Advertisement GIF
स्वतन्त्र नागरिक समाजको चिन्ता  : लुटिएका हतियार निर्वाचनको चुनौती

समाजमा पहुँच र शक्ति नभएका अर्थात ‘भुइँमान्छे’ उपमा लिइने सामान्य नागरिकहरुका पीडा, राज्यको उदासीनता र आगामी फागुन २१ गते हुने भनिएको आसन्न निर्वाचनमाथि देखिन थालेको जोखिमको विषयमा आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले मंगलबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष फणिन्द्र नेपाल, उपाध्यक्ष डा रणबहादुर चन्दले देशको पछिल्लो अवस्थाको चित्रण गर्दै आसन्न निर्वाचनमा हुन सक्ने जोखिमप्रति चिन्ता व्यक्त गर्नु भएको छ । ग्रेटर नेपालको अभियान चलाउँदै आउनु भएका समाजका अध्यक्ष नेपालले जेनजी आन्दोलनका नाममा देशभर लुटिएका हतियार र गोलीको अवस्थाले निर्वाचन नै असुरक्षित बनाउने खतरा रहेको बताउनु भयो।

सरकारी तथ्यांकअनुसार लुटिएका हतियारमध्ये करिब आधाभन्दा बढी अझै फेला नपरेको भन्दै उहाँले भन्नु भयो, ‘लाखौँ थान हतियार, गोली हराइरहेका छन्, तर गृहमन्त्री ओमप्रकाश अर्यालले खोलामा बगे भन्ने गैरजिम्मेवार जवाफ दिइरहेका छन्। यस्ता अभिव्यक्तिले राज्यको असफलतामात्र देखाउँछ।” उहाँले राज्यले जिम्मेवारी स्वीकार नगरेसम्म जोखिम घट्न नसक्ने चेतावनी पनि दिनु भयो ।

नेपालले जेनजी आन्दोलनलाई अरुको बारी खनिदिएको जस्तो बनाइएको आरोप लगाउँदै भन्नु भयो, ‘हामी निर्वाचनको विरोध गर्दैनौँ, तर लुटिएका एक थान हतियार वा एक गोली पनि कसैको जीवनका लागि घातक हुन सक्छ, गोलीमा कसैको नाम लेखिएको हुँदैन।’ उहाँले जेनजीमाथि लगाइँदै आएको आरोपको खण्डन गर्दै सरकारसँग उनीहरूका माग सम्बोधन गर्न आग्रह पनि गर्नु भयो ।

कार्यक्रममा समाजका उपाध्यक्ष नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी्र) डा रणबहादुर चन्दले लुटिएका हतियार तत्काल नियन्त्रणमा लिन राज्यलाई आग्रह गर्नु भएको छ । उहाँले, ‘आन्दोलनका नाममा लुटिएका ती हतियारले निर्वाचनमा ठूलो गडबडी निम्त्याउन सक्छन्। उम्मेद्वार, मतदाता र कर्मचारी सबै जोखिममा पर्न सक्छन्, पार्टीहरूको भूमिकालाई पनि स्मरण गराउँदै ‘नेशनल कल’ मार्फत हतियार फिर्ता गराउने अभियान चलाउनु पर्छ ।’ भन्नु भयो ।

समाजका महासचिव प्रविण नेपालले समाज कसै र कुनै पक्षमा नलागेर विशुद्ध नेपाल र नेपालीको हितमा खवरदारी गर्दै अघि बढ्ने बताउनु भयो । नागरिक समाजले फेला परेका हतियार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न, सबै सुरक्षा निकायलाई तैनाथीअवस्थामा राख्न र सरकारले जिम्मेवारी पूरा गरेरमात्र विश्राम लिन आग्रहयुक्त चेतावनी दिएको छ।