नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै थप सेवा र नयाँ सुविधासहितको ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ। साउन १२ गते मंगलबारदेखि लागू भएको यो अफरअन्तर्गत प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस प्याकहरू उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
अफरअन्तर्गत विशेष गरी पोस्टपेड प्रयोगकर्ताका लागि दुईवटा नयाँ सुलभ प्याकेज सञ्चालनमा ल्याइएका छन्। ३० दिन समयावधि रहेको ‘पोस्टपेड ३७३ प्याक’ अन्तर्गत ३७३ रुपैयाँमा ६ जीबी डेटा, ४०० मिनेट अल-नेट भ्वाइस कल र ५० वटा एसएमएस पठाउन सकिनेछ। त्यस्तै, ४९९ रुपैयाँको प्याकमा १० जीबी डेटा, ५०० मिनेट भ्वाइस कल र १०० वटा एसएमएस समावेश गरिएको छ।
टेलिकमको चर्चित ‘सजिलो अनलिमिटेड पोस्टपेड’ शृङ्खलालाई पनि थप परिमार्जित गरिएको छ। ६९९ रुपैयाँदेखि १,९९९ रुपैयाँसम्मका यी प्याकेजहरूमा ग्राहकले अनलिमिटेड भ्वाइस कलका साथै दैनिक २ जीबीदेखि १५ जीबीसम्म डेटा र मासिक ५०० जीबीसम्मको सुविधा प्राप्त गर्नेछन्। विषेश गरी उच्च डेटा खपत गर्ने उपभोक्ताका लागि १,९९९ रुपैयाँको ‘एक्जिक्युटिभ प्याक’ मा अनलिमिटेड डेटा र भ्वाइस सुविधा उपलब्ध गराइएको छ।
प्रिपेड ग्राहकहरूलाई ध्यानमा राख्दै छोटो अवधिका लागि नयाँ डेटा प्याकहरू समेटिएका छन्। जसअनुसार ९९ रुपैयाँमा १ दिनका लागि ८ जीबी र १९९ रुपैयाँमा ७ दिनका लागि २० जीबी डेटा चलाउन सकिनेछ। साथै, प्रिपेडको सजिलो अनलिमिटेडतर्फ ९९९ र १,४९९ रुपैयाँका प्याकहरूमा क्रमशः मासिक ४५० जीबी र ५०० जीबीसम्म डेटाका साथै अनलिमिटेड कल र एसएमएसको फाइदा उठाउन सकिनेछ।
यसैबीच टेलिकमले आफ्ना ग्राहकका लागि दिँदै आएको ‘नमस्ते क्रेडिट’ (सापटी सेवा) मा पनि ठूलो परिमार्जन गरेको छ। आगामी साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम बढाएर ३० रुपैयाँ पुर्याइएको छ। सो सापटी रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका साना भ्वाइस, डेटा वा एसएमएस प्याकेजहरू सिधै खरिद गर्न सकिने सुविधा मिलाइएको छ।
स्वतः नवीकरण हुने ‘नमस्ते रिकरिङ’ अन्तर्गत नयाँ ६९९ रुपैयाँको प्याक थप गरिएको छ भने संस्थागत ग्राहकका लागि CUG प्याकेजहरूलाई पनि थप आकर्षक बनाइएको छ।
मनसुन अफरसम्बन्धी सम्पूर्ण जानकारी लिन तथा सेवा खरिद गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415# डायल गर्न सक्नेछन्। साथै, नेपाल टेलिकमको आधिकारिक मोबाइल एप तथा वेबसाइट (www.ntc.net.np) मार्फत पनि यी सेवाहरू सजिलै लिन सकिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्