-सुरेन्द्र सुवेदी
पद र शक्तिका लागि माहिर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पछिल्लो राजनीतिक क्रियाकलापले राजनीतिका पण्डित पनि छक्क परेका छन्। आन्तरिक राजनीतिमा समदूरी राखेर ‘लाभ’ लिने बानी परेका पौडेल पछिल्लो समय एमालेको आन्तरिक राजनीतिमा यू(टर्न लिएका हुन्। केही समयअघिसम्म पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको मुख्य योजनाकार भएर अघि बढेका पौडेल यतिबेला भने एमाले अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक व्याख्याकार बनेका छन्।
नेकपा एमाले रुपन्देहीको आयोजनामा भएको पुष्पलाल स्मृति दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै पौडेलले सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा सम्बद्ध हुन नहुने बताए। राष्ट्रपति गणतन्त्रको शान भएको र राष्ट्र प्रमुख भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा आबद्ध हुनु नहुने निष्कर्षसहित एमालेले निर्णय गरेको उनले बताए।
एमाले अध्यक्ष केपी शर्माा ओली ७० वर्ष कटिसकेका र अबको नेतृत्व पूर्वराष्ट्रपति भण्डारीले लिनु पर्ने प्रष्ट विचार राख्ने पौडेलले एमाले केन्द्रीय समितिको बैठकमा राखेका विषयहरू विस्तृत रूपमा सार्वजनिक भएनन्। तर, ओली(विद्या भिडन्तको अन्तिम समयमा भण्डारीलाई दोबाटोमा छोडेर ओलीसितै टाँसिन पुगेका छन् पौडेल।

‘अब उहाँ राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्ने जहाँसम्म विषय छ। राष्ट्रपति गणतन्त्रको शान हो। राष्ट्रपति राष्ट्र प्रमुख हो। राष्ट्र प्रमुख भएर कुनै एउटा पार्टी विशेषमा, हिजो उपाध्यक्ष हुँदा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो, तर जब उहाँ राष्ट्रप्रमुख हुनुभयो,’ उनले भने, ‘एमालेको मात्र होइन सिंगो राष्ट्रको राष्ट्रप्रमुख हुनुभयो। सिंगो राष्ट्रको राष्ट्रपति जस्तो अभिभारा संविधानको रक्षा, संरक्षण गर्ने अभिभारा वहन गरेर सेवानिवृत्त भएको पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा उचित हुँदैन।’ ओलीको पक्ष लिँदै उनले ७० वर्षे उमेरहद राख्न जरुरी नरहेको पनि उनले बताए।
विद्यालाई एमाले राजनीतिमा छिराउने प्रकरणका मुख्य योजनकार अर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो अभियान पार नलाग्ने देखेपछि ‘मरेको बाख्रालाई उपियाँले छोडे झैं’ कित्ता नै परिवर्तन गरे।
एमालेकी पूर्वनेतृसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीलाई उनकै नेतृत्वमा चीनको भ्रमण गराउनेदेखि त्यहाँको आशीर्वाद लिएर एमाले नेतृत्व नै कब्जा गर्ने अभीष्ट पौडेलको योजनाअनुसार गरिएको थियो। त्यो अहिले भुत्ते भयो। केपी ओलीले एमालेलाई यो स्तरमा पुर्याउन गरेको योगदानको कदर गर्दै बहुमत पक्ष उनकै लाइनमा अडिग भयो। अनि, भण्डारीलाई बोक्ने, उचाल्नेदेखि भण्डारी शक्तिमा आएको अवस्थामा ‘भाग’ खान पाइने आशा बोकेकाहरू घर न घाटका भए।
विद्यालाई एमाले राजनीतिमा छिराउने प्रकरणका मुख्य योजनकार अर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो अभियान पार नलाग्ने देखेपछि ‘मरेको बाख्रालाई उपियाँले छोडे झैं’ कित्ता नै परिवर्तन गरे। अनि नेपालको कम्युनिस्ट आन्दोलनमा केपीको विकल्प एमालेमा नरहेको पनि सार्वजनिक गर्दै हिँड्न थालेका छन्।
यसअघिदेखि नै पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व लिने गरी एमालेमा फर्कने स्पष्ट रुपमा नबताए पनि प्रधानमन्त्री ओलीले चाहिँ यो विषयलाई आफूमाथिको चुनौतीका रुपमा सोचे। किनभने, भण्डारीलाई तपाई पार्टी नेतृत्वमा फर्कनुपर्यो र अभिभावकत्व लिइदिनुपर्यो भनेर आग्रह गर्ने एमाले नेताहरुको संख्या बढ्दै गएको छ। र, ती नेताहरुको सूचीमा ईश्वर पोखरेल र विष्णु पौडेलको समेत नाम छ भन्ने रिपोर्टिङ ओलीलाई भएको थियो। यसअनुसार पौडेलले भूमिका पनि निभाएका थिए। तर पछिल्लो केन्द्रीय कमिटी बैठकमा विद्याले एमाले सदस्यता नै नपाएपछि पौडेल ओलीतिर फर्किएका हुन्।
विद्या भण्डारीको नेतृत्वमा प्रचण्ड र माधवकुमार नेपालसमेत एकै ठाउँमा आउन सक्ने र विगतको नेकपासमेत ब्युँतिने कतिपयले विश्लेषण गरेका छन्। उता, एकीकृत समाजवादीका नेताहरुले ओली अध्यक्ष रहुञ्जेल एमालेसँग एकता नहुने बताउँदै आएका छन्। यो परिस्थितिमा विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाएर ओलीलाई प्रतिस्थापन गर्ने एमालेका केही नेताहरूको रणनीतिमा भने धक्का लागेको छ। पौडेलले बाटो मोडेर आफूलाई फेरि सुरक्षित स्थानमा अवतरणको प्रयास गरेका छन्। तर ओली विगतका गतिविधिहरुको पनि हिसाबकिताब राख्ने नेता भएकाले पौडेलले ओलीमा कति छिटो छवि निर्माण गर्न सक्छन् भन्ने चाहिँ प्रष्ट छैन।