नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय बजारमा आएका गीतहरूमध्ये ‘रुँदै हिँड्दिनँ’ बोलको नयाँ गीतले टिकटकलगायतका सामाजिक सञ्जालमा छोटो समयमै निकै ठूलो तरंग पैदा गरेको छ। मर्मस्पर्शी शब्द र जीवन्त अभिनयका कारण यो गीत आमश्रोता र दर्शकको रोजाइमा पर्न सफल भएको हो। सार्वजनिक भएको छोटो अवधिमै यो गीतको अडियोमा मात्रै टिकटकमा दुई लाखभन्दा बढी प्रयोगकर्ताहरूले भिडियो बनाएर आफ्नो भावना साटासाट गरिसक्नुभएको छ, जसले गीतको लोकप्रियतालाई प्रष्ट पार्छ।

भर्खरै मात्र औपचारिक रूपमा भिडियो निर्माण भई सार्वजनिक गरिएको यस गीतमा नेपाली मोडलिङ क्षेत्रका स्थापित तथा लोकप्रिय मोडल बिमल अधिकारी, प्रतिभाशाली मोडल सृष्टि अधिकारी र मन्जित पहाडीको दमदार अभिनय देख्न सकिन्छ। कलाकारहरूको जीवन्त अभिनय र भावुकताले भिडियोलाई अझ बढी न्याय गरेको छ। यो मार्मिक लोक दोहोरी गीतमा सुमधुर स्वरका धनी गायक गणेश अधिकारी र नेपाली लोक गायन क्षेत्रकी स्थापित गायिका देवी घर्ती मगरको उत्कृष्ट जुहारी सुन्न सकिन्छ। दुवैको स्वरको जादुले स्रोतालाई भावुक बनाउँछ।
गीतलाई उत्कृष्ट बनाउन यसका शब्दहरूले थप महत्त्वपूर्ण भूमिका खेलेका छन्। गीतमा गणेश अधिकारी र मन्जित पहाडीले संयुक्त रूपमा शब्द सिर्जना गर्नुभएको हो, जसमा बियोग र जीवनका भोगाइहरूलाई गहिरो गरी उतारिएको छ। मर्मस्पर्शी शब्द र सङ्गीतको यो सुन्दर संयोजनलाई भिडियोमा उतार्ने काम भने निर्देशक निशान बानियाँले गर्नुभएको हो।

बानियाँको उत्कृष्ट निर्देशन, कुशल छायांकन र प्रविधिको सही संयोजनका कारण भिडियो निकै उत्कृष्ट र सन्देशमूलक बनेको छ। सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा पाइरहेको यो गीतले आगामी दिनमा नेपाली सङ्गीत बजारमा अझ नयाँ रेकर्ड कायम गर्ने विश्वास कला र मनोरञ्जन क्षेत्रका विश्लेषकहरूले राख्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्