कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा सातदिने अवधिको विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ।
धनकुटा, झापा, सुनसरी र मोरङ जिल्लाका स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय बासिन्दाहरूलाई लक्षित गरी असार ९ गतेदेखि कार्यक्रम सुरु गरिएको हो। विपद्का समयमा तत्काल खटिएर प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने जनशक्ति तयार पार्ने उद्देश्यले सञ्चालित यस विशेष तालिममा सहभागीहरूलाई आगलागी, जल उत्पन्न प्रकोप, प्राथमिक उपचार, सीपीआर, रोप रेस्क्युका साथै भत्केका घर तथा भौतिक संरचनाहरूमा गरिने खोज तथा उद्धारका विविध प्राविधिक विषयहरूमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइने सशस्त्र प्रहरीले जनाएको छ।
सचेतनामूलक तथा प्रतिकार्य तालिम कार्यक्रम कोशी प्रदेशका चार महत्त्वपूर्ण स्थानहरूमा एकैसाथ सञ्चालन भइरहेको छ । जसमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, नम्बर ३ कङ्कालिनीमाई गण मोरङअन्तर्गत रंगेली नगरपालिकाको सभाहल, नम्बर ४ गण सुनसरी र नम्बर ६ छिन्ताङ गुल्म धनकुटा रहेका छन्।
तालिम अवधिभर प्रत्येक तोकिएको स्थानबाट २०–२० जना नगर प्रहरी र स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको छ । चारवटै क्षेत्रबाट कुल १ सय जना नागरिक तथा सुरक्षाकर्मी यसमा समेटिएका छन्। आगामी असार १६ गतेसम्म निरन्तर सञ्चालन हुने यस उपयोगी तालिमले भविष्यमा आइपर्ने जुनसुकै प्राकृतिक वा भवितव्य विपद्को समयमा पीडितहरूको तत्काल उद्धार एवं राहत कार्यमा ठूलो सहयोग पुर्याउने छ। यसका साथै स्थानीय स्तरमै दक्ष विपद् स्वयंसेवकहरू उत्पादन भई नागरिक सुरक्षा थप सुदृढ बन्ने विश्वास लिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्