भगवति खड्का ‘युनिका’ को पहिलो परिचय नेपालकी पहिलो रेस्लर खेलाडी हो । २०६९ साल भदौंबाट रेस्लर खेलाडी ‘हिमालयन टाइगर’ सित रेस्लिङ सिक्न थालेकी युनिकाले त्यसै वर्षको मंसिरमा अर्घाखाँचीको सन्धीखर्कमा अमेरिकन खेलाडी द ग्रेट चेन्नेसित गेम खेलिन् । यो नै नेपालमा महिला रेस्लरले खेलेको पहिलो खेल थियो । त्यसैले उनी नेपालको पहिलो महिला रेस्लर बन्न सफल भइन् ।
पछिल्लो समय नेपाल महिला रेस्लिङ फाउण्डेसन स्थापना गरेर त्यसको अध्यक्ष रहेकी उनीले भारत, जापान, पाकिस्तानसमेतका देशमा रेस्लिङ खेलिसकेकी छन् ।
सगरमाथा हिमालको आधार शिविर कालापत्थर समुन्द्री सतह ५६४४ मिटरमा भएको रेस्लिङ खेलमा अमेरिकी खेलाडीलाई पराजित गर्न सफल भइन्, युनिका । यो विश्वकै उच्च स्थानमा भएको रेस्लिङ खेल र त्यसको विजेता बनेकी युनिकाको यो रेकर्ड गिनिज बुकमा लेखिसकिएको छ ।

यसै वर्षको जुनमा पाकिस्तानमा भएको खेलमा उनी प्रथम भइन् । र, यो पाकिस्तानमा महिला रेस्लिङको खेल नै पहिलो पटक भएको थियो । युनिकाको एक महत्वकांक्षी योजना छ, जुन ४९१९ मिटरमा ९ देशका खेलाडी बोलाएर रेस्लिङ प्रतियोगिता गर्ने । जसका लागि करिव १ करोड रुपैयाँ खर्च हुने उनीको भनाइ छ । जसका लागि उनी अहिले प्रायोजकको खोजीमा रहेकी छन् । भविष्यमा रेस्लिङलाई थप विकास गर्न ठाउँठाउँमा कभर्डहल बनाउने, देशका ७७ वटै जिल्लामा रेस्लिङ खेल खेलाउने योजना युनिकाको छ । अहिले राजधानीको शान्तिनगरमा दैनिक रेस्लिङ खेल सिक्न चाहनेलाई सिकाउने गर्दै आएकी छन् । ‘अहिलेसम्म मैले १ सय १९ जनालाई रेस्लिङ सिकाइ सकेकी छु ।’– उनीले भनिन् ।
युनिका रामेछापकोे मन्थली– १२ मा जन्मेकी हुन् । प्रेमबहादुर र प्रेमकुमारी खड्काका दुई सन्तानमध्ये कान्छी उनले तामाकोशी जनजाग्रिती उच्च माविबाट एसएलसी उतीर्णपछि राजधानीको पद्मकन्या क्याम्पसबाट उच्च शिक्षा लिन थालिन् । हट्टाकट्टा शरीर देखेर पद्मकन्या क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी सभापति स्वगीय स्वस्तिका पोख्रेलले भारोत्तोलन सिक्न भन्दै रंगशाला पठाइन् । १८ वर्षको उमेरमा ६५ किलो तौलकी उनले साढे ३ महिनाको तालिमपछि भक्तपुरमा आयोजित भक्तपुर महाउत्सवमा १३५ किलो तौल उठाएर रेकर्ड नै बनाइन् ।

त्यो समयमा पैसाको अभावले तागतिला फलफुलसम्म किन्न नसकेर भारोत्तोलनलाई त्यहीँ बिसाएर राजधानीमै एक क्याफे खोलेको उनले स्मरण गरिन् । अध्यनमा लागेको ब्रेकलाई हटाएर पुनः पढ्न थालेकी उनले २०६४मा कराँते, बक्सिङ पनि सिक्न थालिन् । यहीबीचमा युनिक एल्बम पनि निकालिन् । लोकपपको यो एल्बममा ६ वटा गीत समेटिएका छन् । उनले त्यही समयमा सिआरबीटीहरु बनाउन पनि सुरु गरिन् । जसबाट आएको रकमले पल्सर बाइक किनिन् ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने नाता बन्धन जिन्दगीको, इमेज टेलिभिजनबाट प्रशारण भ्एको आम्मै सिरियल पनि खेलिन् । त्यसपछि भारतीय कलाकार शक्ति कपुरसित हम हे हिरो हिन्दुस्तानी र भोजपुरी फिलिम प्रतिकार पनि खेलिन् । उनले नेपालमा हिम्मत २, रक्षक, अर्जुन देव, मस्ती, प्लान, मेरो बेष्ट फ्रेण्ड, नबोले पनि हासी राख न, सुकुल गुण्डा, हवल्दार सुन्तली, मिस्टर भर्जिनसमेतका चलचित्रमा भिलेन र हास्य कलाकारको भूमिका निभाइ सकेकी छन् ।
सन्तोष पन्तको हिजो, आजका कुरादेखि २७ वटा सिरियल र ६४ वटा चलचित्रमा अभिनय गरेकी युनिकाको अबको यात्रा भनेको रेस्लिङको क्षेत्रमा थप योगदान दिने रहेको उनी सुनाउँछिन् ।
-सुरेन्द्र सुवेदी/ काठमाडौं
प्रतिक्रिया दिनुहोस्