Advertisement GIF
संयुक्त राष्ट्र सङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिकमा नेपाली सेना

सुरेन्द्र सुवेदी/काठमाडौं

संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै करिब साढे छ दशकदेखि नेपाली शान्ति सैनिकहरू विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा तैनाथ हुँदै आइरहेका छन्। २०१५ सालमा United Nations Observer Group in Lebanon (UNOGIL) अन्तर्गत पाँच जना नेपाली सैनिक पर्यवेक्षकको तैनाथीसँगै विश्वशान्ति कार्यमा नेपालको यात्रा आरम्भ भएको थियो। २०३१ सालमा United Nations Emergency Force (UNEF-II) इजिप्टको सिनाईमा पुरानो गोरख गणको तैनाथी नै नेपाली सेनाको युनिट तहको पहिलो सहभागिता थियो।

हालसम्म नेपाली सेनाका करिब १ लाख ६५ हजारभन्दा बढी शान्ति सैनिकहरूले विश्वका विभिन्न ४४ वटा शान्ति कार्य मिसनहरूमा अमूल्य योगदान दिइसकेका छन्। विश्व शान्ति स्थापना जस्तो पवित्र कार्यमा खटिँदा कर्तव्यपालनको सिलसिलामा हालसम्म ७४ जना नेपाली शान्ति सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७७ जना घाइते भएका छन्। हाल विश्वका विभिन्न ९ वटा शान्ति कार्य मिसनहरूमा नेपाली सेनाका ४ हजार १४९ जना शान्ति सैनिक अहोरात्र तैनाथ रहेका छन्।

संयुक्त राष्ट्र सङ्घको बडापत्रको मर्म र सदस्य राष्ट्रको हैसियतले पूरा गर्नुपर्ने जिम्मेवारीको साथै नेपालको सुरक्षा नीति तथा परराष्ट्र नीतिले निर्दिष्ट गरेका प्रावधानहरू बमोजिम विश्व शान्ति र सुरक्षामा नेपालको विशिष्ट योगदान र भूमिकालाई थप प्रभावकारी बनाउन विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाको सक्रिय सहभागिताको महत्त्वपूर्ण देन रहँदै आएको छ। यसरी, विश्व शान्ति स्थापना कार्यमा पुर्‍याउँदै आइरहेको योगदान, नेपाली शान्ति सैनिकहरूको उच्चस्तरको अनुशासन र व्यावसायिकता तथा शान्ति स्थापना कार्यप्रतिको प्रतिबद्धताको फलस्वरूप नेपाल संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक तैनाथ गर्ने एक भरपर्दो एवम् विश्वसनीय सदस्य राष्ट्रको रूपमा स्थापित भएको छ।

संयुक्त राष्ट्र सङ्घको विश्व शान्तिप्रति कटिबद्धता तथा उक्त सङ्घको नेपाल एक जिम्मेवार सदस्य राष्ट्र भएको परिप्रेक्ष्यमा संयुक्त राष्ट्र सङ्घबाट अनुरोध भई आएमा नेपाल सरकारले १० हजारसम्म शान्ति सैनिक खटाउन सक्ने प्रतिबद्धता समेत गरेको छ, जसका लागि दुई वटा युनिटहरू ६० दिनभित्र र पाँच वटा युनिटहरू १८० दिनभित्र खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ।

अहिलेको जटिल र बहुआयामिक जोखिमयुक्त सुरक्षा वातावरणमा शान्ति सैनिकहरूलाई प्राप्त म्यान्डेट र जिम्मेवारीलाई प्रभावकारी ढङ्गबाट सम्पादन गर्न सक्षम र योग्य शान्ति सैनिकहरू तयार गर्ने उद्देश्यका साथ काभ्रेपलान्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा अन्तर्राष्ट्रियस्तरको तालिम पूर्वाधारहरू निर्माण भई नेपाली शान्ति सैनिकहरूलाई तैनाथीपूर्व समयसापेक्ष, मिसनहरूको सुरक्षा वातावरण सुहाउँदो एवम् संयुक्त राष्ट्र सङ्घको मापदण्ड बमोजिम आवश्यक पर्ने पूर्वतैनाथी तालिम (Pre Deployment Training-PDT) र विशिष्टीकृत तालिम (UN Specialized Training)  हरू सञ्चालन हुँदै आइरहेका छन्।

