Advertisement GIF

झापाको चन्द्रगढी स्थायी घर भएका डा परशुराम दाहाल हाल अमेरिकामा बसोबास गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) का क्षेत्रमा अनुसन्धान, विश्लेषण तथा व्यावहारिक प्रयोगसम्बन्धी काममा सक्रिय हुनु हुन्छ । विज्ञान र प्रविधिप्रति सानैदेखि रुचि राख्ने उहाँले झापाको वीरेन्द्र माध्यमिक विद्यालयबाट उच्च माध्यमिक तह, विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट विज्ञानमा स्नातक, तथा काठमाडौंको कीर्तिपुरबाट भौतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गर्नु भएको हो ।

सन् २००४ मा अमेरिका जानु भएका डा दाहालले त्यहाँबाट पुनः एमएससी र अटोमिक मलेकुलर एण्ड अप्टिकल फिजिक्समा विद्यावारिधि पूरा गर्नु भयो। हाल उहाँ एआईका सम्भावना, जोखिम, सामाजिक प्रभाव, र विभिन्न क्षेत्रहरूमा यसको उपयोग बारे अध्ययन, अनुसन्धान र विश्लेषणमा संलग्न हुनु हुन्छ। नेपाल आगमनका अवसरमा डा दाहालसित गरिएको कुराकानीको सम्पादित अंश ।

अहिले अमेरिकामा के गर्दै हुनु हुन्छ ?
म अमेरिकामा बसेर मुख्य रूपमा कृत्रिम बुद्धिमत्तासम्बन्धी अनुसन्धान, विश्लेषण र त्यसका व्यावहारिक प्रयोगमा काम गरिरहेको छु। एआईलाई कसरी अझ जिम्मेवार, उपयोगी, सुरक्षित र समाजका लागि लाभदायक बनाउने भन्ने विषयमा मेरो विशेष रुचि छ। मेरो प्रयास प्रविधिलाई केवल प्राविधिक उपलब्धिमा सीमित नराखी, मानव जीवनलाई प्रत्यक्ष रूपमा उपयोगी हुने दिशामा लैजानु हो।

एआई के हो ?
एआई भनेको यस्तो प्रविधि हो जसले मेसिनलाई मानिसजस्तै सिक्न, बुझ्न, निर्णय गर्न, र समस्या समाधान गर्न सक्षम बनाउँछ। सरल भाषामा भन्नु पर्दा, यो मेसिनलाई अनुभव, तथ्यांक र उदाहरणका आधारमा “बुद्धिमत्तापूर्वक काम गर्न” सिकाउने प्रणाली हो।

यसले मानिसको जस्तै चेतना राख्छ भन्ने होइन, तर निश्चित प्रकारका कामहरूमा यो निकै छिटो, व्यवस्थित र प्रभावकारी ढंगले काम गर्न सक्छ।

यसले कसरी काम गर्छ ?
एआईले ठूलो मात्रामा उपलब्ध तथ्यांकबाट ढाँचा, सम्बन्ध र प्रवृत्तिहरू सिक्छ। उदाहरणका लागि, धेर ैतस्बिर, आवाज, लेख, वा संख्यात्मक तथ्यांकहरूको विश्लेषण गरेर मेसिनलाई तालिम दिइन्छ।

एक पटक पर्याप्त तालिम पाएपछि त्यो प्रणालीले नयाँ जानकारी आएको बेला अनुमान गर्न, वर्गीकरण गर्न, सिफारिस दिन, प्रश्नको उत्तर दिन, वा निर्णय प्रक्रियामा सहयोग गर्न सक्छ। यस अर्थमा एआईको आधार भनेको तथ्यांक, गणनात्मक मोडेल र निरन्तर सुधार हो।

एआईको पछिल्ला प्रवृत्ति कस्तो छ ?
एआईको अवधारणा नयाँ होइन । यसको औपचारिक विकास सन् १९५६ तिर सुरु भएको मानिन्छ। तर पछिल्ला वर्षहरूमा मेसिनको गणनात्मक क्षमता, विशाल तथ्यांकको उपलब्धता र नयाँ गणना विधि तथा अनुसन्धानका कारण यसको विकास अत्यन्त तीव्र रूपमा अघिबढेको छ।
अहिले एआईलाई मानिसको काम सजिलो बनाउने, उत्पादकता बढाउने, जटिल समस्या समाधानमा सहयोग गर्ने, र निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउने उपकरणका रूपमा विश्वभर प्रयोग गरिँदै छ।

