चितवनमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र राष्ट्रिय पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सेना परिचालन गरिएको भन्दै प्रकाशित भएका समाचारको चितवन प्रशासन कार्यालयले खण्डन गरेको छ ।
प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै केही पत्रकार र सञ्चारमाध्यमबाट सम्प्रेषण भएको समाचारप्रति जिल्ला सुरक्षा समिति चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको पूर्ण रूपमा खण्डन गरेको छ। प्रशासन कार्यालयले आज असार ६ गते विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्थाको हवाला दिएर बजारमा ल्याइएको उक्त समाचार पूर्ण रूपमा कपोलकल्पित, भ्रामक र आधारहीन रहेको स्पष्ट पारेको हो। यही असार ७, ८ र ९ गते सञ्चालन हुन गइरहेको महाधिवेशनलाई लक्षित गरी नेपाली सेना परिचालन गरिएको भन्ने हल्लामा कुनै पनि सत्यता नरहेको प्रशासनले प्रष्ट पारेको छ।

जिल्ला सुरक्षा समितिका सदस्य–सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जारी गरेको विज्ञप्तिमा यस्ता मनगढन्ते र काल्पनिक समाचार सम्प्रेषण गरिएको प्रति जिल्ला सुरक्षा समितिले गम्भीर खेद प्रकट गरेको उल्लेख छ। साथै, उक्त भ्रामक समाचारमा कुनै पनि सत्यता नरहेकाले सुरक्षा व्यवस्थालाई लिएर फिजाइएको यस्तो हल्लाको भ्रममा नपर्नका लागि सम्बन्धित सर्वसाधारण तथा सरोकारवाला सबैमा जानकारी गराइएको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै तथ्यहीन र समाजमा भ्रम सिर्जना गर्ने खालका समाचार सम्प्रेषण नगर्न समेत सचेत गराएको छ।
प्रतिक्रिया दिनुहोस्