नेपाल फिलोसोफिकल रिसर्च सेन्टर र Researchers’ Society (RESO) को संयुक्त आयोजनामा चित्लाङ घोषणा–३ पुनरावलोकन तथा राष्ट्रिय सम्मेलन २०२६ सम्पन्न भएको छ। प्राज्ञिक क्षेत्रकै एक महत्त्वपूर्ण र गरिमामय मानिएको यस बौद्धिक सम्मेलनमा देशभरका करिब ६० जना पीएचडी उपाधिधारी प्रतिष्ठित विद्वान्, प्राध्यापक तथा विभिन्न क्षेत्रका वरिष्ठ अनुसन्धानकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनको मुख्य उद्देश्य प्राज्ञिक अध्ययन, अनुसन्धानको नवीनतम् ज्ञान आदान–प्रदान गर्नुका साथै राष्ट्रिय विकासका विभिन्न आयामसँग जोडिएका मुद्दाहरूमा व्यापक विचार विमर्श गर्नु रहेको थियो।
सम्मेलन अवधिभर सहभागी विज्ञहरूले मुलुकको दिगो र द्रुततर विकासका लागि प्रमाणमा आधारित दृष्टिकोणको महत्त्वमाथि विशेष जोड दिँदै गहन छलफल र कार्यपत्रहरू प्रस्तुत गरेका थिए। प्राज्ञिक जगतमा अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्ने, उत्पादित ज्ञानलाई राष्ट्रिय नीति निर्माणको तहसम्म पुर्याउने, अनुसन्धानकर्ताहरूबीच देशव्यापी नेटवर्किङ बलियो बनाउने र शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर सम्मेलनमा सार्थक बहस र विमर्शको वातावरण सिर्जना गरिएको डा माला खरेलले बताउनु भयो ।
यस विशिष्ट राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउनु र विचार आदानप्रदान गर्नु सम्पूर्ण प्राज्ञिक क्षेत्र एवं सहभागी संस्थाहरूका लागि गौरवको विषय बनेको छ। सम्मेलनमा भएका गहन छलफल र निष्कर्षहरूले आगामी दिनमा देशको रणनीतिक विकासका लागि नीतिगत मार्गनिर्देशन गर्न र अनुसन्धानमा आधारित नयाँ ज्ञानको प्रवर्द्धन गर्न निकै फलदायी एवं महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महसुस सहभागी विद्वानहरूले गरेका छन्।
प्रतिक्रिया दिनुहोस्