Advertisement GIF
कच्चा पदार्थ र ढुवानी भाडा वृद्धि : पानीको मूल्य समायोजन गर्न उद्योगी बाध्य

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिका कारण उत्पादन लागत बढेको भन्दै पानीको मूल्य समायोजन गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। महासंघद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा जनाइए अनुसार, विगत केही समयदेखि पानी उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थहरूको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ। यसका साथै, डिजेल तथा अन्य पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको छ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चा पदार्थको आपूर्तिमा समस्या उत्पन्न भएको र विशेषगरी इरान–इजरायल तथा इरान–अमेरिका तनावले गर्दा अन्तराष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावका कारण नेपाली पानी उद्योगहरू प्रत्यक्ष प्रभावित भएको उल्लेख छ। यसको सीधा असर कच्चा पदार्थको मूल्य र उपलब्धतामा देखिएको महासंघको भनाइ छ।

महासंघले जिल्ला तथा प्रदेश संघहरू र सम्बन्धित सरोकारवालाहरूसँगको परामर्श, लागत विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कनका आधारमा हाल कायम रहेको मूल्यमा प्रशोधित पिउने पानी बिक्री वितरण गरेर उद्योग सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको हो। यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च, कच्चा पदार्थको मूल्यवृद्धि र उद्योग सञ्चालनको वास्तविक अवस्थाबाट सिर्जित बाध्यात्मक परिस्थिति हो, विज्ञप्तिमा भनिएको छ।

अहिलेको विषम परिस्थितिमा उद्योग सञ्चालन, रोजगारी संरक्षण, उपभोक्तामा नियमित आपूर्ति र गुणस्तर कायम राख्नका लागि बढेको लागतको अनुपातमा मूल्यवृद्धि गरी बिक्री वितरण गर्न महासंघले सम्पूर्ण सदस्य उद्योगीहरूलाई अनुरोध गरेको छ। महासंघले नेपाल सरकार समक्ष पनि उद्योग सञ्चालनलाई सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न आवश्यक कूटनीतिक पहल गर्न, ढुवानी तथा लागत नियन्त्रणका उपायहरू खोज्न र उद्योगमैत्री नीतिगत सरलीकरणका लागि अनुरोध गरेको छ।

महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा, हाल गरिएको मूल्य समायोजनलाई उद्योग संरक्षण र सेवाको निरन्तरताका लागि चालिएको बाध्यात्मक कदमका रूपमा बुझी सहयोग, समर्थन र सहकार्य गरिदिन आम उपभोक्ता, वितरक, व्यवसायी, सञ्चारमाध्यम र सरोकारवाला निकायहरूसँग हार्दिक अपील गरिएको छ। महासंघले उद्योगको हित, उपभोक्ताको हित र राष्ट्रिय अर्थतन्त्रको हितलाई केन्द्रमा राखी आवश्यक नेतृत्व, समन्वय र पहलका साथ निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

हाल नेपालको प्रशोधित पिउने पानी उद्योग क्षेत्रले ६२० भन्दा बढी उद्योगमार्फत ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै १६ अर्बभन्दा बढी लगानी गरेको र राष्ट्रिय अर्थतन्त्र, राजस्व संकलन र बजार आपूर्ति प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको महासंघको तथ्यांक छ।