-सुरेन्द्र सुवेदी
नेपाली कांङ्ग्रेसको विधानअनुसार यसपालि १५औँ महाधिवेशन हुनुपर्ने हो। सामान्य अवस्थामा यसपालि हुनुपर्ने महाधिवेशन एक वर्ष पछि सार्न कांग्रेसले भाका राखिसकेको छ। १४औँ महाधिवेशन भएको चार वर्ष यसपालि पुगेपनि एक वर्ष म्याद थप गर्न सक्ने विधानको सुविधा लिएर महाधिवेशन एक वर्षपछि सार्न कांग्रेसको पार्टीपंक्ति तयारै छ।
महाधिवेशन आउन एक वर्ष बाँकी नै रहेपनि सरगर्मी भने सुरु भइसकेको छ। कांग्रेस नेताहरूले आफूअनुकूल हुने समूह निर्माण गर्न र आफ्नो समूहमा नेताहरूलाई तान्नका लागि विभिन्न यत्नहरू गर्दै आएका छन्। र यो खेल औपचारिक रूपमा नै सुरु भइसकेको छ।
आगामी महाधिवेशनलाई केन्द्रित गरी कति समूह सक्रिय छन् भन्ने कुरा तत्काल प्रस्ट छैन। तर नेताहरूका गतिविधिलाई नजिकबाट नियाल्ने हो भने कम्तीमा तीन समूहले आफ्नो समूहको तर्फबाट सभापतिको उम्मेदवार बनाउन सक्ने देखिन्छ।

यी तीनै समूह मैदानमै उत्रिसकेका छन्। हाल सभापति रहेका देउवाको समर्थन लिएर एक समूह सभापतिको उम्मेदवारी दिने कसरतमा छ। यो समूहका नेताहरूले कसलाई सभापतिको उम्मेदवार बनाउने भन्ने तय गर्न सकेका छैनन्। यो समूहमा देउवासँग सभापति पदमा चुनाव लडिसकेका नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि पनि छन्। यस्तै हालका उपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्रीसमेत रहेका बीपी कोइरालाका छोरा शशांक कोइराला पनि यही समूहमा छन्। यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि यही समूहको नेता बन्ने दौडमा छन्। यी सबै नेताहरू देउवा समूहको आधिकारिक उम्मेदवार आफू बन्नका लागि विभिन्न छलफल चलाइरहेका छन्।
चाक्सीबारी भेलाले नै शेखर कोइरालालाई पनि सभापतिको आकांक्षीका रूपमा थप दहर्याइदिएको छ।
यही समूहमा नेता विजयकुमार गच्छदार पनि सक्रिय छन्। उनी भ्रष्टाचार प्रकरणमा मुछिएका कारण आगामी महाधिवेशनमा सभापतिका लागि दाबेदारी प्रस्तुत गर्ने दौडमा छैनन्। यस्तै प्रकाशशरण महतले यो समूहलाई अंगालेर हिँडेका छन्। उनको दौड महामन्त्रीका लागि हो।
साउन ५ गते यो समूहका ७ नेताको भेला सिंहनिवास चाक्सीबारीमा भएको थियो। देउवा दोस्रो पटक पनि सभापति भइसकेको र तेस्रो कार्यकालमा सभापतिको उम्मेदवार बन्न विधानले नै रोकेकाले अब देउवापछि सभापतिको उम्मेदवारका आकांक्षीको लाइन लामो भएकाले यो समूह महाधिवेशनका लागि मतदानको दोस्रो चरण ९कांग्रेस सभापति बन्न कम्तीमा पनि ५० प्रतिशत मत ल्याउनुपर्ने भएकाले दोस्रो चरणमा पुग्न सक्ने आकलन गरिएको छ।०सम्म पुग्दा पनि उतिकै इन्ट्याक्ट रहन सक्ने भने देखिँदैन। बरु सभापतिको उम्मेदवारी फिर्ता लिने दिनसम्ममा हुन आउने घटनाक्रम र स्वार्थको द्वन्द्वले यो समूहलाई छिन्नभिन्न पार्न सक्ने आकलन भने बलियो बन्न सक्छ।
चाक्सीबारी भेलाले नै शेखर कोइरालालाई पनि सभापतिको आकांक्षीका रूपमा थप दहर्याइदिएको छ। यसअघि पनि दोस्रो चरणसम्म पुगेका कोइरालालाई झन्डै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मत पाएका थिए। त्यसलाई समेत आधार मान्दा पनि उनको दाबी अस्वाभाविक देखिन्न।
चाक्सीबारी भेलाले आफूहरूको मुख्य प्रतिस्पर्धी शेखर कोइराला समूहलाई नै देखेको छ। देउवापछिको नेतृत्व कसले लिने भन्नेमा अलमल हुँदा कतिपय संस्थापन ९देउवा० पक्षका नेताहरूलाई कोइरालाले तानिदिएका पनि छन्। यो कुराले चाक्सीबारी भेलामा पुगेका सबै नेताको मनमा चिसो चस्का हानेको छ। आफूहरूको पक्षबाट एक जना मात्र सभापतिको उम्मेदवार बन्ने र बाँकी नेता असन्तुष्ट बन्न सक्ने र उनीहरू सबै कोइरालाका पक्षमा उभिने त होइनन् भन्ने शंका देउवाको उत्तराधिकारी बन्ने समूहका सबै नेतामा छ। शेखरले देउवा समूहका नेताहरू बालकृष्ण खाँड र एनपी साउदलाई तानिदिइसकेका छन्।
संस्थापन समूहका नेता एकजुट नबन्ने र शेखर कोइराला पक्षका नेताकार्यकर्ताहरूलाई आफ्नो पक्षमा तान्न सकिने आत्मविश्वासका साथ हालका महामन्त्री गगन थापाले छुट्टै गुटको अभ्यास गरिरहेका छन्।
आफूहरूको मुख्य प्रतिस्पर्धी देखेका कारण शेखरलाई काउन्टर दिनु चाक्सीबारी भेलाको मुख्य उद्देश्य थियो। शेखर तत्कालै ओली सरकारलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने भन्दै पूर्वराष्ट्रपतिसमेत रहेकी र हाल एमालेमा आफ्नै गुट चलाइरहेकी विद्या भण्डारीका साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्दै हिँड्न थालेपछि संस्थापन समूहको तारो शेखर बनेका थिए। शेखरका घटनाक्रमले एमालेमा समेत तरंग पैदा गरिदएको थियो। तर चाक्सीबारी भेलाले वर्तमान गठबन्धन बन्दा भएको सहमति ९ओलीपछि देउवा नै प्रधानमन्त्री बन्ने०को विकल्प नभएको निष्कर्ष निकालेको थियो।
शेखर समूहमा सभापतिको उम्मेदवार शेखर कोइराला नै बन्ने कुरा निर्विवादित छ। तर संस्थापन समूह देउवाबाहेकका कुनै पनि व्यक्तिका विषयमा एकजुट हुने सम्भावना कम छ। देउवाले अहिलेसम्म पार्टीमा आफ्नो उत्तराधिकारी तोकेका छैनन्। देउवाले मुख खोलेर नभनुन्जेल यो समूह आपसी शंका र अविश्वासमा जकडिइरहनेछ। यद्यपि संस्थापन पक्षबाट डा शशांक र सिटौलामध्ये एक जना सभापतिको उम्मेदवार बन्न सक्ने आकलन राजनीतिक विश्लेषकहरू गर्छन्।
