-सुरेन्द्र सुवेदी/काठमाडौं
‘कोमल अभिभावकत्व’ महिलाको गर्भावस्थादेखि बालबालिकालाई १८ वर्षसम्म हुर्काउने सम्पूर्ण प्रक्रियामा आमाबुबाले अपनाउनुपर्ने व्यवहार, सोच र सीपबारे केन्द्रित एक उपयोगी कृति हो। शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढी समय सक्रिय रहँदै आएकी लेखिका मथुरा थापाले तयार पारेको यो पुस्तक हालै काठमाडौंमा सार्वजनिक भएको छ। पुस्तकले अभिभावकत्वलाई केवल जिम्मेवारीका रूपमा होइन, एक संवेदनशील कला र दीर्घकालीन सामाजिक लगानीका रूपमा प्रस्तुत गरेको छ।

लेखिका : मथुरा थापा
७४ परिच्छेदमा विभाजित यस कृतिमा नानीको बानी विकासदेखि असल अभिभावकमार्फत असल समाज निर्माणसम्मका विषयहरूलाई सरल र व्यावहारिक ढङ्गले प्रस्तुत गरिएको छ। बालमनोविज्ञानमा आधारित सुझावहरू, उमेरअनुसार विकासका चरणहरू, खेल, आहार, व्यवहार र सिकाइका तरिकाहरूलाई सन्तुलित रूपमा समेटिएको छ। यसले अभिभावकलाई केवल जानकारी मात्र होइन, व्यवहारमै लागू गर्न सकिने मार्गदर्शन दिन्छ।
पुस्तकको भूमिकामा प्राध्यापक डा विदुर चालिसेले यसलाई नेपाली समाजका अभिभावक, गृहिणी, सामाजिक अभियन्ता तथा बालबालिका हुर्काउने सबैका लागि दिशानिर्देशक कृति भनेका छन्। उनका अनुसार बालबालिकाको समुचित विकासका लागि खेलौनाको छनौट, पोषणयुक्त आहार, प्रारम्भिक पाँच वर्षको महत्व, उमेरअनुसार खेलकुद र व्यवहार व्यवस्थापनजस्ता पक्षहरूमा पुस्तकले विशेष जोड दिएको छ।
बालबालिकाले देखाउने सामान्य व्यवहार, जस्तै खुट्टा भुइँमा बजार्ने वा जिद्दी गर्ने प्रवृत्तिको मनोवैज्ञानिक कारण र त्यसको दीर्घकालीन असरबारे पनि पुस्तकले गम्भीर विश्लेषण प्रस्तुत गरेको छ।
पुस्तकको मूल सन्देश स्पष्ट छ, आमाबुबा नै बालबालिकाका पहिलो शिक्षक हुन्। जन्मदेखि विद्यालय जानुअघिसम्मको समय बालबालिकाको जीवनमा अत्यन्त महत्वपूर्ण हुन्छ, जहाँ उनीहरूले अधिकांश कुरा अभिभावकबाटै सिक्छन्। बालबालिकालाई काँचो माटोको संज्ञा दिँदै पुस्तकले उनीहरूको भविष्य वर्तमान पालनपोषणमा निर्भर रहने बताउँछ। सही संस्कार, व्यवहार र वातावरणले नै भविष्यका जिम्मेवार नागरिक निर्माण हुने धारणा पुस्तकले सशक्त रूपमा प्रस्तुत गरेको छ।
यस सन्दर्भमा महान् वैज्ञानिक थोमस एडिसनको बाल्यकालको प्रसङ्ग उल्लेखनीय छ। विद्यालयले असक्षम ठहर गरेका एडिसनलाई उनकी आमाले सकारात्मक ढङ्गले मार्गदर्शन गरिन्, जसले उनलाई विश्वप्रसिद्ध वैज्ञानिक बन्न प्रेरित गर्यो। यस उदाहरणमार्फत पुस्तकले अभिभावकको सकारात्मक सोच, विश्वास र हौसलाले बालबालिकाको क्षमतालाई कसरी उचाइमा पु¥याउन सक्छ भन्ने सन्देश दिन्छ।
लेखिकाले स्पष्ट रूपमा उल्लेख गरेकी छन्, बालबालिका जन्मँदै असल वा खराब हुँदैनन्। उनीहरूको व्यक्तित्व निर्माणमा अभिभावक, शिक्षक र समाजको व्यवहार, वातावरण र संस्कारको निर्णायक भूमिका हुन्छ। अभिभावकको बोली, व्यवहार र जीवनशैलीबाट बालबालिका सबैभन्दा छिटो प्रभावित हुने भएकाले सचेत अभिभावकत्व अत्यावश्यक हुन्छ।
