Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १ शुक्रबार, ८:१५ अपराह्न
युनिटी जर्नलको सातौँ संस्करण सर्वजनिक

सरकारको रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाले प्रकाशन गर्दै आएको ‘युनिटी जर्नल’ को सातौँ संस्करण विमोचन गरिएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा, काठमाडौँमा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले जर्नलको औपचारिक विमोचन गर्नुभएको हो। उक्त अवसरमा प्राध्यापक डा ध्रुव काफ्लेले जर्नल प्रकाशनको महत्वबारे प्रकाश पार्नु भएको थियो।

महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिक उत्सवको अवसरमा आयोजित खुल्ला सैनिक लेख रचना प्रतियोगिता–२०८२ मा छनोट भएका उत्कृष्ट लेखहरूलाई समेटेर जर्नल प्रकाशित गरिएको जनाइएको छ। राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महत्वका सैनिक विषयवस्तुहरू समेटिएको उक्त जर्नलमा समसामयिक सुरक्षा सरोकारका विषय समावेश छन्।

प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने सहायक रथी माधव थापा र डा गीता थपलिया तथा तृतीय हुने सुजना आचार्य र सहायक रथी अर्जुन बस्नेतलाई कार्यक्रममा नगद पुरस्कार र कदरपत्र प्रदान गरिएको थियो। साथै, जर्नलका मूल्यांकन तथा सम्पादनमा योगदान पुर्‍याउने सम्पादक मण्डलका सदस्यहरूलाई पनि कदरपत्र प्रदान गरिएको जनाइएको छ।

विमोचन कार्यक्रममा बलाधिकृत, प्राध्यापक वर्ग, रथी, विषय विज्ञ, सम्पादक मण्डल, लेखकहरू तथा नेपाली सेनाका अधिकृत, पदिक र अन्य दर्जाका सैनिकहरूको उपस्थिति रहेको थियो।