्रमणलाई राजनीतिक र कूटनीतिक वृत्तमा अर्थपूर्ण ठानिएको छ । फागुन २१ गतेको निर्वाचनलगत्तै काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा उल्लेखित ‘सुरक्षासम्बन्धी साझा लक्ष्य’को पृष्ठभूमिमा हुन लागेको वरिष्ठ सैन्य अधिकारीको भ्रमणले विशेष अर्थ राख्ने बताइएको छ ।

यसअघि २०७९ असार ६ गतेको मन्त्रिपरिषद् बैठकले अमेरिकी सुरक्षा कार्यक्रम एसपीपी अघि नबढाउने निर्णय गरेपछि भोलिपल्ट असार ७ गते रवि लामिछाने नेतृत्वको रास्वपाको स्थापना गरिएको थियो । भदौ २३ र २४ गतेको घटनापछि अहिले सोही पार्टीले दुई तिहाइ नजिकैको बहुमतमा सरकार गठन गर्न लागेको अवस्थामा अमेरिकी सेनाका जर्नेल आउन लागेका हुन् । स्मरण रहोस्,२७ अक्टोबर २०१५ मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेख्दै अमेरिकी नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम लागु गर्न सेना तयार भएको जानकारी गराएका थिए ।

(जनआस्था)