Advertisement GIF
कल्पवृक्ष
वैशाख २ बुधबार, ९:४९ पूर्वाह्न
देशभर आर्थिक गणना सुरु

देशमा दोस्रो आर्थिक गणना आज (बुधबार) देखि सुरु भएको छ। यसका लागि गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ। अर्थ मन्त्रालयले देशको औद्योगिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्क सङ्कलन हुने भएकाले यस कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

यस आर्थिक गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी क्षेत्र तथा सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत १८ वटा क्षेत्रका आधारभूत विवरण संकलन गरिनेछ।

त्यस क्रममा देशभर दर्ता भएका तथा नभएका ठूला–साना व्यापार प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने वा स्वरोजगारमा रहेका व्यवसाय, उद्योग, कलकारखाना, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, विद्यालय, अस्पताललगायत सबै प्रकारका आर्थिक गतिविधि समेटिने छन्।

आर्थिक गणनाको पूर्वतयारीका सबै काम गत फागुन मसान्तमै सम्पन्न भइसकेका थिए। चैतको सुरुआतमा देशभर ७७ जिल्ला र थप सात गरी ८४ वटा कार्यालय स्थापना गरिएको थियो, जुन असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।

यसअघि विसं २०७५ मा पहिलो राष्ट्रिय आर्थिक गणना गरिएको थियो। उक्त गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो।