Advertisement GIF
कल्पवृक्ष
वैशाख ४ शुक्रबार, १०:१० अपराह्न
धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिउका छन् । उनले शुक्रबार अर्थ मन्त्रालयमा आफ्नो राजीनामा पत्र बुझाउँदै पदबाट अलग हुने निर्णय गरेका हुन् ।

उनले आफूले स्वेच्छाले राजीनामा दिएको स्पष्ट गर्दै सरकारलाई सहजता प्रदान गर्न तथा संस्थागत कामकारबाहीलाई निरन्तरता दिन मार्ग प्रशस्त गरेको बताएका छन् । राजीनामा बुझाउने क्रममा श्रेष्ठले आफ्नो कार्यकालका अनुभव उल्लेख गर्दै आगामी दिनमा बोर्डको काम थप प्रभावकारी रूपमा अघि बढोस् भन्ने अपेक्षासमेत व्यक्त गरेका छन् ।

श्रेष्ठलाई २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षका रूपमा नियुक्त गरिएको थियो । कार्यकालको छोटो अवधिमै उनले पद छोड्ने निर्णय गरेपछि पूँजी बजार नियामक निकायभित्र नयाँ नेतृत्व कसरी अघि बढ्ने भन्ने विषयमा चासो बढेको छ । धितोपत्र बजारको स्थायित्व, लगानीकर्ताको विश्वास र नयाँ आईपीओ अनुमतिसम्बन्धी प्रक्रियामा उनको नेतृत्व महत्वपूर्ण मानिएको अवस्थामा अचानक आएको यो राजीनामाले बजारमा पनि विभिन्न अनुमान र चर्चा सुरु भएको देखिन्छ ।

उनको कार्यकालमा बजार सुधार, नियमन सुदृढीकरण र लगानीकर्ताको सुरक्षा सम्बन्धी केही नीतिगत प्रयासहरू अघि बढाइएको भए पनि ती प्रयासहरू पूर्ण रूपमा संस्थागत हुने चरणमै रहेको बताइन्छ । यस्तो अवस्थामा नेतृत्व परिवर्तनले आगामी दिनमा बोर्डको नीति निरन्तरता र निर्णय प्रक्रियामा केही समय अस्थिरता देखिन सक्ने विश्लेषण पनि भइरहेको छ ।

अब सरकारले उनको राजीनामा स्वीकृत गरेपछि नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । नयाँ नेतृत्वले पूँजी बजारलाई अझ पारदर्शी, स्थिर र लगानीमैत्री बनाउने चुनौती सामना गर्नुपर्ने देखिन्छ । पछिल्लो समय सक्रिय रहेको प्राथमिक सेयर निष्काशन, बजार विस्तार र नियमन सुधारका एजेन्डाहरूलाई कसरी निरन्तरता दिने भन्ने विषय पनि नयाँ नेतृत्वको प्रमुख जिम्मेवारी रहनेछ ।