Advertisement GIF
कल्पवृक्ष
चैत्र १७ मंगलबार, ८:३३ अपराह्न
८४ वर्षमा ८६ कृति : सिर्जनाका प्रतीक मधुसूदन  सुवेदी

नेपाली समाजमा धर्म, संस्कार र ज्ञान–परम्पराको संरक्षणमा समर्पित मधुसूदन सुवेदीले ८४ वर्षको उमेरसम्म आइपुग्दा ८६ वटा पुस्तक प्रकाशन गरी अद्वितीय कीर्तिमान कायम गर्नु भएको छ । १९९१ सालमा ललितपुरको सानोपा क्षेत्रमा जन्मिएका सुवेदी भारद्वाज ऋषि कुलका विद्वान हुनुहुन्छ । उहाँको वंश परम्परा धादिङको फगटपुरसँग जोडिन्छ । जहाँ उहाँका पुर्खा पण्डित जयनारायण उपाध्यायलाई तत्कालीन राजा गिर्वाणवीरविक्रम शाहबाट राजपुरोहितको मान्यता प्राप्त भएको इतिहास उल्लेख छ।

सुवेदीले त्रिभुवन विश्वविद्यालय तथा राजस्थान विश्वविद्यालयबाट पुस्तकालय तथा सूचना विज्ञानमा उच्च शिक्षा हासिल गर्नु भएको हो । उहाँले नेपालका विभिन्न मन्त्रालय, लोक सेवा आयोग, नेपाल राष्ट्रिय पुस्तकालय, संसद सचिवालय, सर्वोच्च अदालत तथा केन्द्रीय कानुन पुस्तकालयमा गरी झण्डै ४० वर्ष सेवा पुर्‍याउनु भयो । उहाँले सरकारी काम गर्न छोडेको जम्मा ५ वर्षमात्र भयो । अर्थात ७९ वर्षसम्म उहाँ नेपाल सरकारको कर्मचारीकै रुपमा कार्यरत रहनु भयो ।

अथक साधक सुवेदीका कृतिहरू धार्मिक विधि, संस्कार, व्रत, तिर्थ, ज्योतिषीय शान्ति तथा पुस्तकालय विज्ञानसम्म फैलिएका छन्। उहाँका चर्चित कृतिमा ‘हिन्दु संस्कार पद्धति, शारदीय दुर्गा पूजाविधि, सत्यनारायण पूजाविधि, लक्ष्मी पूजाविधि, महालक्ष्मी पूजाविधि, अन्नप्राशन विधि, अन्त्येष्टि विधि, हिन्दु धर्म तथा संस्कार विधि, हरितालिका तीज व्रत, सम्पूर्ण एकादशी महात्म्य, गणेश सहस्त्रनाम, विवाह विधि, गृहप्रवेश तथा नवग्रह शान्ति, सनातन दैनिक पूजाविधि, रुद्राक्ष, हिन्दु विवाहको इतिहास, गरुड पुराण प्रवचन, अध्यात्म रामायण सुन्दरकाण्ड, त्रिपिण्डी श्राद्ध, तर्पण तथा सिद्धदान विधिसमेत रहेका छन्।

यसका साथै उहाँले पुस्तकालय विज्ञान सम्बन्धी कृतिहरू पुस्तकालय विज्ञानको उपादेयता तथा Fundamentals of Library and Information Science on Nepalese Response मार्फत शैक्षिक क्षेत्रमा समेत योगदान दिनु भएको छ ।

सुवेदी विभिन्न धार्मिक तथा सामाजिक संस्थासँग आबद्ध रहँदै आउनु भएको छ । विश्व हिन्दु महासंघ, अन्तर्राष्ट्रिय ब्राह्मण संघ, भारद्वाज संस्कृति संवर्द्धन केन्द्र, गीता अध्ययन मण्डल स्वयम्भूलगायत संस्थामा उहाँको सक्रिय सहभागिता रहेको छ । ८४ वर्षको उमेरमा ८६ कृति लेख्नु सामान्य उपलब्धि होइन। निरन्तर अध्ययन, साधना र लेखनमार्फत मधुसूदन सुवेदीले नेपाली समाजमा धर्म र संस्कृतिको जगेर्नामात्र होइन, ज्ञानको पुस्तान्तरणमा पनि अमूल्य योगदान दिनु भएको छ ।

उहाँको जीवन यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँ अझै सक्रिय रहनु भएको छ र केही पुस्तक लेखिरहनु भएको छ ।

-सुरेन्द्र सुवेदी/ललितपुर