पछिल्लो समय विशेषगरी भाषा, चित्र, आवाज, स्वास्थ्य, शिक्षा, कृषि, स्वचालन र विश्लेषणात्मक निर्णय सहयोगजस्ता क्षेत्रमा यसको प्रभाव धेरै तीव्र रूपमा बढेको छ।

एआईले कस्ता काम गर्दैछ ?
एआई अहिले स्वास्थ्य, शिक्षा, कृषि, बैंकिङ, उत्पादन, दूरसञ्चार, यातायात, ऊर्जा, सञ्चार, अनुसन्धान र प्रशासनजस्ता धेरै क्षेत्रमा प्रयोग भइरहेको छ। उदाहरणका रूपमा, रोगको प्रारम्भिक पहिचानमा सहयोग, कृषि उत्पादनका पूर्वानुमान, ग्राहक सेवामा स्वचालित संवाद प्रणाली, उद्योगमा स्वचालन, तथ्यांक विश्लेषण र निर्णय सहयोग र भाषा अनुवाद, लेखन, र सूचना व्यवस्थापन गराइन्छ ।

यसका अतिरिक्त, एआईले जोखिम पहिचान, अनियमिता पत्ता लगाउने, सेवा सुधार, समय बचत र स्रोतको प्रभावकारी उपयोगमा पनि ठूलो योगदान दिन थालेको छ।

अब यसले के–के गर्न सक्छ ?
भविष्यमा एआईले अझ धेरै क्षेत्रमा शक्तिशाली सहयोगीको भूमिका खेल्ने छ। यसले स्वास्थ्य सेवा, व्यक्तिगत शिक्षा, कृषि व्यवस्थापन, वातावरणीय निगरानी, स्मार्ट सहर, ऊर्जा प्रणाली, अनुसन्धान र दैनिक जीवनमा डिजिटल सहायकका रूपमा महत्वपूर्ण काम गर्न सक्छ।
मानिसको व्यक्तिगत र भावनात्मक जीवनसँग सम्बन्धित क्षेत्रमा पनि एआईको प्रयोग विस्तार हुन सक्छ। उदाहरणका लागि, यसले एक्लोपन कमगर्न सहयोग गर्ने डिजिटल प्रणाली, मानसिक स्वास्थ्य सहयोग, वा सामाजिक अन्तरक्रियामा आधारित सहायक प्रणालीहरू विकास गर्न मद्दत गर्न सक्छ।

तर यस्ता विषयहरू मानैतिकता, गोपनीयता, सुरक्षा, मानवीय संवेदनशीलता र सामाजिक प्रभाव अत्यन्त महत्त्वपूर्ण हुन्छन्। त्यसैले एआईले मानव सम्बन्धलाई पूर्णरूपमा प्रतिस्थापन गर्छ भन्नु वैज्ञानिक रूपमा उचित हुँदैन। बरु यसले केही सीमित पक्षमा सहयोग पुर्याउन सक्छ भन्नु बढी यथार्थपरक हुन्छ।

एआईले सबै काम गर्दा मानिसको अस्तित्व कस्तो रहला ?
एआईको विकाससँगै अवसर पनि बढ्छ र जोखिम पनि। केही कामहरू स्वचालित हुन सक्छन्, केही पेशाको स्वरूप बदलिन सक्छ, र केही क्षेत्रमा दक्षताको मापदण्ड नै फेरिन सक्छ। तर त्यसले मानिसको भूमिका समाप्त हुन्छ भन्ने होइन।

बरु, सिर्जनशीलता, नैतिक निर्णय, नेतृत्व, सहानुभूति, सामाजिक सम्बन्ध, उत्तरदायित्व, र जटिल परिस्थितिमा विवेकपूर्ण निर्णय—यस्ता क्षेत्रमा मानिसको भूमिका अझ महत्वपूर्ण रहन्छ। मेसिनले धेरै काम गर्न सक्छ, तर मूल्यबोध, मानवता, संवेदना र सामाजिक उत्तर दायित्वको केन्द्रमा मानिस नै रहन्छ।

