सुशील बराल/काठमाडौं
नेपाली राजनीतिमा अहिले एउटा अनौठो र विरोधाभासपूर्ण दृश्य देखिएको छ। एकातिर जनताले परिवर्तनको आशामा बालेन शाह जस्ता पात्रलाई उच्च मतका साथ प्रधानमन्त्रीको कुर्सीमा पुर्याएका छन् भने अर्कोतिर त्यही शक्तिको आडमा भुइँमान्छेहरू मारमा परेको गम्भीर आरोप लागेको छ। सुकुम्बासीहरुलाई नदी किनारबाट हटाउने नाममा वर्षातको समयमा बिचल्ली बनाएर सरकार सर्वत्र आलोचनाको पात्र बनिरहेको छ ।
महाअभियान सनातन युवा परिषद्को सरकारको यो कदमको आलोचना गर्दै सरकारलाई चेतावनी दिन्छ । परिषद्को आरोप भनेको दुई तिहाइको बलियो सरकारले सुकुम्बासीहरूलाई संरक्षण दिनुको साटो उनीहरूलाई आत्महत्या गर्न बाध्य तुल्याउनु हो । लोकतन्त्रमा सरकारको पहिलो दायित्व आफ्ना नागरिकको जीउधनको रक्षा गर्नु हो। जब राज्यले जनताको ओत खोस्छ र विकल्पहीन अवस्थामा पुर्याउँछ, तब जनताले त्यसलाई राज्यद्वारा गरिएको हत्याका रूपमा बुझ्न थाल्छन्। यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिम्मवारी लिनु पर्छ ।
सकुम्बासी हटाउने नाममा भएको अर्को मुख्य पाटो मन्दिर र गुम्बा भत्काइएको विषय पनि छ । नेपाल जस्तो धार्मिक आस्था राख्नेहरुको बाहुल्य रहेको देशमा विकास वा अन्य बहानामा धार्मिक संरचनाहरूमाथि डोजर चलाउनुलाई जनताले आफ्नो आस्थामाथिको सिधा प्रहारको रूपमा लिएका छन्। आस्थाको केन्द्र मन्दिर र गुम्बा केवल ढुंगा र माटोका संरचना होइनन्, ती समुदायको पहिचान र इतिहास हुन्। सरकारले विकास र धर्मबीच सन्तुलन कायम गर्न सकेन भने यसले समाजमा ठूलो धार्मिक ध्रुवीकरण निम्त्याउन सक्छ।
अनि, सरकारको यस्तै रवैयाका कारण जनता सडकमा निस्किन बाध्य हुनेछन् । यदि जनता सडकमै आउनु भनेको उद्घोषले सम्भावित नागरिक विद्रोहको संकेत हो। जब संवादका ढोकाहरू बन्द हुन्छन् र सरकार दुई तिहाइको अहंकारमा अन्धो हुन्छ, तब सडक नै अन्तिम विकल्प बन्ने गरेका धेरै देशमा उदाहरण छन् ।
जनताले दिएको मत अहंकार प्रदर्शन गर्नका लागि होइन, बरु जनसेवाका लागि हो। बालेन नेतृत्वको सरकार र सत्ता साझेदार दलहरूले युवा पुस्ता अर्थात नवयुवाहरूका चेतावनीलाई हलुका रूपमा लिनु हुँदैन। विकासको नाममा विनाश र सुधारको नाममा संहार किमार्थ स्वीकार्य हुँदैन। यदि राज्यले समयमै आफ्ना कदमहरू सच्याएन भने सडकबाट उठ्ने आक्रोशले कुनै पनि शक्तिशाली सरकारलाई ढाल्ने सामर्थ्य राख्छ।
सरकारको गलत रवैयाका कारण दुई जना सुकुम्बासीले देह त्याग गरिसकेका छन् । अब पनि सरकारले जनहितमा काम गरेन भने योक्रम रोकिएला भन्न सकिन्न । तसर्थ समयमै जनहितमा काम गर्न निः शुल्क सल्लाह दिन सकिन्छ ।
(बराल महाअभियान सनातन युवा परिषद संयोजक हुन् ।)
प्रतिक्रिया दिनुहोस्