अमेरिकास्थित न्युयोर्क निवासी नेपाली लेखक पासाङ नुरु शेर्पाको पुस्तक Behind the Mask ले विश्वकै प्रतिष्ठित मध्येको बेस्ट बुक अवार्ड–२०२५ फाइनलिस्ट हुन सफल भएको छ। यो कृति नेपाली भाषामा प्रकाशित कोरोना कथा को अंग्रेजी अनुवाद हो।
शेर्पाले कोरोना अर्थात् कोभिड–१९ महामारीले निम्त्याएको मानवीय पीडा, डर, संघर्ष र आशालाई साहित्यिक ढंगले प्रस्तुत गर्नुभएको छ। अमेरिकन बुक फेस्टद्वारा आयोजित २२औँ वार्षिक अवार्ड कार्यक्रममा कोरोना कथा ले नन–फिक्सन, क्रियटिभ विधाअन्तर्गत उत्कृष्ट कृतिको रूपमा बेस्ट बुक फाइनलिस्ट अवार्ड हात पारेको हो।

लेखक : पासाङनुरु शेर्पा
यस प्रतियोगितामा पेन्गुइन र्यान्डम हाउस, साइमन एण्ड शुस्टर, ह्याचेट यूके, वाइली, प्रिन्सटन युनिभर्सिटी प्रेस, अक्सफोर्ड युनिभर्सिटी प्रेसलगायत विश्वका प्रतिष्ठित प्रकाशकहरूको सहभागिता थियो। ५६६ पृष्ठको कोरोना कथा सन् २०१९ मा सुरु भएको कोभिड महामारीको केन्द्र न्युयोर्कमा बसेर भोगिएका अनुभव, भयावह वातावरण, अमेरिकी जनजीवन तथा नेपाली समुदायको वास्तविक कथामा आधारित संस्मरणात्मक कृति हो।
यही पुस्तकको ४४९ पृष्ठको अंग्रेजी संस्करण Behind the Mask गत अगस्टमा प्रकाशित भएको थियो, जुन हाल अमेजनसहित ५५ भन्दा बढी अनलाइन प्लेटफर्ममा पेपरब्याक र हार्डकभर रूपमा उपलब्ध छ। यो अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै लेखक शेर्पाले भन्नुभयो, कोभिडको उच्च जोखिमपूर्ण समयमा ज्यानको पर्वाह नगरी नेपाली समुदायको उद्धार, उपचार तथा राहत कार्यमा सक्रिय शेर्पाले समाजसेवीको पहिचान पनि बनाउनुभएको छ। त्यही योगदानको कदरस्वरूप केही समयअघि अमेरिकामा ग्लोबल नेपालीद्वारा आयोजित कार्यक्रममा गायिका आनी छोइङ डोल्मासँगै उहाँ पनि सम्मानित हुनुभएको थियो। लेखन यात्राबारे कुरा गर्दै शेर्पा भन्नुहुन्छ, “कोरोना कथा कुनै योजनाबद्ध कृति होइन, महामारीको भित्री पीडा, डर र अनुभवको दैनिकी लेखनबाट जन्मिएको हो।
बार्बर शप बन्द, सहर सुनसान, मानिसहरू डराएका, आफ्ना मान्छे गुमाउँदै गरेको पीडाले मनभित्र जम्मा भएका अनुभूतिहरू लेख्नैपर्ने बाध्यताबाट यो पुस्तक जन्मियो।” कोरोना कथा लेख्न उहाँलाई एक वर्षभन्दा बढी समय लागेको थियो। लेखनक्रममा आइप्याडको नोट एप डिलिट भएर पूरै सामग्री हराएपछि पुनः सुरुदेखि लेख्नुपरेको घटना उहाँ आफ्नो जीवनकै अविस्मरणीय क्षणका रूपमा सम्झनुहुन्छ। पाठक प्रतिक्रिया आफूले सोचेभन्दा निकै गहिरो आएको बताउँदै शेर्पाले भन्नुभयो, “धेरै पाठकले यो किताब पढ्दा आफ्नै कथा पढेजस्तो लागेको प्रतिक्रिया दिनुभएको छ।
यही नै लेखकका लागि सबैभन्दा ठूलो पुरस्कार हो।” पढाइ रुचिका विषयमा उहाँ यथार्थ जीवन, आप्रवासन, संघर्ष, समाज तथा मनोविज्ञानसँग सम्बन्धित पुस्तक मन पर्ने र हाल भाग्य, संघर्ष, सपना र नियतिसँग जोडिएको सस्पेन्स–फिक्सन उपन्यास लेखनमा व्यस्त रहेको जानकारी दिनुहुन्छ। नेपालको सोलुखुम्बुमा जन्मिनु भएका शेर्पा हाल न्युयोर्कमा बसोबास गर्नुहुन्छ। पेशाले हेयर स्टाइलिस्ट उहाँ ज्याक्सन हाइट्समा सैलुन सञ्चालन गर्दै आउनुभएको छ।
साहित्य, समाजसेवा र उद्यम, यी तीनै क्षेत्रमा सक्रिय शेर्पाको यो अन्तर्राष्ट्रिय सफलता नेपाली साहित्यका लागि पनि गर्वको विषय बनेको छ। पाठकहरू उहाँले लेख्दै गरेको आगामी पुस्तकको प्रतीक्षामा रहेका छन्। कोरोना कथा ले धेरै पाठकको मन जितिसकेको सन्दर्भमा, आगामी कृति पनि पठनयोग्य हुने अपेक्षा धेरै पाठकले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्