बलिउडका लोकप्रिय निर्देशक मोहित सुरीको नयाँ फिल्म ‘सैयारा’ भोलि (शुक्रबार) बाट बिश्वभर प्रदर्शनमा आउँदैछ। रिलिज नहुँदै चलचित्रले दर्शकहरूबाट उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ । रिलिजपूर्वै १८ लाखभन्दा बढी दर्शकले अग्रिम रुपमा टिकट बुकिङ गरिसकेका छन्, जुन भारतमा ४ करोडभन्दा धेरै रुपैयाँको आम्दानी हो। फिल्मको माउथ पव्लिसिटी राम्रो देखियो भने यसले बलिउडमा आसिकी २ पछि अर्को छलाङ मार्ने देखिन्छ । लभ स्टोरी जनरा फिल्मका पारखीका लागि यो फिल्म कति बेला रिलिज होला, भन्ने भैरहेको देखिन्छ ।
त्यसो त निर्देशक सुरी सधैं स्क्रिप्ट र संगीतमा गहिरो ध्यान दिने निर्देशकका रूपमा परिचित छन्। हालै वलिउडको चर्चित मिडिया पिंकभिल्लासँग उनले भनेका छन्, ‘म गीत तयार नभएसम्म सुटिङ सुरु गर्दिनँ। म गीत तयार नभएसम्म कहिल्यै क्यामेरा खोल्दिनँ ।’ यस अडानका कारण, उनका फिल्महरू कथामा मात्रै होइन, संगीत र दृश्य माध्यममा पनि उत्तिकै बलिया हुन्छन्। सोही कारण रिलिज अगावै उनले दर्शकको ध्यान तान्न सफल हुन्छन् ।
निर्देशक सुरीका अनुसार र समग्र उनले सार्वजनिक गरेका प्रमोशनल सामाग्री हेर्दा ‘सैयारा’ एक संगीतमय आधुनिक प्रेमकथा हो, जसले विशेषगरी युवापुस्तालाई लक्षित गरेको छ। फिल्मको ट्रेलर, गीत र पोस्टरले पहिले नै दर्शकहरूलाई आकर्षित गरिसकेको छ। बलिउड पण्डित तरण आदर्शले पोस्ट गरेको यसबारेको पछिल्लो टिप्पणी र अन्य चलचित्रकर्मी, विश्लेषकहरुका टिप्पणी, अभिव्यक्ति हेर्दा र फिल्मको एडभान्स बुकिङ केलाउँदा यो फिल्म वर्षकै उत्कृष्ट हिटमध्ये एक बन्ने संकेत देखिन्छ ।
पछिल्लो एक अन्तरवार्तामा मोहित सुरीलाई थुप्रै निर्देशकहरूले यसरी नयाँ अनुहार र प्रेमकथामा चलचित्र नबनाउन सुझाव दिएका थिए। तर, उनले आफ्नो कथा यशराज फिल्म्ससँग सेयर गरेपछि कम्पनीले गहिरो रुचि देखाउँदै फिल्म निर्माणको बाटो खोलेको हो। त्यसो त यो कथामा टि–सिरिजका प्रमुख भूषण कुमार र निर्माता मुकेश भट्टले कथालाई ‘आशिकी ३’ का रूपमा बनाउन दबाब दिएका थिए । तर, मोहित सुरीले स्क्रिप्ट नपुगेको भन्दै अस्वीकार गरे र अन्ततः ‘सैयारा’ को नाममा फिल्म अगाडि बढाए।
करीब ४५ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यो फिल्म आजको मितिमा बलिउडका अन्य ठूला बजेटका चलचित्रहरूसँग प्रतिस्पर्धा गर्न तयार छ। कुनैपनि चलचित्र सफल हुनुका पछाडि यसको लागतलाई पनि हेरिन्छ । कम लागतमा अनुमान गरेझैं आम्दानी गर्न सफल भयो भने यो फिल्म सहजै हिट हुनेछ । कम बजेट भए पनि प्रबल कथा, सशक्त निर्देशन र कर्णप्रिय संगीतले ‘सैयारा’ लाई सम्भावित ब्लकबस्टर बनाएको छ । चलचित्र कतिसम्मको अब्बल र सशक्त छ भन्ने कुरा युट्युबमा सार्वजनिक ट्रेलर, गीत संगीतहरुबाट पनि सहजै अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्