Advertisement GIF

नेपाल प्रहरीको इतिहासमै सबैभन्दा ठूलो घोटाला भनेर चिनिने सुडान काण्डलाई बाहिर ल्याउने श्रेय मन्त्री भण्डारीलाई जान्छ । जुन प्रकरणले नेपालको सत्ता नै हल्लाएको थियो । जसमा तीनजना प्रहरी महानिरीक्षकसमेत पाँच दर्जन प्रहरीदेखि बिचौलियासम्म मुसिएका थिए । यो भनेको संयुक्त राष्ट्र संघको सुडान मिशनमा बन्दोबस्तिका सामान खरिदमा भएको अनियमितता हो । अर्थात आर्म प्रोटेक्सन क्यारियर (एपिसी) को खरिदमा भएको २९ करोड घोटाला प्रकरण । यो मन्त्री भण्डारीकै कारण सार्वजनिक भएको र कारवाहीको दायरामा आएको मानिन्छ ।

पछिल्लो समय नेपालमा अवसर नभएर अनि देशको समग्र क्षेत्र निरासामा परिणत भएको अवस्थामा बेरोजगारी बढ्दो नै छ । बेरोजगार नेपाली युवा रोजगारीका लागि खाडीसमेतका देशमा जानै पर्ने र शिक्षित युवा भने अध्ययनका लागि देश छोड्नेक्रम सदावहार छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ को छ महिनामा करिव २ लाख ४ हजार युवा बिदेशिएका छन् । २०२४ मा करिव ७ लाख ४१ हजार युवा बिदेशिएका थिए । अहिलेसम्म रोजागारी र अध्ययनका लागि बिदेशिने युवाको संख्या करिव ८० लाख अनुमान गरिन्छ । कोही भने यो संख्या ६८ लाख रहेको अनुमान गर्छन् । गएकाको तथ्याङक रहने अनि फर्कँदाको नरहने कारण यति नै युवा बिदेशमा छन् ? भनेर भन्न सकिन्न ।

संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत, मलेसिया, दक्षिण कोरिया, जापान, युरोपका रोमानिया, क्रोएशिया, साइप्रस, माल्टासमेतका देशमा नेपाली युवा कामको खोजीमा पुगेका छन् । सरकारले विश्वका १११ देशमा वैदेशिक रोजगारीका लागि खुला गरेको छ । सरकारले खुला गरेका बाहेकका देशमा पनि युवाहरु पुगिरहेका छन् ।

वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ । देशको कूल वजेटको हाराहारीमै विप्रेषण आउने गरेको छ । यसरी आर्थिक रुपमा वैदेशिक श्रम नै पहिलो आर्जनको रुप भइसकेको छ । यो क्षेत्र यति बदनाम छकि, सायद ‘बिचौलिया, दलाली गर्ने,’ भन्ने शब्द यही क्षेत्रबाट सुरु भएको मान्नेहरुको संख्या धेरै छ ।

मन्त्री राजेन्द्रसिंह भण्डारी

दलाल र म्यानपावर कम्पनीले दलालमार्फत नक्कली काम सम्झौता बनाउने, अत्यधिक शुल्क असुल्ने, भिजिट भिसाको नाममा श्रम भिसामै पठाउनेजस्ता बेथिति अधिक छन् । रोजगारीका लागि बिदेशिन चाहने युवाले राहदानी बनाउन थालेपछि मेनपावर भेटाउन, स्वास्थ्य परीक्षण, श्रम स्विकृतदेखि उडानसम्म पशुजस्तै तानातान र ठेलमठेलको व्यवहार भोगिरहेको पाइन्छ । अनि ‘फ्री भिसा’ भनिने देशमा पनि लाख, दुईलाख तिरेर गन्तव्य देश पुग्नु परिरहेको छ ।

