Advertisement GIF
कल्पवृक्ष
वैशाख ७ सोमबार, १०:३३ अपराह्न
मथुरा थापाको ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन

शिक्षा क्षेत्रको समग्र विकासमा सक्रिय मथुरा थापाले लेख्नु भएको बालबालिकाको मनोविज्ञानमा आधारित पुस्तक ‘कोमल अभिभावकत्व’ विमोचन गरिएको छ। हाम्रो बालापन नेपालले आज (सोमबार) राजधानीमा आयोजना गरेको एक कार्यक्रमका बीच उक्त पुस्तक सार्वजनिक गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक, शिक्षक र समाजका सबै पक्षबीच मजबुत सहकार्य हुनुपर्नेमा जोड दिनुभयो। शिक्षकको एउटा सकारात्मक शब्द वा उत्प्रेरणाले विद्यार्थीको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने उदाहरण दिँदै उहाँले ‘कोमल अभिभावकत्व’ पुस्तकले अभिभावकहरूलाई बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक संस्कार सिकाउन महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

पुस्तकका लेखक मथुरा थापाले आफूले २१ वर्षदेखि शिक्षक, प्रधानाध्यापक र प्रशिक्षकको रूपमा कार्य गर्दा सँगालेका अनुभव र अनुसन्धानलाई पुस्तकमा उतारेको बताउनुभयो। बालबालिकाको भावनात्मक, मानसिक तथा सामाजिक विकासमा अभिभावकको भूमिकालाई केन्द्रमा राखेर ७४ परिच्छेदमा तयार पारिएको यस पुस्तकमा आधुनिक समाजमा बदलिँदो अभिभावकत्व शैलीका बारेमा चर्चा गरिएको छ।

सोही अवसरमा शिक्षा र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए बापत राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवाल, समाजसेवी पासाङकाजी शेर्पा र बालमनोविद् डा गङ्गा पाठकलाई सम्मान गरिएको थियो। सम्मानित भएपछि पत्रकार सिलवालले शिक्षा पत्रकारितामार्फत यस क्षेत्रका समस्या र सुधारका लागि निरन्तर आवाज उठाउँदै जाने बताउनुभयो। त्यस्तै, समाजसेवी शेर्पाले सामाजिक कार्यमार्फत समुदायको उत्थानमा क्रियाशील रहने र डा पाठकले बालबालिकाको मानसिक स्वास्थ्यका विषयमा समाजमा सचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

लेखिका– मथुरा थापा

शिक्षा क्षेत्रमा सक्रिय रहेर अभियन्ताकै रुपमा कार्यरत थापा हाल ‘हाम्रो बालपन नेपाल’  को अध्यक्ष हुनुहुन्छ ।