मानिसले केही गर्नु नपर्दा हामी परजीवी नै त बन्दैनौं ?
त्यस्तो होइन। प्रविधिको उद्देश्यमा मानिसलाई निष्क्रिय बनाउनु होइन, यसको उद्देश्य मानिसलाई अझ सक्षम, उत्पादक र सिर्जनशील बनाउनु हो।

एआईले दोहोरिने, समय खाने, वा अत्यधिक गणनात्मक काममा सहयोग गर्न सक्छ, जसले मानिसलाई अझ महत्त्वपूर्ण, सिर्जनशील, र रणनीतिक काममा समय दिन मद्दत गर्छ। त्यसैले भविष्यको प्रश्न “मानिस कामविहीन हुन्छ” भन्ने होइन, बरु “मानिसले कस्तो काम गर्नेछ” भन्ने हो । अन्तिम जिम्मेवारी, नैतिक निर्णय, र मानवीय असरको मूल्यांकन भने मानिसकै हातमा रहनु पर्छ।

नेपालमा एआई कसरी सदुपयोग गर्न सकिन्छ ?
नेपालमा एआईको प्रयोगका धेरै सम्भावना छन्। विशेष गरी, कृषिमा उत्पादन पूर्वानुमान, रोग पहिचान, सिँचाइ व्यवस्थापन, स्वास्थ्यमा प्रारम्भिक निदान, स्वास्थ्य सूचना पहुँच, शिक्षामा व्यक्तिगत सिकाइ, डिजिटल सामग्री, भाषामैत्री शैक्षिक सामग्री, वातावरणमा वातावरण विपद् पूर्वानुमान, प्रदूषण विश्लेषण, जलवायु निगरानी, ऊर्जा र विद्युतमा चुहावट पहिचान, माग पूर्वानुमान, स्मार्ट व्यवस्थापन अनि सञ्चारमा पत्रकारिता र सूचना व्यवस्थापन सामग्री विश्लेषण, अनुवाद, तथ्य जाँचमा सहयोग लिन सकिन्छ ।

नेपालले आफ्नै क्षमता विकास गर्नु पर्छ। तर आवश्यकता परेको समयमा अन्तर्राष्ट्रिय सहकार्य, प्राविधिक साझेदारी र अनुसन्धानमूलक सहकार्य पनि लिन सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको एआईलाई केवल फेसन, हल्ला, वा प्रदर्शनका रूपमा होइन, समस्या समाधान गर्ने व्यावहारिक साधनका रूपमा उपयोग गर्नु हो।

नेपालको चुनावमा एआईको भूमिका, चुनावी परिणाम र अमेरिकाबाट हेर्दा नेपालको प्रगति किन सुस्त देखिन्छ ?

नेपालको हालसालैको निर्वाचनमा डिजिटल प्रविधि, सामाजिक सञ्जाल, तथ्यांक विश्लेषण र लक्षित सन्देशले निश्चित प्रभाव पारेका छन्। एआईले प्रचारलाई व्यवस्थित, लक्षित, र प्रभावकारी बनाउन सहयोग गर्न सक्छ, तर चुनाव जिताउने वा हराउने एकमात्र कारण एआई होइन। चुनावी परिणाम राजनीतिक मुद्दा, जनसमर्थन, नेतृत्व, संगठन, सामाजिक असन्तोष र नयाँ विकल्पप्रतिको आकर्षणजस्ता धेरै पक्षको संयुक्त परिणाम हो।

मेरो दृष्टिमा, नेपालको पछिल्लो चुनाव केवल दलगत जीत–हार होइन । यो समाजको चेतना, पुस्तागत परिवर्तन, र पुरानो राजनीतिक शैलीप्रतिको असन्तोषको अभिव्यक्ति पनि हो। विशेषगरी युवा, शिक्षित, बौद्धिक र डिजिटल रूपमा सक्रिय वर्गले परिवर्तनको चाहना बलियो रूपमा देखाएका छन्।

