Advertisement GIF
काभ्रेको बुच्चाकोट बस दुर्घटना : सेनाको सक्रियतामा उद्धारसँगै १६ जना अस्पताल पठाइए

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर २ स्थित विपि राजमार्गको बुच्चाकोट खण्डमा एक यात्रुवाहक बस दुर्घटना हुँदा नेपाली सेनाको टोलीले तदारुकताका साथ उद्धार कार्य सम्पन्न गरेको छ।

२०८३ साल जेठ २९ गते बनेपाबाट खाट्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोट सडक खण्डमा अचानक अनियन्त्रित भई दुर्घटनामा परेको थियो। बस सडकबाट तल खसेर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ धुलिखेलमा रहेको नेपाली सेनाको मेयर गणबाट विशेष उद्धार टोली तत्काल घटनास्थलतर्फ प्रस्थान गरेको थियो।

घटनास्थलमा पुगेको सेनाको टोलीले अन्य सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीय नागरिकहरूसँग समन्वय र सहकार्य गर्दै युद्धस्तरमा उद्धार कार्य सुरु गरेको थियो। दुर्घटनाका कारण बसभित्र थुनिएका र भीरमा छरिएका यात्रुहरूलाई सेनाको टोलीले निकै संवेदनशील ढंगले उद्धार गरेको हो। उद्धार टोलीले दुर्घटनामा गम्भीर तथा सामान्य घाइते भएका १६ जना यात्रुहरूलाई तत्कालै घटनास्थलबाट बाहिर निकालेर प्राथमिक उपचार गराउँदै थप उपचारका लागि बनेपास्थित अस्पतालतर्फ पठाएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका ८ जना मृतक यात्रुको शवलाई समेत सेनाको टोलीले कठीन प्रयासका बीच बाहिर निकालेर कानुनी प्रक्रिया र पहिचानका लागि आवश्यक सहयोग पुर्‍याएको छ। विपद् र दुर्घटनाको समयमा सदैव अग्रपंक्तिमा खटिने नेपाली सेनाले यस पटक पनि आफ्नो व्यावसायिकता र मानवीय सेवाको भावना प्रदर्शन गर्दै समयमै उद्धार कार्य गर्दा धेरै यात्रुहरूको ज्यान जोगिन सफल भएको स्थानीयहरूले बताएका छन्।