त्यसैगरी, शान्ति स्थापना कार्यमा बहुराष्ट्रिय शान्ति सैनिकहरूबिच आपसी समझदारीको विकास गर्ने उद्देश्यसहित विभिन्न समयमा मित्रराष्ट्रहरूका शान्ति सैनिकहरूको सहभागितामा उक्त तालिम केन्द्रमा शान्ति स्थापना कार्यसम्बन्धी तालिम तथा अभ्यासहरूसमेत सञ्चालन हुँदै आइरहेका छन्। साथै, वर्तमान शान्ति कार्य मिसनहरूको अपरेशनल तथा बन्दोबस्ती आवश्यकतालाई दृष्टिगत गरी शान्ति सेना युनिटहरूको मिसन तैनाथीपूर्वको तयारी तथा भरपर्दो बन्दोबस्ती प्रणाली व्यवस्थापनको सुनिश्चितता गर्न बारा जिल्लाको जितपुरमा श्री शान्ति कार्य लजिष्टिक केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ खटिई कार्य गरिसकेका र हाल तैनाथ रहँदै आएका शान्ति सैनिक, प्रहरी र गैरसैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे २९ मा”International Day of UN Peacekeepers” मनाउने गरिन्छ। यस विशेष दिवसको अवसरमा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरी शान्ति स्थापनार्थ खटिँदा कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नेहरूको सम्मानमा मरणोपरान्त Dag Hammarskjold Medal प्रदान गर्ने गरिन्छ, जुन पदकबाट यस वर्ष नेपाली सेनाका १ जनालाई सम्मान प्रदान गरिएको थियो। साथै, सोही अवसरमा विश्वभर संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूले विश्व शान्ति स्थापना कार्यमा योगदान गर्ने आफ्ना नागरिकहरूको सम्मानमा स्मृति सभा, छलफल र विशेष सम्मानलगायतका कार्यक्रमहरू आयोजना गर्ने गरेका छन्।

विश्व शान्ति स्थापना कार्यमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरू मध्ये अग्रस्थानमा रहँदै आइरहेको नेपालले विगतका वर्षहरू सरह यस वर्ष पनि नेपाली सेनाको आयोजनामा विश्व शान्ति कार्यका प्रयासहरूमा नेपालको अटुट प्रतिबद्धता प्रकट गर्न र नेपाली शान्ति सैनिकहरूले प्रदर्शन गरेको अदम्य साहस तथा उच्च व्यावसायिकताको कदर गर्न वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न कार्यक्रमहरू आयोजना गरी “International Day of UN Peacekeepers” भव्यताका साथ मनाएको छ।

सो अवसरमा विभिन्न शान्ति कार्य मिसनहरूमा खटिँदा वीरगति प्राप्त गर्ने शान्ति सैनिकका परिवारहरूलाई सम्मानित गर्ने र मिसन इलाकामा तैनाथ रहँदा उत्कृष्ट कार्य गरी संयुक्त राष्ट्र सङ्घ, समग्र राष्ट्र र नेपाली सेनाको छवि उच्च राख्ने योगदान गर्ने सकलदर्जालाई कदर समेत गरिएको छ। कार्यक्रममा Protection of Civilian (POC) अन्तर्गत मिसन इलाकाको चुनौतीपूर्ण घडीमा नेपाली शान्ति सैनिकले आफ्नो व्यावसायिक चरित्र प्रदर्शन गरी निर्वाह गरेको भूमिका झल्कने विशेष प्रदर्शनी समेत प्रस्तुत गरिएको थियो।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रबाट तालिम प्राप्त अनुशासित, इमानदार र कर्तव्यनिष्ठ नेपाली शान्ति सैनिकहरूले प्रविधिको विकास क्रमसँगै बदलिँदो सुरक्षा वातावरणमा प्रभावकारी ढङ्गबाट जिम्मेवारी पूरा गर्ने क्रममा द्वन्द्वग्रस्त मुलुकका स्थानीय जनता एवम् अन्तर्राष्ट्रिय समुदायको अद्वितीय विश्वास र भरोसा हासिल गरी राष्ट्रिय हितको संरक्षण र संवर्द्धनमा ठोस योगदान पुर्‍याउनुका साथै नेपालको परराष्ट्र नीतिलाई समेत विशेष टेवा पुर्‍याएका छन्।