Advertisement GIF
वैदिक ज्योतिष र निम्रोलोजी संकेतः २०८३ युद्धको छाया, आर्थिक दबाब र ठूला परिवर्तन

–सुरेन्द्र सुवेदी

नयाँ वर्ष २०८३ आजबाट सुरु भएको छ । यही नयाँ वर्षलाई लिएर पूर्वीय ज्योतिष र निम्रोलोजी दुवैका आधारमा गरिएको विश्लेषणले विश्व र नेपालको आगामी अवस्था चुनौतीपूर्ण तर परिवर्तनकारी रहने संकेत दिएको छ। ज्योतिषीय रूपमा ग्रहहरूको गोचर, रुद्र संवत्सरको प्रभाव तथा शनि, मंगल र वृहस्पतिको अवस्थाले द्वन्द्व, अस्थिरता र संघर्षको संकेत गरेका छन् भने निम्रोलोजीले २०८३ सालको कुल योग ४ आउने भएकाले यसलाई अनुशासन, कठोर निर्णय, प्रणाली परिवर्तन र संघर्षको वर्षका रूपमा व्याख्या गर्न सकिन्छ ।

यस वर्ष विश्वस्तरमा शक्ति सम्पन्न राष्ट्रहरूबीच टकराव, कूटनीतिक तनाव र सैन्य गतिविधिमा वृद्धि हुने सम्भावना देखिन्छ। युरोप र मध्यपूर्व क्षेत्रमा विशेष रूपमा तनाव चर्किने र साना द्वन्द्वहरू ठूलो युद्धमा रूपान्तरण हुन सक्ने जोखिम औंल्याइएको छ। निम्रोलोजीको दृष्टिले अंक ४ अर्थात राहु ग्रहका कारणले दबाबपछि विस्फोट हुने अवस्था संकेत गर्ने भएकाले विश्वयुद्धजस्तो ठूलो संघर्षको सम्भावनालाई नकार्न नसकिने विश्लेषण गरिएको छ।

आर्थिक रूपमा यो वर्ष विश्वका लागि दबाबपूर्ण रहने देखिन्छ। कमजोर देशहरूको मुद्रा अवमूल्यन हुने, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुने र शेयर बजारमा उतारचढाव आउने संकेत गरिएको छ। धनी र गरिबबीचको दूरी अझ बढ्ने तथा जनस्तरमा असन्तुष्टि र आन्दोलनको अवस्था सिर्जना हुन सक्ने देखिएको छ। निम्रोलोजी अनुसार अंक ४ ले कडा परिश्रम र संयम बिना उपलब्धि नहुने जनाउने भएकाले आर्थिक सुधार सहज नहुने विश्लेषण गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा यो वर्षको सुरुवात राजनीतिक खिचातानी, अस्थिरता र समन्वय अभावका कारण चुनौतीपूर्ण रहने देखिन्छ। केन्द्र, प्रदेश र स्थानीय तहबीच विवाद कायम रहने, आर्थिक अवस्था कमजोर रहने र महँगी तथा ऋणको दबाब बढ्ने संकेत गरिएको छ। यद्यपि वर्षको उत्तरार्धतिर, विशेषगरी मंसिरपछि, केही सुधारका संकेत देखिने र कृषि, स्वास्थ्य तथा उद्योग क्षेत्रमा अवसरहरू सिर्जना हुन सक्ने अनुमान गरिएको छ। निम्रोलोजीको ४ अंकले ढिलो तर स्थायी सुधार हुने संकेत गर्ने भएकाले प्रारम्भिक कठिनाइपछि क्रमिक सुधार सम्भव देखिन्छ।

सामाजिक रूपमा अपराध, ठगी, साइबर अपराध तथा महिलामाथि हुने हिंसामा वृद्धि हुन सक्ने र प्राकृतिक रूपमा वर्षा असन्तुलनका कारण कृषि क्षेत्रमा असर पर्ने सम्भावना पनि औंल्याइएको छ। समग्रमा २०८३ साललाई ज्योतिष र निम्रोलोजी दुवैले संघर्ष, दबाब र परिवर्तनको वर्षका रूपमा चित्रण गरेका छन्, जहाँ चुनौतीहरूबीच नयाँ संरचना र सुधारको आधार तयार हुने देखिन्छ।