Advertisement GIF
इप्पानको  निवर्तमान अध्यक्ष गणेश कार्की प्रमुख सल्लाहकार

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको छ।

गत जेठ २९ गते मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएर जेठ ३१ गते शपथ ग्रहण, प्रमाणपत्र वितरण र पद हस्तान्तरण भइसकेपछि यो पहिलो औपचारिक बैठक बसेको हो। आज बसेको पहिलो बैठकले ऊर्जा उद्यमीका समस्या पहिचान गर्ने र समाधानका लागि नीति निर्माता, प्रशासक एवं नियामक निकायसँग पहल गर्ने आफ्नो मुख्य उद्देश्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। आजभन्दा २६ वर्ष अघि स्थापना भएको इप्पानमा हाल देशका ७ सयभन्दा बढी ऊर्जा उत्पादक कम्पनीहरू सदस्यका रूपमा आबद्ध रहेका छन्।

बैठकले इप्पानका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शम्सेर जंगबहादुर राणासहित सम्पूर्ण संस्थापकहरूको अविस्मरणीय योगदानको उच्च कदर गर्दै संस्मरण गरेको छ। साथै, २४ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनलाई भव्य रूपमा सफल बनाउन सहयोग पुर्‍याउने अघिल्लो कार्य समितिका अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र कार्य समिति सदस्यहरू, साधारण सभामा उपस्थित इप्पान सदस्यहरू, निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा अधिकृतहरूलाई बैठकले विशेष धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। यसैगरी अधिवेशनलाई व्यवस्थित बनाउन अहोरात्र खटिने इप्पान सचिवालयका कर्मचारीहरू, सूचना सम्प्रेषण गर्ने पत्रकारहरू र सुरक्षा व्यवस्था मिलाउने सुरक्षाकर्मीहरू प्रति समेत बैठकले आभार प्रकट गरेको छ।

अध्यक्षसहित नवनिर्वाचित पदाधिकारी र कार्य समितिका सदस्यहरूबीच आ–आफ्नो व्यावसायिक संलग्नता, अनुभव र क्षमताका बारेमा विस्तृत सूचना आदानप्रदान सहित परिचयात्मक कार्यक्रम समेत गरिएको थियो। सोही बैठकले इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीलाई संस्थाको प्रमुख सल्लाहकार र पूर्व उपाध्यक्ष रामप्रसाद आचार्यलाई एशोसियट सदस्यको रूपमा मनोनित गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। यस निर्णयले संस्थाको आगामी यात्रालाई थप परिपक्व र अनुभवी नेतृत्वको मार्गदर्शन मिल्ने अपेक्षा गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा उद्यमीहरूलाई पूर्ण रूपमा एकताबद्ध बनाएर ऊर्जा क्षेत्रका विद्यमान मुद्दाहरूलाई आगामी दिनमा सशक्त रूपमा उठाइने दृढता व्यक्त गर्नुभयो। उहाँले ऊर्जा क्षेत्रका समस्या समाधान र विकासका लागि विभिन्न विशिष्टीकृत समितिहरू तथा विज्ञ एवं विशेषज्ञहरूको समूह बनाएर संस्थागत रूपमा अघि बढ्ने मार्गचित्र प्रस्तुत गर्नुभयो। सो योजना र लक्ष्य अनुसार कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू पूर्ण ऊर्जा र लगनशीलताका साथ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको जानकारी इप्पानका महासचिव टीएन आचार्यले गराउनुभएको छ।