आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन मधेस प्रदेशमा आंकलन गरिएका संवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ ।
प्रहरीका अनुसार प्रदेशका ८ जिल्लामा कूल २ हजार १ सय ६० मतदानस्थल र ४ हजार ४ सय ७१ मतदान केन्द्र रहेका छन् । प्रदेशमा १ हजार २ सय ३७ मतदानस्थल र २ हजार ६ सय १३ मतदान केन्द्र अति संवेदनशील, ७ सय ६३ मतदानस्थल र १ हजार ५ सय ५४ मतदान केन्द्र संवेदनशील रहेको प्रहरीले जनाएको छ । यस्तै १ सय ६० मतदानस्थल र ३ सय ४ मतदान केन्द्र सामान्य रहेको बताइन्छ । यसैअनुसार सुरक्षा व्यवस्थाको व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।
खुला सीमा, मतदाताको चाप, निर्वाचन क्षेत्रको सामाजिक– सांस्कृतिक परिवेश, विगतका घटनाक्रम, भौगोलिक अवस्था तथा राजनीतिक गतिविधिलगायतका आधारमा मतदानस्थलको वर्गीकरण गरिएको मधेस प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले बताउनु भयो ।
यो निर्वाचनमा नेपाल प्रहरी र निर्वाचन (म्यादी) प्रहरी बाट करिब ४० हजार, सशस्त्र प्रहरी बलबाट १० हजार र यसका अतिरिक्त नेपाली सेनासमेत परिचालत हुनेछन् ।
-अस्मिता राई/काठमाडौं
प्रतिक्रिया दिनुहोस्