Advertisement GIF
सैनिक कल्याणकारी कोषको सम्पत्ति ९३ अर्ब : राष्ट्रिय अर्थतन्त्रमा बहुआयामिक योगदान

सुरेन्द्र सुवेदी/काठमाडौं
नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त सैनिक, तिनका परिवारजन र आश्रितहरूको कल्याणका लागि स्थापना गरिएको सैनिक कल्याणकारी कोषले आफ्नो आर्थिक तथा सामाजिक प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गरेको छ। २०३२ सालमा केवल १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कोषको कुल सम्पत्ति २०८२ चैत मसान्तसम्म आइपुग्दा ९३ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

कोषले विभिन्न कल्याणकारी तथा आयमूलक क्षेत्रमा ८ अर्ब ३७ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ। कुल सम्पत्तिमध्ये अधिकांश रकम सुरक्षित निक्षेप, दीर्घकालीन लगानी तथा कल्याणकारी कार्यक्रम सञ्चालनका लागि सञ्चित कोषका रूपमा व्यवस्थापन गरिएको छ। कोषको वित्तीय कारोबार प्रचलित कानुनबमोजिम नियमित आन्तरिक तथा बाह्य लेखापरीक्षण प्रक्रियाबाट परीक्षण हुँदै आएको छ।

“बहुजन हिताय, बहुजन सुखाय” भन्ने मूल आदर्शलाई आत्मसात् गर्दै सञ्चालन भइरहेको कोषले सैनिक परिवारको जीवनस्तर उकास्नुका साथै स्वास्थ्य, शिक्षा, सीप विकास, सामाजिक सुरक्षा तथा राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सैनिक कल्याणकारी कोषको प्रमुख आयस्रोत संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपाली सेनाको सहभागिताबाट प्राप्त हुने रकम र बैंक निक्षेपको ब्याज हो। नेपाली सेनाको शान्ति सेनामा सहभागिताबाट वार्षिक करिब १५ करोड अमेरिकी डलर बराबरको रकम नेपाल भित्रिने गरेको छ। यसले मुलुकको विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति तथा समग्र अर्थतन्त्रलाई मजबुत बनाउन योगदान पुर्‍याएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिताबाट प्राप्त हुने रकममध्ये नियमानुसार निश्चित अंश सैनिक कल्याणकारी कोषमा जम्मा हुने व्यवस्था रहेको छ।

त्यसैगरी, कोषले वाणिज्य बैंकहरूमा राखेको निक्षेपबाट प्राप्त ब्याजको करबापत मात्रै नेपाल सरकारलाई वार्षिक करिब ५४ करोड रुपैयाँ राजस्व योगदान गर्दै आएको छ। कोषको रकम नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नीति अनुसार “क” वर्गका वाणिज्य बैंकहरूमा मात्र सुरक्षित रूपमा निक्षेप गरिने व्यवस्था रहेको छ।

स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै कोषले काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पताललाई ७५० शय्याको अत्याधुनिक अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ। उक्त परियोजनाको लागत साझेदारी अवधारणाअनुसार ३ अर्ब ७३ करोड रुपैयाँ सैनिक कल्याणकारी कोष तथा १४ अर्ब २७ करोड रुपैयाँ नेपाल सरकारबाट उपलब्ध गराउने योजना रहेको छ।

यसका अतिरिक्त इटहरी, पोखरा, नेपालगञ्ज र धनगढीमा प्रादेशिक अस्पताल तथा बर्दिबास र बुटवलमा फिल्ड अस्पताल सञ्चालनमा रहेका छन्। हिताधिकारीहरूका लागि वार्षिक १ लाख ६० हजार रुपैयाँसम्मको उपचार सुविधा तथा गम्भीर रोगका लागि प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ।

सामान्य स्वास्थ्य सुविधाका अतिरिक्त विशेष आर्थिक भार पर्ने मुटु रोग, मिर्गौला फेल, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, सिकलसेल एनेमिया, थालासेमिया, हेमोफिलिया, मानसिक रोगलगायत १३ प्रकारका जटिल रोगहरूको उपचारका लागि थप विशेष सहायता व्यवस्था गरिएको छ। सेनाले सञ्चालन गर्ने निःशुल्क स्वास्थ्य शिविर र मेडिकल क्याम्पबाट सर्वसाधारण नागरिकसमेत लाभान्वित हुँदै आएका छन्।

शिक्षा क्षेत्रमा पनि सैनिक कल्याणकारी कोषको लगानी उल्लेखनीय रहेको छ। देशभर सञ्चालनमा रहेका सैनिक आवासीय महाविद्यालय तथा शिक्षालयहरूमा हाल ९ हजार २७६ विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ३ हजार ६२२ जना सिभिलियन तर्फका सर्वसाधारण नागरिकका छोराछोरी रहेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत एमबीबीएस, एमडीरएमएस, बीएससी नर्सिङ, जनस्वास्थ्य तथा अन्य स्वास्थ्य विज्ञानसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्। चिकित्सा शिक्षामा सैनिक र सर्वसाधारण दुवैका लागि अवसर सुनिश्चित गरिएको छ। कृषि तथा प्राविधिक शिक्षामा समेत कोषले लगानी गर्दै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याएको छ। अवकाशप्राप्त सैनिक, सैनिक परिवारका सदस्य तथा हिताधिकारीहरूलाई लक्षित गरी आत्मनिर्भर बनाउन कोषले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ।

त्रिपुरेश्वरस्थित व्यावसायिक तालिम केन्द्रबाट हालसम्म ४ हजार ७१५ जनाले कुक, प्लम्बर, इलेक्ट्रिसियन, पेन्टर तथा कार्पेन्टरजस्ता व्यावसायिक तालिम प्राप्त गरिसकेका छन्। त्यसैगरी सिलाइकटाइ, फेसन डिजाइनिङ, ब्युटिसियन, कम्प्युटर, ड्राइभिङ, बेकरी तथा अचार उत्पादनसम्बन्धी तालिमबाट २ हजार ६१४ जना लाभान्वित भएका छन्।

भूतपूर्व सैनिकहरूलाई सहुलियतपूर्ण ऋण तथा प्राविधिक परामर्श उपलब्ध गराई मौरीपालन, पशुपालन, माछापालन, फलफूल तथा तरकारी खेती, जडीबुटी प्रशोधन र दुग्ध व्यवसायजस्ता उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गरिएको छ।

करिब पाँच दशकको यात्रामा सैनिक कल्याणकारी कोष केवल सैनिक हितकोषमा सीमित नरही स्वास्थ्य, शिक्षा, सीप विकास, स्वरोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने एक सशक्त संस्थाका रूपमा विकसित भएको छ। आगामी दिनमा सेवा प्रवाहलाई थप प्रविधिमैत्री, पारदर्शी र हितग्राहीमुखी बनाउँदै यसको प्रभावकारिता अझ विस्तार गर्ने लक्ष्य राखिएको छ।