डा परशुराम दाहाल
रक्तदान एउटा सानो सामाजिक कार्य जस्तो देखिए पनि यसको प्रभाव अमूल्य हुन्छ। एक पिन्ट रगतले तीन जनासम्मको जीवन बचाउन सक्छ भन्ने थाहा पाउँदा जो–कोही अचम्मित हुन्छन्। म, एक साधारण नेपाली, हाल अमेरिकाको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएको छु । आफ्नो पेशागत जीवनसँगै रक्तदानजस्तो पवित्र कार्यमा नियमित लागिरहेको छु। नेपालमै सुरु भएको मेरो रक्तदान यात्राले ओक्लाहोमा विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) अध्ययन गर्दै गर्दा नयाँ गति लियो । र, आजसम्म नेपाल अनि अमेरिकामा गरेर २४ पटक रक्तदान गर्ने सौभाग्य प्राप्त भइसकेको छ ।
यो मैले मेरो व्यक्तिगत अनुभव, भावनात्मक सन्तुष्टि र यस सेवामा अरूलाई पनि सहभागी गराउन लेखेको सन्देशमूलक लेख हो।
मैले पहिलोपटक रक्तदान गरेको क्षण आज पनि मलाई जस्ताको तस्तै सम्झना छ। त्यो बेला म २७ वर्षको थिएँ। सायद अरूभन्दा ढिलो सुरु गरे होला । तर राम्रो कामको सुरुवात कहिल्यै ढिलो हुँदैन। सुरुमा मनमा केही डर, शंका र जिज्ञासा थियो, शरीर कमजोर त हुँदैन ? सुईको डर कस्तो हुन्छ ? तर रक्तदानपछि मैले जुन आत्मसन्तुष्टि महसुस गरेँ, त्यो शब्दमा व्यक्त गर्न कठिन छ। त्यो दिन मेरो जीवनको एउटा मोड बन्यो, जहाँबाट मैले सेवाभाव, मानवता र दायित्वलाई जीवनको अभिन्न हिस्सा बनाउने निर्णय गरेँ।
ओक्लाहोमा विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गर्दै गर्दा मैले नियमित रूपमा रेडक्रस तथा अन्य संस्थाहरूले आयोजना गरेका रक्तदान कार्यक्रममा सहभागिता जनाउँदै गएँ। व्यस्त शैक्षिक तालिका, अध्ययन र अनुसन्धानका बीचमा पनि म समय निकाल्थेँ, किनकि मलाई थाहा थियो, मेरो १५ मिनेटले कसैको जिन्दगी बचाउन सक्छ। आज म ड्यालसमा छु तर यो यात्राले निरन्तरता पाइरहेको छ। यहाँका कार्टर ब्लड केयरजस्ता संस्थाहरूका नियमित कार्यक्रममा सहभागिता जनाउँदै मैले रक्तदानलाई केवल व्यक्तिगत कार्यमात्र होइन, सामाजिक अभियान बनाउने प्रयास गरिरहेको छु।
मानव जीवनमा रगतको विकल्प छैन। विज्ञान अत्यन्त विकसित भइसकेको भए पनि अहिलेसम्म विज्ञानले मानव रगतको विकल्प दिन सकेको छैन। दुर्घटनामा परेका, शल्यक्रिया गरिएका, क्यान्सर भएका वा प्रसूति अवस्थामा रहेका महिलाहरू लगायतका व्यक्तिहरूलाई जीवनका लागि रगत आवश्यक पर्छ।
रक्तका तत्वहरू प्लाज्मा, प्लेटलेट्स (रक्तपटलिका) र रातो रक्तकणहरूछुट्याएर फरक–फरक बिरामीमा प्रयोग गर्न सकिन्छ। त्यसैले एक जनाको रगतले तीन जनासम्मको जीवन बचाउन सकिन्छ भनिएको हो।
(डा दाहाल हाल अमेरिकामा एआई विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस्