Advertisement GIF
भारतीय सैन्य शक्तिमा नेपाली साहस अग्रपंक्तिमा : नेपाल–भारत थिंकट्याङ्क फोरममा जोड

नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट  (NIICE) ले ‘क्षेत्रीय सहनशीलता : नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण’ विषयमा नेपाल–भारत थिंकट्याङ्क फोरम आयोजना गरेको छ। कार्यक्रममा नेपाल र भारतका प्रमुख थिंकट्याङ्कका वरिष्ठ विज्ञहरूको सहभागिता रहेको थियो।

युनाइटेड सर्विस इन्स्टिच्युट अफ इन्डियाका महानिर्देशक (सेवानिवृत्त) उप–एडमिरल सञ्जय जसजित सिंहले भारतीय सैन्य शक्ति र राष्ट्रिय सुरक्षाको अग्रपंक्तिमा नेपाली साहस र वीरता रहँदै आएको उल्लेख गरे। उनले ‘अग्निवीर’ योजना नेपाली नागरिकका लागि भारतीय सरह खुला रहेको र यसले अनुशासित, प्रेरित तथा सक्षम युवाशक्ति निर्माणमार्फत समाजलाई सुदृढ बनाउने बताए।

भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा नेटस्ट्र्याटका संयोजक राजदूत पंकज सरनले नेपालका युवासँगको अन्तरक्रियाबाट प्रभावित भएको बताउँदै नेपाल–भारत सम्बन्धको भविष्य निर्माणमा दुवै देशका युवाबीच सक्रिय सहकार्य आवश्यक रहेको धारणा राखे। इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष आलोक बंसलले भारत सीमापार आतंकवादको प्रमुख पीडित रहेको र त्यसको असर नेपालमा पनि पर्ने बताए।

जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक संगीता थपलियालले नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा थिंक ट्याङ्क र शैक्षिक संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अनुसन्धान सहकार्य प्रवर्द्धन गर्न दुवै सरकारले वातावरण बनाउनुपर्ने बताइन्।

काउन्सिल फर स्ट्राटेजिक एण्ड डिफेन्स रिसर्चका सह–संस्थापक डा गौरव सैनीले खुला सिमानाका कारण दुई देशबीच गहिरो व्यापारिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध रहेको तर यसको संवेदनशीलताले मानव तस्करी, लागुऔषध कारोबार र नक्कली मुद्रा जस्ता साझा चुनौती पनि निम्त्याएको बताए। उनले जनवरी २०२६ मा बिहार प्रहरीले नक्कली नेपाली मुद्रा बरामद गरेको घटनालाई उदाहरणका रूपमा उल्लेख गरे।

राजनीतिक तथा सुरक्षा विश्लेषक (सेवानिवृत्त) मेजर जनरल बिनोज बस्न्यातले नेपालमा ‘जेन–जेड’ पुस्ताको प्रदर्शन अप्रत्याशित नभए पनि यसको विस्तारले नीति–निर्मातालाई सन्देश दिएको बताए। उनले निर्वाचन लोकतन्त्रका लागि महत्त्वपूर्ण भए पनि संस्थागत सुधार र पुस्तागत नवीकरणबिना दीर्घकालीन रणनीतिक स्थायित्व सुनिश्चित नहुने चेतावनी दिए। निर्वाचनपछिको अवस्थालाई उनले “रणनीतिक समाधानभन्दा रणनीतिक विश्राम” को रूपमा व्याख्या गरे।

पीईआईका निर्देशक अनुराग आचार्यले भौतिक, व्यापारिक र डिजिटल कनेक्टिभिटी नेपाल–भारत सम्बन्ध सुदृढीकरणका प्रमुख आधार भएको उल्लेख गर्दै प्रविधि एकीकरण, धार्मिक तथा सांस्कृतिक पर्यटन र खेलकुद क्षेत्र भविष्यका सम्भावना भएको बताए।

एनआईआईसीईका कार्यक्रम संयोजक विवेक धोज थापाले उदीयमान युवा पुस्तासँग साझेदारीमा आधारित नेपाल–भारत सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिए। उनले जलस्रोत व्यवस्थापन, जलवायु परिवर्तन र सुरक्षा जस्ता साझा चुनौती समाधानका लागि ‘नेपाल–भारत युवा जलवायु फेलोशिप’ जस्ता पहल अघि सार्न सुझाव दिए।

एनआईआईसीईकी निर्देशक सुमित्रा कार्कीले द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि नीतिगत तथा शैक्षिक तहमा सहकार्य विस्तार गर्नुपर्ने बताउँदै भारत सरकारले ‘नेपाल अध्ययन’ र नेपाल सरकारले ‘भारत अध्ययन’ प्रवर्द्धन गर्नुपर्ने धारणा राखिन्। कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल–भारत सम्बन्धलाई रणनीतिक साझेदारीका रूपमा अघि बढाउँदै क्षेत्रीय स्थायित्व र आपसी सहकार्य सुदृढ बनाउन आवश्यक रहेको निष्कर्ष निकाले।