नेपालको यातायात र यात्रा क्षेत्रमा एउटा सर्वथा नयाँ र फरक अवधारणा अघि सार्दै गुरूबस प्रालिले आफ्नो अन्तरसहर बस टिकट बुकिङ मोबाइल सेवा तथा भाडाका गाडी सेवाको औपचारिक सुरुवात गरेको छ।
कम्पनीले प्रविधि र सेवालाई एउटै संरचनाभित्र समेट्दै आफूलाई नेपालको पहिलो धार्मिक यात्रा प्रणालीका रूपमा बजारमा परिचित गराएको हो। यस नवीन यात्रा प्रविधिको सुरुवात कार्यक्रमको मुख्य आकर्षण निकै आध्यात्मिक र मौलिक रहेको थियो, जहाँ मञ्चको बीचभागमा शाश्वत संस्थापक उल्लेख गरिएको कालभैरवको तस्बिरलाई फूलमाला, धुप तथा दियोसहित श्रद्धापूर्वक सजाएर राखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विनय गौतमले यो अवधारणा आफूले सिर्जना गरेको नभई आफूलाई मार्गदर्शनमार्फत देखाइएको र आफू केवल त्यसको कार्यान्वयनकर्ता मात्र भएको भावना व्यक्त गर्नुभयो।
उहाँले यो कम्पनी आफ्नो नभई कालभैरवको भएको र आफू उहाँको हात मात्र बनेर काम गरिरहेको बताउनुभयो। बजारमा रहेका अन्य बस बुकिङ माध्यमहरूसँगको भिन्नताबारे प्रस्ट पार्दै प्रमुख कार्यकारी अधिकृत गौतमले गुरूबसको उद्देश्य केवल टिकट बिक्री गर्नु मात्र नभएर सम्पूर्ण यात्रा अवधिको अनुभवलाई सुरक्षित र सेवामूलक बनाउनु रहेको उल्लेख गर्नुभयो। यात्रा भनेको केवल टिकट काट्नु मात्र नभई घर छोड्नु, बाटो हिँड्नु, मन्दिर पुग्नु, आफन्त भेट्नु र सकुशल घर फर्किनु समेत रहेको प्रस्ट पार्दै कम्पनीले आफूलाई बजारको प्रतिस्पर्धाभन्दा माथि उठाएर विशुद्ध सेवा केन्द्रित संस्थाको रूपमा परिभाषित गरेको छ।
विशेष सामाजिक उत्तरदायित्व र नौलो स्वामित्व संरचना अन्तर्गत गुरूबसले कालभैरवको नाममा ११ प्रतिशत हिस्सा सुरक्षित गर्दै उहाँलाई शाश्वत संस्थापकको हैसियत प्रदान गरेको सार्वजनिक गरेको छ। उक्त ११ प्रतिशत हिस्साबाट प्राप्त हुने सम्पूर्ण नाफा मन्दिरको संरक्षण, बेवारिसे पशुहरूको स्याहार, वृद्धवृद्धाको सहयोग, अनाथ बालबालिकाको अध्ययन र पुनर्स्थापना जस्ता पवित्र सामाजिक कार्यहरूमा खर्च गरिने कम्पनीले प्रतिवद्धता जनाएको छ।
व्यावसायिक सञ्चालनको पहिलो दिनदेखि नै कम्पनीले सातवटा प्रमुख मार्गमा चौधवटा गन्तव्यसम्म अन्तरसहर बस सेवा प्रारम्भ गरिसकेको छ। यात्रुहरूले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै क्युआर टिकट, इसेवा, खल्ती, फोनपे तथा विभिन्न बैंकिङ माध्यमबाट सहजै डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसका साथै व्यक्तिगत तथा समूहगत यात्राका लागि आवश्यक पर्ने भाडाका गाडीहरूको बुकिङ सेवा समेत आजैका मितिदेखि सुचारु गरिएको छ।
कम्पनीले आफ्नो भविष्यको योजनाबारे प्रकाश पार्दै आगामी दिनमा आध्यात्मिक तीर्थयात्रा प्याकेज, पदयात्रा, होटल बुकिङ तथा हवाई टिकट सेवा समेत यही एउटै माध्यमभित्र समावेश गर्दै लैजाने लक्ष्य राखेको छ।
इन्टरनेटको पहुँच नपुगेका वा कमजोर भएका देशका दुर्गम क्षेत्रका यात्रुहरूलाई समेत मध्यनजर गर्दै गुरूबसले ह्वाट्सएप, मोबाइल सन्देश तथा निश्चित कोड प्रणालीमार्फत समेत बुकिङ गर्न सकिने अद्वितीय सुविधा उपलब्ध गराउने र देशभर मजबुत प्रतिनिधि सञ्जाल विस्तार गर्ने रणनीति सार्वजनिक गरेको छ। नेपालमा वार्षिक रूपमा करिब १ करोड ५४ लाख बस यात्रा हुने अनुमान गरिएको र त्यसमध्ये ठूलो हिस्सा अझै पनि परम्परागत किसिमले नै हुने गरेकाले डिजिटल रूपान्तरणको प्रचुर सम्भावना देखिएको कम्पनीको ठहर छ।
बस व्यवसायीहरूलाई प्रोत्साहन गर्नका लागि कम्पनीले सुरुमा निःशुल्क रूपमा आफ्नो प्रणालीमा आबद्ध गराउने र केवल सफल बुकिङ भइसकेपछि मात्र आठ प्रतिशत सेवा शुल्क लिने अत्यन्तै व्यावहारिक व्यावसायिक मोडेल अपनाएको छ। कम्पनीले आफ्नो मुख्य नाराको रूपमा सुनिश्चित सिट, सुरक्षित भुक्तानी, ११ प्रतिशत सेवा, दैवी सुरक्षा, तपाईंको यात्रा पवित्र छ, भन्ने भावनालाई अघि सार्दै नेपाली यात्रुहरूलाई सुरक्षित, भरपर्दो र आध्यात्मिक भावसहितको यात्राको प्रत्याभूति गराएको छ।
कार्यक्रममा गुरुबसको एपको जानकारी अम्बिका शिवाकोटीले दिनु भयो । पत्रकारहरुका जिज्ञासाको सिइओ विनय गौतम, विज्ञान सापकोटा र उज्ज्वल पाठकले उत्तर दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्