संस्थापन समूहका नेता एकजुट नबन्ने र शेखर कोइराला पक्षका नेताकार्यकर्ताहरूलाई आफ्नो पक्षमा तान्न सकिने आत्मविश्वासका साथ हालका महामन्त्री गगन थापाले छुट्टै गुटको अभ्यास गरिरहेका छन्। १४औँ महाधिवेशनमा कोइराला पक्षबाट महामन्त्री बनेर चुनाव जितेका कारण उनी कोइराला १५औँ महाधिवेशनमा भने त्यसरी प्रस्तुत हुने मुडमा छैनन्। शेखर पक्ष र गगन पक्षका नेता तथा कार्यकर्ताहरू एकअर्कामा सबैभन्दा ठूला विरोधी बनेर सार्वजनिक रूपमा नै प्रस्तुत हुन थालिसकेका कारण यी दुवै नेता फेरि पनि एकैठाउँ हुन असम्भव नै नभएपनि सजिलो चाहिँ छैन। गगन थापा देउवा पक्ष र शेखर पक्ष दुवैतर्फका नेताकार्यकर्ता तान्ने मुडमा छन्। गगनलाई दोस्रो पुस्ताको नेता मान्ने कांग्रेसका पुराना नेताहरू उनको पक्षमा खुल्न सहज नमान्ने भएकाले पनि उनी कार्यकर्तामा बढी केन्द्रित देखिन्छन्।
अन्य कुरा यथावत् रहेमा अबको एक वर्षपछि हुने कांग्रेसको निर्वाचनमा सभापतिका लागि कम्तीमा तीन प्रतिस्पर्धी हुन सक्ने हालका घटनाक्रमहरूले देखाएका छन्।
आफूहरूलाई युवा पुस्ताका नेता तथा कार्यकर्ताहरूले साथ दिने विश्वासमा गगनको टिम छ। गगन टिमलाई हालसम्म अर्का महामन्त्री विश्वप्रकाश शर्मा र हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलको साथ छ। युवा अनुहारलाई देखाएर कांग्रेस रुपान्तरणको नारा दिने र महाधिवेशन प्रतिनिधिमा आफूपक्षीय नेतारकार्यकर्ताहरूलाई ल्याउन सकिने आत्मविश्वासमा टोली नेता स्वयं गगन पनि छन्। गगन सभापति बने पार्टी र संसदीय मोर्चाको काम बाँडफाँट गरेर चलाउने भद्र सहमति विश्वप्रकाशसँग भएको गगन समूहका नेताहरूले भन्दै आएका छन्।
अन्य कुरा यथावत् रहेमा अबको एक वर्षपछि हुने कांग्रेसको निर्वाचनमा सभापतिका लागि कम्तीमा तीन प्रतिस्पर्धी हुन सक्ने हालका घटनाक्रमहरूले देखाएका छन्। हालका सभापति देउवाका उत्तराधिकारी, शेखर कोइराला र गगन थापाले आफूहरूलाई सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेका छन्। पहिलो चरणमा देउवाको उत्तराधिकारी टिम, शेखर र गगन उम्मेदवार बन्न सक्ने देखिएको छ।
कांग्रेसको सभापति बन्न कम्तीमा पनि ५० प्रतिशत मत ल्याउन पर्ने भएकाले पहिलो चरणबाट नै सभापतिको छिनोफानो हुन्छ भन्न सकिन्न। पहिलो चरणमा कुनै पनि पक्षले ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा मतदान हुनेछ।
कांग्रेस राजनीतिमा हालकै सिनारियो मतदानका दिनसम्म पनि कायम रह्यो भने शेखर कोइराला र गगन समूह सकेसम्म एकअर्कालाई बिगार्ने बाटोमा अघि बढ्नेछन्। शेखर समूहले बरु देउवाको उत्तराधिकारीलाई सहयोग गर्न सक्ने तर गगनतर्फ नफर्कने देखिन्छ। देउवाको उत्तराधिकारी समूह भने बरु शेखरलाई समर्थन गर्न सक्ने तर गगनलाई ‘कलिलै’ मान्न सक्नेछ। तर पहिलो चरणमा पहिलो र दोस्रो भएका उम्मेदवार नै दोस्रो चरणको प्रतिस्पर्धामा पुग्नेछन्। तेस्रो हुने पक्षले जसलाई समर्थन गर्छ, सोही समूहले सानेपाको सत्ता सम्हाल्ने सम्भावना बढी हुन्छ।