हेमराज जोशीले रोजगारी र गुजाराका लागि भारतमा पुगेर सामान डेलिभरी गर्ने, होटलमा काम गर्नेमात्र गरेनन् सुरक्षा गार्डको रुपमा पनि झण्डै ७ वर्ष बिताए । कडा परिश्रम र देशबाहिरको बसाइबाट बिरक्तिएका हेमराजले देशमै फर्केर केही गर्ने सोचका साथ एक समूह बनाए, ‘हामी बिदेशमा कहिलेसम्म’ । २०६९ मा भारत पुगेका उनले केही युवाको समूह नै बनाए र २०७६ मा नेपाल फर्किए । तर, फर्कँदा भने उनीहर १० जनामात्र भए ।

कोरोनाकालमा भारतमा रहँदा उनले त्यहाँ अलपत्र परेका, कोभिडले बिरामी परेका, रोजागारी नपाएर भोकै बस्नु परेका र घर फर्कने खर्च नभएका अनि कोरोनाको भयले काम नै छोडेर देश आउन चाहनेहरुलाई सक्दो सहयोग जुटाएका थिए । नेपाल फर्केपछि उनी निरन्तर सामाजिक काममै व्यस्त छन् ।
कैलालीको लम्केचुवा नगरपालिका– ९ मा भुवाने र पुना बुबाआमाका ५ मध्ये कान्छो सन्तान हेमराजले पालिकाभित्रका अपाङ्गता भएका बालबालिकालाई ह्वील चियर उपलब्ध गराउने, थारु र दलित बस्तीमा शौचालय बनाउने कामबाट अभियानको सुरुवात गरे । २०७८ मा काठमाडौं आएका उनी सरसफाइ अभियानमा जुटे ।

‘आम युवा नेपाल’ संस्थामा जोडिएर काम गर्न थाले । वैदेशिक रोजागारीका सिलसिलामा ठगिएका युवाहरुको पक्षमा आवाज उठाउँदै ठगिएको रकम फिर्ता गराउने काममा पनि उनी सक्रिय रहे । अनि, भ्रष्टाचारका मुद्धामा समूह नै बनाएर आवाज उठाउन थाले । एमसीसी पास हुनु हुन्न र नागरिकता बिधेयकको विपक्षमा पनि उनी उत्तिकै सडकमा निस्किए । केही दिन प्रहरी हिरासतमा पनि बसे ।
अहिले ‘देशभक्त युवा नेपाल’ संस्थाको नेतृत्वमा रहेका उनको ९ जनाको टिमले देशभर करिव ३ सय ५० युवालाई संगठित गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको कैलाली– काठमाडौं सम्पर्क विभागका सभापतिसमेत रहेका हेमराजले गत फागुन २१ को संघीय निर्वाचनमा जिल्लाका ५ जना नै उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेले । फलस्वरुप कैलालीमा रास्वपाले क्लिन स्वीप नै गर्यो । कैलाली क्षेत्र २ बाट निर्वाचित केपी खनाललाई जिताउन सचिवालयको टिममा नेतृत्वदायी भूमिका उनको रहेको थियो ।
अहिले काठमाडौंको कीर्तिपुरमा रहेर पेशाका रुपमा पञ्चधातुका सामान उत्पादन गर्दै बजारसम्म पुर्याउने उनी आगामी स्थानीय तहमा निर्वाचनको उम्मेदवार बन्ने लक्ष्यमा रहेको सुनाउछन् ।
प्रतिक्रिया दिनुहोस्