Advertisement GIF
ज्ञानद्वारा सत्यलाई बुझ अनि आत्मिक शान्ति र मोक्ष प्राप्त गर : भागवत गीता

भागवत गीता हिन्दु धर्मको अत्यन्त महत्त्वपूर्ण र सम्मानित ग्रन्थ हो। महाभारतको भीष्म पर्वमा समावेश गरिएको १८ अध्यायमा फैलिएको यो ग्रन्थ वास्तवमा जीवनलाई कसरी सही ढङ्गले बुझ्ने र कसरी धैर्य, बुद्धि र धर्मका साथ जिउने भन्ने गहन शिक्षाले भरिएको दार्शनिक संवाद हो। गीता मूलतः अर्जुन र श्रीकृष्णबीच युद्धभूमि कुरुक्षेत्रमा भएको संवाद हो, जहाँ अर्जुन युद्ध लड्ने विषयमा उत्पन्न गहिरो मानसिक संकटमा परेका हुन्छन्। यस संकटलाई हटाउँदै कृष्णले उनलाई जीवन, कर्तव्य, आत्मा, धर्म, योग र मोक्षका विषयमा दिने उपदेश नै गीताको सारसम्बन्धी शिक्षाको आधार हो।

गीताको पहिलो सार कर्तव्य (धर्म) पालन हो। कृष्णले अर्जुनलाई भन्छन्— कर्तव्यबाट भाग्नु कमजोरी हो। मनुष्यले आफ्नो धर्म अनुकूल कर्म गर्दै जानु नै जीवनको मूल सारतत्व हो। कामलाई त्यागेरै होइन, कार्य गर्दै पनि आध्यात्मिक जीवन सम्भव छ भन्ने गीता सन्देश दिन्छ। कर्म गर्दा त्यसको फलमा आसक्ति नराखी निष्काम भावले काम गर्नुपर्छ, जसलाई कर्मयोग भनिन्छ। यसले मनुष्यलाई अनुशासन, स्थिरता र शुद्ध मनले काम गर्न प्रेरित गर्छ।

गीताको अर्को गहिरो शिक्षा आत्मा अमर छ भन्ने हो। शरीर नाशवान् भए पनि आत्मा अनन्त, अविनाशी र स्थिर छ। मृत्यु केवल वस्त्र परिवर्तनजस्तै— पुरानो शरीर छोडेर आत्माले नयाँ शरीर धारण गर्ने प्रक्रिया मात्र हो। यस दृष्टिले गीताले भय, लोभ, मोहजस्ता मानसिक भ्रम हटाउँदै जीवनलाई ठूलो परिप्रेक्ष्यमा हेर्न सिकाउँछ।

कृष्णले गीतामा योगका तीन प्रमुख मार्गहरू — कर्मयोग, भक्तियोग र ज्ञानयोगको विस्तृत व्याख्या गरेका छन्। कर्मयोगले कामलाई पूजा मान्दै निष्काम भावले कर्म गर्न सिकाउँछ। भक्तियोगले ईश्वरप्रति पूर्ण विश्वास, प्रेम, समर्पण र श्रद्धाद्वारा मोक्ष प्राप्त गर्न सकिने बताउँछ। ज्ञानयोगले आत्मा, ईश्वर र प्रकृतिको वास्तविक स्वरूप बुझेर मुक्ति सम्भव छ, भन्छ। यी तीनै मार्ग अन्ततः एकै सत्यतर्फ लैजााने बाटाहरू हुन्, जसले मनुष्यलाई आध्यात्मिक उचाइमा पुर्‍याउँछन्।

गीताको अर्को महत्त्वपूर्ण बुँदा समत्वयोग हो,  सुख दुः ख, हानिलाभ, जयपराजय सबैलाई समान रूपमा लिन सक्ने क्षमता। मानव जीवनमा उतारचढाव स्वाभाविक छन्, तर जसले मनलाई स्थिर राख्छ, ऊ नै सच्चा योगी हो। कृष्णका अनुसार समत्वबुद्धि नै आध्यात्मिक शक्तिको आधार हो।

गीताले शिक्षाउने अर्को गहिरो सत्य मोह र आसक्ति नै दुःखका मूल कारण हुन्। मनुष्य जब फल, सम्बन्ध, वस्तु र परिस्थितिहरूसँग अत्यधिक बाँधिन्छ, तब दुःख उत्पन्न हुन्छ। त्यसैले गीताले मोहको नाश, इन्द्रिय नियन्त्रण र आत्म–अनुशासनलाई आवश्यक ठान्छ।

कृष्णले अर्जुनलाई दिएका उपदेशहरू केवल युद्धका लागि होइनन्, ती त जीवनका हरेक क्षेत्रका लागि लागू हुने सर्वकालिक सत्य हुन्। जबजब मानिस द्वन्द्व, भ्रम, भय वा निर्णयहीनतामा पर्छ, गीताका सिद्धान्तले मार्गदर्शन गर्छन्। गीता केवल धार्मिक ग्रन्थ मात्र होइन, एक जीवन–दर्शन हो, जुन व्यक्तिलाई सही सोच, सही काम र सही मार्ग अपनाउन प्रेरित गर्छ।

अन्त्यमा, गीताको सार यसरी भन्न सकिन्छ, ‘आफ्नो धर्मअनुसार निष्काम भावले कर्म गर, मनलाई समत्वमा राख, ईश्वरप्रति भक्तिभाव राख, ज्ञानद्वारा सत्यलाई बुझ, अनि आत्मिक शान्ति र मोक्ष प्राप्त गर।’