सुदूर पूर्वको पाँचथर जिल्ला, पञ्चमी गाउँ विकास समिति वडा नम्बर १ मा २०२० सालमा जन्मनु भएका रमेश लिङदेन अहिले राजधानी काठमाडौं– ९ मा क्यानभास बोर्डिङ स्कुलको लगानीकर्ता तथा प्रिन्सिपल हुनुहुन्छ । लिम्बू समुदायलाई दिइने ‘सुब्बा’ मान पद्बी पाउने चन्द्रहाङ र फिपरानीका चार सन्तानमध्ये उहाँ माइलो हो ।
झापाको दमकबाट एसएलसी, सुनसरीको धरान हात्तिसारबाट आइएससी, त्रिचन्द्र कलेज काठमाडौंबाट बिएससी र ताहाचल क्याम्पसबाट एमएड उतीर्ण गर्नु भएका लिङ्देन भारतको मेवाड विश्वविद्यालयबाट समाज शास्त्रमा विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँसित शिक्षाको पाटोमा रहेर गरिएको छोटो संवादको संपादित अंश ।
शिक्षण पेशामा कसरी आवद्ध हुनु भयो ?
म पढ्दैदेखि २०४३ सालबाट भानुभक्त मेमोरियल स्कुलमा पढाउन थालें । सिद्धार्थ बनस्थलीमा पनि पढाएँ । जम्मा १० वर्ष शिक्षक भएँ ।
अनि क्यानभास कसरी खोल्नु भयो ?
विज्ञान शिक्षकको रुपमा पठाउँदै जाँदा विद्यालय खोल्ने रहर जाग्यो । बनस्थलीमा पढाउँदै गर्दा यस्तो रहर लागेको हो । २०५३ मा क्यानभास खोलें । घरजग्गा भाडामा लिएर ७० जना विद्यार्थीबाट यो विद्यालय सुरु गरेको हुँ । विद्यालय खोलेर प्रिन्सिपलको रुपमा आफ्नै स्कुलमा कार्यरत रहें ।
त्यो समयमा शिक्षक भन्दा पनि लोकसेवा पढेर निजामति जागिरे बन्न मन लागेन ?
हाम्रो पालामा रुस र युक्रेनमा डाक्टर पढ्ने लहर थियो । डाक्टर बन्ने भन्दै त्यतातर्फ ध्यान केन्द्रीत गरियो । विज्ञान पढेकालाई लोकसेवा उतीर्ण गर्न कठिन मानिन्थ्यो । यसैले अन्यत्र भन्दा शिक्षण पेशा र बोर्डिङ खोल्नतर्फ मोडिएछु ।
त्यो बेला अर्थात ३० वर्षअघि विद्यालय खोल्ने र सञ्चालन गर्ने वातावरण कस्तो थियो ?
वातावरण सहज थियो । विद्यालय खोल्न अनुमति लिनु पर्दैन थियो । विद्यालय खोलेपछि अनुमति लिन पाइन्थ्यो । त्यो समय निजी बोर्डिङहरु खोल्ने लहर नै चलेको थियो ।
अहिले विद्यालयको अवस्था कस्तो छ ?
राम्रो छ । चार सयबढी विद्यार्थी र ४२ बढी शिक्षक तथा कर्मचारी छन् । कमाउने भन्दा पनि विद्यालय आफ्नै गतिमा सञ्चालन भइरहेको छ । विद्यालयमा नाफा र घाटा भन्दा पनि सरदर ‘रेसियो’ मा चलेको छ ।
निजी तथा आवासीय बोर्डिङ स्कुल एसोसिएसन (प्याब्सन) मा रहनु भएन ?
रहें । २०५३ मै प्याब्सनमा आवद्ध भएँ । प्याब्सनको केन्द्रीय सदस्य पनि बनें । अहिले सल्लाहकार छु । त्यसमाथि गइँन ।
तपाईँकै अगुवाईमा ‘डिन’ भन्ने संस्था पनि खोलिएको छ नि ?
हो । २०६२| ०६३ मा पूर्वबाट राजधानी आएर विद्यालय सञ्चालन गर्ने प्रिन्सिपलहरुको संस्था डिन खोलियो । यो संस्थामा १७ वर्ष म अध्यक्ष रहें । यसले सदस्य विद्यालयबीच परीक्षा सञ्चालन गर्ने, शिक्षकहरुलाई तालिम दिने र अतिरिक्त कृयाकलापहरु गर्दै आएको छ ।
नेपालमा अहिले शिक्षा महंगो भयो भनिन्छ नि ?
यो सत्य होइन । सरकारले शिशु कक्षामा जति लगानी गरेको छ, त्यसको तुलनामा निजी बोर्डिङहरुले कम शुल्क लिने गरेका छन् । निजी विद्यालयहरुले शिक्षालाई बोझ हुनबाट जोगाएका छन् । अर्थात शिक्षालाई व्यवस्थापन (मेण्टेन) गरेका छन् । जस्तै सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउनु प¥यो भने निजी श्रोतबाट शिक्षक राख्नु पर्छ, त्यसो गर्दा विद्यार्थीले शुल्क तिर्नै प¥यो । अहिले केही सरकारी विद्यालयले अंग्रेजी माध्यममा जाँदा बोर्डिङ स्कुलजति नै शुल्क लिइरहेको पाइन्छ ।
हाम्रो शिक्षा प्रणाली सीपमूलक किन भएन ?
राज्यले शिक्षाका लागि कुनै पनि क्षेत्रलाई फोकस गरेन । पर्यटन, हाइड्रोपावरजस्ता अर्थात कुन क्षेत्रमा कसरी जनशक्ति उत्पादन गर्ने भन्ने कुनै नीति नै बनाएन । अनि, कति जनशक्ति चाहिने, अहिले कति छ, जस्ता कुराको कुनै अभिलेख नै छैन । हो, यस्तै कारणले सीपमूलक जनशक्ति उत्पादन हुन नसकेको देखिन्छ ।
अहिले पढेको जनशक्ति त बिदेशतर्फ पलायन भइरहेको छ नि ?
यो ‘ग्लोवल वार्मिङ’ को कारण यस्तो हुन्छ । यसको चरित्र नै यस्तो हो । विश्व नै एक गाउँको रुपमा विकास भएपछि अवसरको खोजीमा जो र जहाँ पनि पुग्न सक्छन् । राम्रो सेवा तथा सुविधा खोज्न मानिस जहाँ पनि पुग्छन् । यो प्रवृत्तिलाई रोक्न सकिन्न, रोक्नु पनि हुन्न । तर, सरकारले अवसर सिर्जना भने गर्नुपर्छ ।
अहिले देशमा भइरहेको शिक्षक आन्दोलन के हो ?
यो आन्दोलन संघीयता विरोधी हुनुहुन्न । संघीयतामा गएपछि पालिकाहरुको मातहत विद्यालयहरु रहन्छन् । अनि शिक्षकहरुले पालिकाको मातहत रहन्न भन्न पाइन्न । शिक्षकहरुको वृत्ति विकास, सेवा तथा सुविधाजस्ता माग जायज छन् । ती माग सरकारले पूरा गर्नुपर्छ ।