Advertisement GIF
सशस्त्र आईजपी पौडेलद्वारा अवकाश प्राप्त सशस्त्र प्रहरीसित भेटघाटसँगै युनिटपतिहरुलाई निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग भेटघाट गर्नुका साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत युनिटका कमाण्डरहरुलाई सुरक्षा सम्बन्धी आवश्यक निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग भेटघाट गर्नुभएको हो । महानिरीक्षक पौडेलले संगठन बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरुको अथक मेहनत र पसिनाबाट श्रृजित भएकोले सबै कर्मचारीहरुको हकहितमा कसरी काम गर्न सकिन्छ त्यसमा संगठन अघि बढेको बताउनुभयो ।

उहाँले बाहिनीस्तरमा ६ महिनादेखि १ वर्षसम्ममा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिने र जिल्लास्तरमा समेत भेटघाट कार्यक्रम राख्नुपर्ने जरुरी रहेको आवश्यकता महसुस गर्दै संगठन वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले मात्र नभई अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको प्रयासले समेत संगठन बलियो हुने हुँदा उहाँहरुको सल्लाह, सुझावको समेत अपेक्षा राख्नु भयो ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले आत्मीयता, देशप्रतिको उत्तरदायित्व हामी सबैमा भएको हुँदा संगठनमा कार्यरत वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको सेवा सुविधाको लागि प्रदेशस्तरीय अस्पताल स्तरोन्नति गर्दै जाने संगठनको योजना रहेको जानकारी दिनुभयो ।

उहाँले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँगको भेटघाटको क्रममा भएका अन्तक्रियाबाट आएका सल्लाह, सुझावहरु मनन योग्य भएको हुँदा संगठनबाट हुनेसक्ने र दिनसक्ने सेवा सुविधाहरु जुनसकै तहका अवकाश प्राप्त कर्मचारीहरुलाई उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बाहिनी मातहत युनिटका कमाण्डरहरुलाई जिम्मेवारीमा रहँदा उच्च नैतिकताकासाथ कार्य गर्न निर्देशन दिनुहुँदै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा परिचालित हुँदा जिम्मेवारीप्रति इमान्दार र प्रतिबद्ध हुनुकोसाथै थप चनाखो नतिजामुखी कार्य गर्न समेत जरुरी रहेको बताउनुभयो । उहाँले विपद्को समयमा सरोकावाला तथा स्थानीय निकायहरुसँग आवश्यक समन्वय र सहकार्यकासाथ परिचालन हुनुपर्नेमा जोड दिनुहुँदै मातहत सशस्त्र प्रहरी कर्मचारीहरुको गुनासो तत्काल समाधान गर्न तथा चेनअफ कमाण्ड समेत कायम गर्न निर्देशन दिनु भएको सशस्त्र मुख्यालयले जनाएको छ ।