छोटकरीमा, ३२–३५ वर्षदेखि लास्ट बेन्चर, जसको ब्रेनले परीक्षा पास गर्न ४०–५० प्रतिशतमात्र खोज्थ्यो, त्यो प्रवृत्ति त्यही प्रतिशतमा ढुक्क थियो र त्यही परिणाममा खुसी थियो। यो र त्यो गर्यौँ भन्दै घमण्ड पनि गथ्र्यो, र त्यसका अधिकांश समर्थक पनि त्यस्तै ब्रेनका थिए। तर फस्र्ट बेन्चर, जो ८० प्रतिशतमा पनि खुसी हुँदैन, ती स्मार्ट ब्रेन र फस्र्ट बेन्चर प्रवृत्तिले लास्ट बेन्चरलाई फस्र्ट राउन्डमा फिजिकल रूपमा र सेकेन्ड राउन्डमा इलेक्सनको माध्यमबाट खेदेको हो जस्तो लाग्छ। मेरो अमेरिकाको लामो कार्यअनुभवले के देखाउँछ भने, लास्ट बेन्चर प्रवृत्ति निजामती, प्रहरी, सेनाजस्ता निकायको माथिल्लो तहमा पुगे पनि वा मन्त्री बने पनि सोचाइ प्रायः ४० प्रतिशतकै सीमामा अड्किएको हुन्छ। त्यसैले पद, शक्ति र जिम्मेवारी ठूलो भए पनि परिणाममुखी काम, दूरदृष्टि र प्रभावकारी परिवर्तन भने अपेक्षाअनुसार देखिँदैन। नेपालमा सोचेजस्तो प्रगति हुन नसक्नुको एक प्रमुख कारण पनि यही मानसिकता हो जस्तो लाग्छ।

के अब कृत्रिम बुद्धिमत्ता र रोबोटले महिला तथा पुरुष दुवैका यौन चाहना पूरा गर्न सक्ने अवस्थामा पुग्दैछन् ?
कृत्रिम बुद्धिमत्ता र रोबोटिक्सको तीव्र विकाससँगै मानिसको व्यक्तिगत, भावनात्मक र यौनिक जीवनसँग सम्बन्धित क्षेत्रमा पनि नयाँ सम्भावना बारे चर्चा बढिरहेको छ। सैद्धान्तिक रूपमा हेर्दा, भविष्यमा एआई सञ्चालित रोबोट वा उन्नत डिजिटल प्रणालीहरूले महिला र पुरुष दुवैका केही यौन चाहना वा घनिष्ठतासम्बन्धी अनुभवमा सीमित सहयोग पुर्याउन सक्ने सम्भावना अस्वीकार गर्न सकिँदैन।

तर यो विषयलाई केवल प्रविधिको चमत्कारका रूपमा हेर्नु पर्याप्त हुँदैन। यौनिकता केवल शारीरिक तृप्तिको विषयमात्र होइन । यसमा भावना, आत्मीयता, सहमति, नैतिकता, गोपनीयता, मानसिक स्वास्थ्य र मानवीय सम्बन्धको गहिरो आयाम जोडिएको हुन्छ। त्यसैले एआई वा रोबोटले केही व्यवहारिक वा अनुकरणात्मक पक्षमा सहयोग गर्न सक्छन्, तरमानवीय सम्बन्धको सम्पूर्ण गहिराइ, संवेदना, र आत्मीयता पूर्णरूपमा प्रतिस्थापन गर्न सक्छन् भन्नु अहिलेको अवस्थामा अतिरञ्जित हुन्छ।

यसकारण, भविष्यमा एआईले यौनिक वा घनिष्ठ जीवनका केही पक्षमा भूमिका खेल्न सक्छ, तर यसलाई मानव सम्बन्धको विकल्प भन्दा पनि सीमित प्राविधिक सहयोगका रूपमा बुझ्नु बढी यथार्थपरक हुन्छ। अन्ततः मानिसको भावनात्मक गहिराइ, परस्पर समझदारी र आत्मीय सम्बन्धको स्थान प्रविधिले सजिलै लिन सक्दैन।