Advertisement GIF
कल्पवृक्ष
असार २५ बिहीबार, ७:३२ अपराह्न
काठमाडौँमा बाह्रौँ नेपाल हायर एजुकेसन फेयर आयोजना हुँदै

‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ ११ वर्षदेखि स्वदेशी उच्च शिक्षाको प्रवर्द्धन गर्दै आएको नेपाल हायर एजुकेसन फेयरको बाह्रौँ संस्करण आगामी असार २७ र २८ गते काठमाडौँको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा आयोजना हुने भएको छ।

भिजन मिडिया इन्कर्पोरेसन, एजुकेसन डट कम तथा अनुपम एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यस शैक्षिक मेलाको मुख्य उद्देश्य नेपालभित्रै उपलब्ध गुणस्तरीय उच्च शिक्षाका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई सही, विश्वसनीय र प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै स्वदेशी शिक्षाप्रति सकारात्मक धारणाको विकास गराउनु रहेको छ। दुई दिनसम्म चल्ने यस बृहत् मेलामा नेपालका विभिन्न विश्वविद्यालयहरूका साथै अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग आबद्ध ५० भन्दा बढी प्रतिष्ठित कलेज तथा शैक्षिक संस्थाहरूको सहभागिता रहने जानकारी आयोजकले दिएका छन्।

मेलामा विशेषगरी व्यवस्थापन, सूचना प्रविधि, इन्जिनियरिङ, मेडिकल तथा स्वास्थ्य विज्ञान, हस्पिटालिटी, एभिएसन, मानविकी, कानुन, शिक्षा तथा विज्ञान लगायतका विविध क्षेत्रका स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूका बारेमा विस्तृत जानकारी प्रदान गरिनेछ। यसका साथै मेलामा सहभागी हुने विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक तथा करियर परामर्श समेत उपलब्ध गराइने छ।

शैक्षिक मेलामा सहभागी संस्थाहरूले बीटीटीएस र एमटीएस, एमबीबीएस, बीई, बीटेक, बीआर्क, बीसीए, बीआईटी, बीआईटीएम, बीबीए, बीबीएम, बीबीएस, बीएचएम, बीटीटीएम, बीफिन, बीसीआईएस, बीएससी सीएसआईटी, एमबीए, एमबीएस र एमएससीआईटी लगायतका विभिन्न उच्च शिक्षाका अध्ययन कार्यक्रमहरूका बारेमा सत्यतथ्य जानकारी दिनेछन्।

मेलामा काठमाडौँ विश्वविद्यालय व्यवस्थापन स्कूल (कुसोम), नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथ), शङ्करदेव क्याम्पस, युनिभर्सिटी अफ नेपाल तथा नेपाल इन्जिनियरिङ कलेज जस्ता देशका अत्यन्तै प्रतिष्ठित शैक्षिक संस्थाहरूको प्रत्यक्ष सहभागिता रहने छ। यस वर्षको मेलामा कक्षा १२ उत्तीर्ण गरेका ५ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

मेला थप आकर्षक बनाउन आगन्तुकहरूका लागि निःशुल्क चलचित्रको टिकट, विभिन्न छात्रवृत्ति योजना, लक्की ड्र, आकर्षक उपहार र सहभागी कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्ने विशेष अवसरको व्यवस्था मिलाइएको छ। नेपालमै गुणस्तरीय उच्च शिक्षा अध्ययन गर्ने वातावरण निर्माण गर्न, विद्यार्थीहरूलाई सही शैक्षिक मार्गदर्शन प्रदान गर्न र स्वदेशी शिक्षाको व्यापक प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यस मेलामा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक परामर्शदाता तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि भिजन मिडिया इन्कर्पोरेसनका निर्देशक तारामान रावलले अनुरोध गर्नुभएको छ।