आफ्नो २१ वर्षको शिक्षण अनुभवका आधारमा लेखिकाले विभिन्न स्वभाव र पृष्ठभूमिका बालबालिका तथा अभिभावकसँगको अन्तरक्रियाबाट प्राप्त ज्ञानलाई पुस्तकमा समेटेकी छन्। अभिभावकको साझा चाहना आफ्ना सन्तानलाई असल र सफल बनाउने भए पनि त्यसका लागि आवश्यक ज्ञान र व्यवहारिक सीपको अभाव देखिने यथार्थलाई पुस्तकले सम्बोधन गरेको छ। यही कारणले यो कृति सैद्धान्तिकभन्दा बढी व्यवहारिक मार्गदर्शकका रूपमा प्रस्तुत भएको छ।
पुस्तकमा गर्भावस्थादेखि किशोरावस्थासम्मका विभिन्न चरणहरूमा अभिभावकले अपनाउनुपर्ने व्यवहारको विस्तृत चर्चा गरिएको छ। गर्भधारणको समयदेखि नै बच्चाको मानसिक र भावनात्मक विकास सुरु हुने भएकाले त्यसबेला आमाबुबाको सोच, व्यवहार र वातावरणले प्रभाव पार्ने विषयलाई स्पष्ट पारिएको छ। नवजात शिशुको स्याहारदेखि पूर्वबाल्यावस्था र किशोरावस्थासम्मका चुनौतीहरूलाई सरल भाषामा व्याख्या गरिएको छ।
बालबालिकाको सर्वाङ्गीण विकासलाई शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक चार पक्षमा विभाजन गर्दै पुस्तकले यी सबैको सन्तुलन आवश्यक रहेको बताउँछ। घर निर्माणमा प्रत्येक खम्बा जति महत्वपूर्ण हुन्छ, त्यस्तै बालविकासका यी चार आयाम पनि उत्तिकै आवश्यक हुन्छन् भन्ने सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
यस कृतिमा बालबालिकालाई सिकाउने प्रभावकारी तरिका, उनीहरूको मनोभावना बुझ्ने सीप, दीर्घकालीन सिकाइ विकास गर्ने उपायहरू पनि समेटिएका छन्। ‘प्रेमका पाँच भाषा’, ‘भर्चुअल लत’, ‘विद्यालय छनौट’, ‘कथा सुनाउने कला’, ‘ध्यान केन्द्रित गर्ने सीप’ जस्ता समसामयिक विषयहरूलाई समेत समेटेर पुस्तकलाई आधुनिक सन्दर्भमा उपयोगी बनाइएको छ।
त्यसैगरी वित्तीय शिक्षा, अनुशासन, आवश्यकताअनुसार खर्च गर्ने बानी, सकारात्मक संवाद, रिस व्यवस्थापन, पठन संस्कार विकास, राष्ट्रप्रेम, पुर्खाको इतिहास बुझाउने जस्ता जीवनोपयोगी विषयहरूलाई पनि पुस्तकले समेटेको छ। ‘जति धेरै निषेध, त्यति नै जिद्दी’ जस्ता व्यवहारिक सत्यलाई उदाहरणसहित प्रस्तुत गर्दै अभिभावकलाई व्यवहार सच्याउने सन्देश दिइएको छ।
लेखिकाले आफू आमा बनेपछि अनुभव गरेको परिवर्तन, जिम्मेवारीबोध र सिकाइलाई पनि पुस्तकमा समावेश गरेकी छन्। आफ्ना सन्तान अर्नव थापा र आशीर्वाद थापाको गर्भावस्था, जन्म, हुर्र्काईका अनुभवसँगै उनले सिकेका ज्ञानलाई अन्य अभिभावकसँग बाँड्ने उद्देश्यले यो कृति तयार पारेकी हुन्। परिवारको साथ र प्रेरणाका कारण पुस्तक सम्भव भएको उल्लेख गर्दै उनले आफ्ना श्रीमान् केशव थापाप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
समग्रमा ‘कोमल अभिभावकत्व’ केवल अभिभावकका लागि मार्गदर्शक पुस्तक मात्र नभई बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने सामाजिक दस्तावेजका रूपमा स्थापित हुने क्षमता बोकेको कृति हो। वर्तमान व्यस्त जीवनशैली, बढ्दो प्रतिस्पर्धा र बदलिँदो सामाजिक परिवेशका बीच सचेत, संवेदनशील र जिम्मेवार अभिभावकत्वको आवश्यकता झन् बढिरहेको सन्दर्भमा यो पुस्तक अत्यन्त सान्दर्भिक देखिन्छ।
अन्ततः, आफ्ना छोराछोरीलाई असल, सफल, स्वस्थ र खुसी बनाउने साझा उद्देश्य बोकेका अभिभावकका लागि यो कृति एक उपयोगी मार्गदर्शक मात्र नभई दीर्घकालीन प्रेरणाको स्रोत बन्न सक्छ। यो पस्तक २७२ पृष्ठको छ भने मूल्य ७५० रुपैयाँ राखिएको छ। वाशु क्षितिजको आवरण र प्राडा विदुर चालिसेले पुस्तक सम्पादन गर्नु भएको छ।
प्रतिक्रिया दिनुहोस्