Advertisement GIF
पुस २२ मंगलबार, १०:१३ पूर्वाह्न

यस समयमा मेरो आमाको धेरै याद आउँछ। “परेपछि मात्र थाहा हुन्छ” भन्ने भनाइ सही छ। आमा हुनुको सुख–दुःख आफैले भोगेपछि मात्र थाहा हुन्छ। दुःख नभए जीवन अधुरो, सुख मात्र भए जीवन नीरस हुने थियो। जे जस्तो भए पनि समय एकनासले निरन्तर बहिरहेको छ र जीवनका अमूल्य पलहरू आफ्नै धुनमा पल्टिरहेका छन्।

यो सपनाको देशमा सबै कुरा छन्स् दुःख, सुख, पीडा, हासो, र खुशी। यी सबै भए पनि आफ्नो परिवार, आफन्त र मातृभूमिको सम्झनाले जीवन अपूर्ण नै रहन्छ। सम्पूर्ण भौतिक सुविधा भए पनि मनमा पूर्ण चैन हुँदैन, किनकि अर्काको ठाँउ र परिवेशलाई आफ्नो बनाउनु गाह्रो हुन्छ। भौतिक शरीर मात्र यहाँ छ, तर मनहरू आफ्नै मातृभूमिमा हुन्छन्।

–इन्दिरा चोङबाङ

जब म नेपालमा थिएँ, सबैको मुखबाट यही सुनिन्थ्यो कि अमेरिका सपनाको देश हो। जो कोहीलाई जीवनमा एकपटक अमेरिका गएर मात्र मर्न पाए हुन्थ्यो भन्ने कामना हुन्छ। हो, यही दुनियाँले सोचेको सपनाको देशमा म पनि टुप्लुक्क आईपुगेँ, अनगिन्ति सपनाहरूको पछ्याइमा। उच्च शिक्षा हासिल गर्न आएको म यही दुनियाँमा हराउन थालेँ।

भौतिक रूपमा शरीर सात समुद्रपारी यो शहरमा भए पनि, निदाउँदा म फेरि आफ्नै जन्मघरमा, बाल्यकालका साथीहरूसँग रमाइरहेको हुन्छु। कहिले स्कुल गईरहेको, कहिले साथीहरूसँग खेलिरहेको, ती उकाली–ओराली बाटोहरूमा सधैं हिँडिरहेको महसुस हुन्छ। बिउझिँदा आफैँ झस्किन्छु र महशुस हुन्छ कि शरीर जति टाढा भए पनि मन र मस्तिष्कहरू सँधै आफ्नै ठाँउमा घुमिरहेछन्।

अमेरिकालाई धेरैले दलदलको भूमि पनि भन्छन्, किनकि जो कोही यहाँ एउटा उदेश्य लिएर आउँछन्, तर यहाँ आएपछि धेरैको उदेश्य, सोच र आवश्यकताहरू परिवर्तन हुन थाल्छ। यति समयपछि नेपाल जाने वा पछि जाने भन्ने सोच्दा, समय बितेको थाहा नै हुँदैन।

हो, म पनि यही दलदलमा फसिरहेकी छु। एउटा फरियन सर्टिफिकेट हात पार्ने उद्देश्यले आएको म यहाँ परिवार बसाउन थालेँ। दशकभन्दा बढी समय यही भूमिमा बितिसकेको छ, तर हिजो जस्तो लाग्छ, दुई–तीन वर्ष मात्र बितेको जस्तो। मेशिन जस्तै चल्ने न्यूयोर्क शहरमा घडीको हरेक मिनेट र सेकेण्ड हेर्दै, रफ्तारमा चल्ने जीवनमा समय बितेको कुनै एेसास नै हुँदैन।

बिहान जुरूक्क उठ्यो, काम जान तयारी भयो, बच्चालाई स्कुलको लागि तयार पार्यो, साँझमा कामबाट फर्कियो, डिनर तयारी गर्यो, खुवायो, बच्चाको होमवर्क गरायो, सुत्यो। यही व्यस्ततामा दिन–रात, हप्ता, महिना र वर्षहरू निरन्तर आफ्नै तालमा चलिरहन्छ।

यो शहरको नारा छ The city that never sleeps. कहिल्यै नसुत्ने शहर पनि कोरोनाको कारण केही समय ठप्प भयो। घडीको तालमा हिँड्ने जीवनमा पनि त्यस्तै परिवर्तन आयो। घरबाटै काम गरे पनि, दुई साना बच्चाका आमा भएकाले फुर्सदिलो समय पाउन मुश्किल छ। कहिलेकाहीँ दिन एकछिन रोकिएर समय लामो भएको जस्तो लाग्छ।

यस समयमा मेरो आमाको धेरै याद आउँछ। “परेपछि मात्र थाहा हुन्छ” भन्ने भनाइ सही छ। आमा हुनुको सुख–दुःख आफैले भोगेपछि मात्र थाहा हुन्छ। दुःख नभए जीवन अधुरो, सुख मात्र भए जीवन नीरस हुने थियो। जे जस्तो भए पनि समय एकनासले निरन्तर बहिरहेको छ र जीवनका अमूल्य पलहरू आफ्नै धुनमा पल्टिरहेका छन्।

यो सपनाको देशमा सबै कुरा छन्स् दुःख, सुख, पीडा, हासो, र खुशी। यी सबै भए पनि आफ्नो परिवार, आफन्त र मातृभूमिको सम्झनाले जीवन अपूर्ण नै रहन्छ। सम्पूर्ण भौतिक सुविधा भए पनि मनमा पूर्ण चैन हुँदैन, किनकि अर्काको ठाँउ र परिवेशलाई आफ्नो बनाउनु गाह्रो हुन्छ। भौतिक शरीर मात्र यहाँ छ, तर मनहरू आफ्नै मातृभूमिमा हुन्छन्।

बिहान उठ्ने बित्तिकै नेपालमा के भइरहेको छ भन्ने समाचार हेर्ने इच्छा जाग्छ। पराईदेशको नागरिकता बोकेर मात्र मन फर्किँदैन, पराई देशलाई मनबाटै आफ्नो बनाउनु गाह्रो छ। अमेरिका वा अन्य देशका समाचारभन्दा पनि नेपालमा के भइरहेको छ भन्ने चासो बढी हुन्छ। देशको सिमाना आफ्नै छिमेकी राष्ट्रबाट मिचिँदा सबैभन्दा दुःखी र चिन्तित हुने हामी जस्ता विदेशियाहरू नै हौं।

कोरोनाले अमेरिकामा एक लाखभन्दा बढीको ज्यान गुमाए, नेपालमा केही दर्जन भए पनि चिन्ता लाग्छ। यदि यहाँ रोजगार र विकास सहज भए, हामी जस्ता बिदेशीहरूले मातृभूमिको सम्झनामा बिलौना गर्न पर्दैनथ्यो।

यसैबीच रुकुममा भएको अन्तरजातीय प्रेम सम्बन्धले निम्ताएको विभत्स हत्या आँखासामु नाच्छ। २१औँ शताब्दीमा पनि जातभेद र रंगभेदका कारण मानिसहरू हत्या गरिन्छन्। अमेरिका जस्तो मानवअधिकारको उच्च सम्मान भएको देशमा पनि अश्वेतमाथि आक्रमण र अन्यायका घटना भइरहेका छन्। सन् २०१४ मा एरिक गार्नर र २०२० मा जर्ज फ्लोइडको ज्यान गएको घटनाले यसलाई पुष्टि गर्छ।

विश्व कोरोना महामारीमा आक्रान्त रहँदा, मातृभूमि नेपालमा जातीय दंगा र कर्मभूमिमा रंगभेदले दुःख थपिरहेको छ। बाँचेर कर्म गर्नुपर्ने स्थानमा हिंसात्मक घटनाहरूले आप्रवासीहरूमा मनोवैज्ञानिक असर पार्छ। सपनाको देशमा सुविधा भए पनि आफ्नो माटोको यादले सताइरहन्छ।

सपना होस् या विपन्नता, जतिसुकै सुविधा भए पनि मातृभूमि सम्झनाले जीवन अपूर्ण रहन्छ। आशा गरौं, कुनै दिन आफ्नै ठाउँमा हुँदा अमेरिकाको भूतले फेरि सताओस् भनेर डर नलागोस्। संसारमा शान्ति छाओस्, मानवजाति सबै एक हो भन्ने भावनाको विकास होस् । यही मेरो कामना हो।

उहाँले निजी प्रयोग र आफ्नो विषयमा जानकारी दिन www.indirasite.com पनि चलाउँदै आउनु भएको छ ।