स्पार्कल इन्टरटेन्मेन्टले मिस्टर एण्ड मिस सिनियर तथा जुनियर आइडल सिजन–३ को औपचारिक घोषणा गरेको छ। प्रतियोगिता आगामी बैसाख ५ गतेबाट राजधानी काठमाडौंमा सुरु हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता बालबालिका र किशोर– किशोरीमा लुकेका प्रतिभा उजागर गर्ने, आत्मविश्वास र व्यक्तित्व विकासमा सहयोग पुर्याउने तथा कला प्रदर्शनको प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताइएको छ।
सिजन–३ मा सहभागी बालबालिकाको उमेर समूहमा जुनियर ए (६–८ वर्ष), जुनियर बी (९–१२ वर्ष), सिनियर (१३–१५ वर्ष) रहेको छ। अभिभावकहरूले आफ्नो सन्तानको नाम बैसाख ५ गतेसम्म दर्ता गराउन सक्नेछन्। दर्तापछि एक महिनाको प्रशिक्षण हुने र जेठ २ गते राष्ट्रिय नाचघरमा ग्राण्ड फिनाले आयोजना गरिने स्पार्कल इन्टरटेन्मेन्टकी सीईओ नितु श्रेष्ठले बताउनु भयो।
पछिल्ला दुई सिजनका विजेताहरूले प्रतियोगिताको स्तर र उत्साह दुवै बढाएका थिए। पहिलो सिजनमा रियान्शु दाहाल, पूर्णिमा थापा, श्रृष्टि बम्जन र अनमोल उप्रेती विजेता बनेका थिए। दोस्रो सिजनमा कृषा हुमागाँई, स्वीकृति पुन र प्रभाव राई विजेता थिए।
शनिबार (आज) भएको पत्रकार सम्मेलनमा स्पार्कल इन्टरटेन्मेन्टकी सीईओ श्रेष्ठले अभिभावकहरूलाई समयमै नाम दर्ता गर्न आग्रह गर्नु भयो। वरिष्ठ कोरियोग्राफर रोजिन शाक्य, सामाजिक अभियन्ता पूण्य गौतम र मिना ढकालले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नु भयो।
सिजन–३ आगामी पुस्ताको प्रतिभा उजागर गर्दै प्रतिभाशाली बालबालिकालाई आफ्नो कला प्रदर्शन गर्ने रचनात्मक मञ्च उपलब्ध गराउने अपेक्षासहित आयोजना गरिएको आयोजकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्