झापाको दमक नगरपालिका –३, ढुकुरपानीमा जन्मेका रबिन खड्का लामो समय जापान बसेर पनि देश फर्किएका छन् । १३ वर्ष जापानमा बसेर देशमै केही गर्ने उदेश्यले फर्केका खड्का पछिल्लो समय राजधानीमा होटल व्यवसाय गर्दैछन् ।
उनी जापान जानुअघि कलाकारिता क्षेत्रमा पनि केही समय सक्रिय रहे । उनले १३ वर्षअघि चलचित्र ‘एक से एक’ मा नायकको भूमिका निभाए । सुदर्शन बस्नेतले निर्माण गरेको म्युजिक भिडियो ‘बादलु उड्ने हिमाली पाखामा’ बोलको गीतमा खड्काले मोडलिङ पनि गरे । उनी कलाकारिताकै क्षेत्रबाट जापान पुगेका थिए । जापानमा दशक लामो बसाइका क्रममा चर्चित गायिका अन्जु पन्तको गीत ‘मुटु माझ राखें मैले’ बोलको म्युजिक भिडियोमा अभिनय गर्न पनि भ्याए । त्यहाँ (जापान) रहँदा कलाकारितासितै व्यवसाय पनि गर्दै रहे ।
मोडल तथा कलाकार रबिन यतिबेला गम्भीर आर्थिक तथा पारिवारिक संकटमा परेको बताउँछन् । जापानमा बसेर कमाएको सम्पत्ति देशमै केही गर्न भनेर फर्कँदा निकटहरुबाटै आर्थिक पीडित बन्न पुगेपछि चाहेजस्तो कलाकारिता क्षेत्रमा लगानी र सक्रिय भएर लाग्न नपाएको उनको भनाइ छ ।
आर्थिक संकटका कारण आफ्नो कलाकारिता र मोडलिङ मोह कहिल्यै नमेटिएको बताउने रबिन, अहिले भने पुनः मोडलिङ र अभिनय क्षेत्रमा कमब्याक गर्न आर्थिक र पारिवारिक समस्याका कारण ठूलो सास्ती खेप्न बाध्य भएको सुनाउँछन् । हाल उनलाई मोडलिङमा ल्याउने र पारिवारिक सम्बन्धकै दायरामा रहेर हर समय सहयोग गर्ने सुदर्शन बस्नेतसितै मिलेर व्यवसायमा आवद्ध रहेका छन् । कलाकारिता क्षेत्रमै पुनः सक्रिय रहने लक्ष्य सुनाउने रविन छिट्टै लामो चलचित्र र म्युजिक भिडियो बनाउने तयारीमा जुटेको बताउँछन् ।
युवाहरुलाई स्वरोजगार बनाउने, रोजगारी दिने र देशमै केही गर्ने उदेश्यले व्यवसाय तथा फिल्मी क्षेत्रमा योगदान दिँदै आएका सुदर्शन बस्नेतले आगामी असोजमा निर्माण गर्न लागेको एक चलचित्रमा खड्कालाई मुख्य पात्रमा अनुबन्धन गर्न लागेको जानकारी दिएका छन् । चलचित्रको नाम टुंगो लागिसको छैन भने कलाकार छनोटको प्रकृया भने सुरु भइसकेको नायक खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्