Advertisement GIF
पशुपतिमा निःशुल्क स्वास्थ्य र खानेपानी : बागमतीमा गोताखोर तैनाथ

साउन महिनाको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूको सेवा र सुरक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी परिवार महिला संघले विशेष सेवा सञ्चालन गरिरहेको छ। साउनका प्रत्येक सोमबार संघको आयोजनामा मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम आयोजना भइरहेको छ।

नेपाल एपीएफ अस्पतालका दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले पशुपतिनाथ पुग्ने हजारौँ श्रद्धालु भक्तजनहरूको स्वास्थ्य परीक्षण गरिरहेको छ। शिविरमा आउने दर्शनार्थीहरूलाई स्वास्थ्य जाँचका साथै आवश्यक औषधि र पिउने पानीसमेत निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य सेवासँगै दर्शनार्थीहरूको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले बागमती किनारमा १० जनाको विशेष विपद् व्यवस्थापन टोली पूर्ण तयारी अवस्थामा खटाएको छ। आकस्मिक दुर्घटना वा उद्धार कार्यका लागि ¥याफ्ट बोटलगायतका आधुनिक विपद् उद्धार सामग्रीसहित गोताखोर र उद्धार टोली तैनाथ राखिएको हो।

मन्दिर परिसर वा आसपासका क्षेत्रमा कुनै पनि आकस्मिक स्वास्थ्य समस्या वा घट्ना भएमा तत्काल उद्धार गरी अस्पताल पुर्‍याउन सशस्त्र प्रहरी बलको एम्बुलेन्ससमेत चौबीसै घण्टा तयारी अवस्थामा राखिएको संघले जनाएको छ।