Advertisement GIF
कर्णाली खसेको गाडीको खोजीमा सेना : ड्रोनसहितको टोली परिचालन

कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडी र त्यसमा सवार यात्रुको खोजीमा नेपाली सेनाले उच्च प्रविधियुक्त ड्रोनसहितका दक्ष सैनिक टोली परिचालन गरेको छ ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा भएको सवारी दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका यात्रु र गाडीको खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेनाको विशेष टोली परिचालन गरिएको हो ।

यही असार १८ गते राजमार्गबाट नियन्त्रण गुमाएर यात्रुवाहक फोर्स गाडी नदीमा खसेपछि नेपाली सेनाले आधुनिक प्रविधिको प्रयोग गर्दै खोजी कार्यलाई थप प्रभावकारी बनाएको हो । सेनाको टोलीले हिजोआजको तीव्र बहाव र भौगोलिक जटिलतालाई मध्यनजर गर्दै पानीमुनि र आसपासका क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामरा समेत प्रयोग गरेर सूक्ष्म तवरले खोजी गरिरहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दासँगको उच्च समन्वय तथा सहकार्यमा भइरहेको यस खोज तथा उद्धार कार्यमा सेनाले आफ्नो तर्फबाट सम्पूर्ण साधनस्रोत परिचालन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चुनौतीपूर्ण जलवहाव र अप्ठ्यारो भिरपाखाका बीच पनि बेपत्ता यात्रुहरूको स्थिति पत्ता लगाउन र उद्धार कार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपाली सेनाको टोली लागिपरेको बताइन्छ ।