औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ बैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। तर कम्पनीको वित्तीय सूचक र रेटिङ्गले लगानीकर्तालाई सजग रहन संकेत गरेको छ।
कम्पनीले कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ।
तर आईपीओ आउनुअघि कम्पनीलाई प्राप्त ‘केयरएनपी सिंगल बी’ रेटिङ्गले यसको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको देखाएको छ। यस्तो रेटिङ्ग भएका कम्पनीमा लगानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने विश्लेषकहरूको सुझाव छ।
कम्पनीको लगानी फिर्ता अवधि पनि तुलनात्मक रूपमा लामो देखिएको छ। साधारण रूपमा लगानी फिर्ता हुन ८.११ वर्ष लाग्ने देखिन्छ भने डिस्काउण्ट आधारमा यो अवधि ११.३५ वर्ष पुग्छ।
यद्यपि, कम्पनीले २३.६३ प्रतिशत आन्तरिक प्रतिफल दर (IRR) प्रस्तुत गरेको छ, जुन आकर्षक देखिए पनि त्यसको व्यवहारिक कार्यान्वयनमा जोखिम रहने संकेत गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि बैशाख ६ गतेसम्म तोकिएको छ, आवश्यक परे बैशाख १६ गतेसम्म लम्बिन सक्नेछ।
आईपीओमा आवेदन दिने व्यवस्था ‘मेरो शेयर’ प्रणालीसहित बैंक तथा वित्तीय संस्थामार्फत हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्