काठमाडौं । नेपाली सेनाको आयोजनामा तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित ‘प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३’ को चौथो संस्करण सम्पन्न भएको छ । प्रतियोगिता जङ्गी अड्डामा आयोजित समापन समारोहबीच प्रधान सेनापति महारथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
समापन समारोहमा प्रधान सेनापतिले प्रतियोगितामा च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लब, पुरुष एकलतर्फका विजेता प्रदीप खड्का तथा महिला एकलतर्फकी विजेता सिमाली गुरुङलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरिएको नेपाली सेनाले जनाएको छ।
यही ठ ४ गतेदेखि सुरु भएको प्रतियोगिता जङ्गी अड्डा तथा दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा १२ वटा क्लबका २१८ जना खेलाडीहरूले १३ विधामा प्रतिस्पर्धा गरेका थिए ।
समापन कार्यक्रममा बलाधिकृत, तीनवटै सुरक्षा निकायका प्रमुखहरू, रथीवृन्द, नेपाल टेनिस सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, विभिन्न टेनिस क्लबका प्रतिनिधि, नेपाली सेनाका सकलदर्जा, सञ्चारकर्मी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्