भिजिट भिसा आफन्त भेटघाट र घुमघामका लागिमात्र हो । तर केही एजेन्टहरूले यसलाई रोजगारीको वैकल्पिक बाटो जसरी प्रयोग गरिरहेका छन्, जसले युवालाई अवैध काम र शोषणको जोखिममा पुर्याइरहेको छ । अनि विदेश पुगेका युवा श्रमिकहरुले काम, तलब र आवासबारे उल्लेख भइसकेको सम्झौतासँग तुलना गर्दा फरक–फरक अनुभव गरेको गुनासो पनि सुनिन्छ। धेरैले कार्यस्थलमा शोषण, तलब नपाउने, लामो समय बिना काम बिना बस्नु पर्नेजस्ता समस्या भोग्नुपरेको रिपोर्ट आइरहेका छन् ।

देशको यस्तो श्रम बजारको अवस्थामा नेपाल प्रहरीका काविल अधिकृतको उपमा लिइने पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री बन्नु भएको छ । २०४३ फागुन ३ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेर एआइजीबाट सेवा निवृत्त हुनु भएका मन्त्री भण्डारीसित उहाँको इमानका कारण धेरै नेपालीले आशा गरेका छन् । ‘बेथिति र बदनाम’ श्रम क्षेत्रमा सुधारका काम हुनेछन्, भनेर ।

नेपाल प्रहरीको इतिहासमै सबैभन्दा ठूलो घोटाला भनेर चिनिने सुडान काण्डलाई बाहिर ल्याउने श्रेय मन्त्री भण्डारीलाई जान्छ । जुन प्रकरणले नेपालको सत्ता नै हल्लाएको थियो । जसमा तीनजना प्रहरी महानिरीक्षकसमेत पाँच दर्जन प्रहरीदेखि बिचौलियासम्म मुसिएका थिए । यो भनेको संयुक्त राष्ट्र संघको सुडान मिशनमा बन्दोबस्तिका सामान खरिदमा भएको अनियमितता हो । अर्थात आर्म प्रोटेक्सन क्यारियर (एपिसी) को खरिदमा भएको २९ करोड घोटाला प्रकरण । यो मन्त्री भण्डारीकै कारण सार्वजनिक भएको र कारवाहीको दायरामा आएको मानिन्छ ।

भण्डारी डिआइजी भएपछि सरकारले प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्युरो स्थापना गर्यो । यो ब्युरोले ठूला र संगठित अपराधमा अनुसन्धान गर्दै मुद्धा दर्तासम्म गर्दै आएको छ । यो ब्युरोको पहिलो निर्देशक मन्त्री भण्डारी नै हुनु भयो । उहाँले नै भ्वाईस ओभर इन्टरनेट प्रोटोकल (भिओआईपी) सम्बन्धी चर्चित मुद्धाको अनुसन्धान र मुद्धासम्म अदालतमा पुर्याउनु भयो । कांग्रेस नेता स्व गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरी यो भिओआइपी सञ्चालक थिए । कांग्रेसको रजगजको समयमा यो मुद्धा मिलाउन, लुकाउन ठूलो चलखेल तथा दवाव पनि परेको थियो । तर, इमान्दार छविका मन्त्री भण्डारीले मुद्धालाई कीनारा लगाउनु नै भयो । जसले उहाँको साख प्रहरीदेखि जानकार नेपालीसम्म बढेको मान्नेहरुको संख्या धेरै छ ।

यसरी एक प्रहरी अधिकृत कामकै आधारमा राम्रो चर्चा पाउन सफल भएको दृष्टान्तबीच उहाँ अब देशको नीति निर्मातादेखि कार्यन्वयनकर्तासम्म पहुँच लिएर मन्त्री बन्नु भएको छ । बेथिति र बेसंगतिबीचको नेपालको श्रम क्षेत्रमा धेरै सुधार आवश्यक छ । म भने मन्त्री भण्डारीको इमान्दारिताको प्रशंसक हुँ नै । लामो समय प्रहरी अर्थात अपराधका क्षेत्रमा समाचार लेख्ने अवसरबीच म उहाँलाई काविल प्रहरी अधिकृतको रुपमा लिन्थे र अहिले पनि लिने गरेको छु । अब हेर्नुछ, उहाँको त्यो काविलता नेपालको श्रम क्षेत्रमा मैले कति सफल भएको देख्न, लेख्न र भोग्न पाउनेछु ।

-सुरेन्द्र सुवेदी/ काठमाडौं