–लाजेहाङ
भाषणमा रातो रगतका कथा
तर ऐनामा हेर्दा
राष्ट्रको अनुहारमा पीडा देखिन्छ
हामीले इतिहासलाई हिराको फ्रेममा टाँस्यौँ
तर वर्तमानलाई भोकको फ्रेममा झुन्ड्यायौँ
नेतृत्वले शपथ खाँदा, हात संविधानमा हुन्छ
तर आँखाहरू ठेक्कापट्टामा डुलिरहन्छ ।
जनता नै मालिक
यो वाक्य यति धेरै दोहोरियो
कि यसको अर्थ थाकेर लड्यो
मृत्यु सैयामा छट्पटिरहेको छ ।
हामीले सभ्यतालाई स्मारकमा राख्यौँ
संस्कृतिलाई भाषणमा
र आत्मसम्मानलाई
विदेशी ऋणको ब्याजसँग साट्यौँ ।
यो प्रजातन्त्र
यदि केवल चुनावको मिति हो भने
त्यो त मौसमजस्तै आयो– गयो
यदि यो स्वतन्त्रता हो भने
किन शब्दहरू डराउँछन् ?
किन प्रश्नहरू, आफ्नै घरमा शरणार्थी छन् ?
हामीले सत्ता बदल्यौँ तर संरचना उस्तै छ
नाम फेरियो, नियत उस्तै छ
आज विश्वले हेर्छ
हामी कति उत्साहित छौँ
कति सजिएको छौँ ।
तर भित्रभित्रै
हामी आफ्नै आदर्शसँग लज्जित छौँ
प्रजातन्त्र दिवस, तिमी उत्सव होइन
तिमी परीक्षण हौ
हामी पास भयौँ कि
आफ्नै भविष्यलाई फेल गर्यौँ ?
यदि प्रजातन्त्र, जनताको स्वाभिमान हो भने
यसलाई भाषणले होइन
जवाफदेहिताले जोगाउनुपर्छ
नत्र इतिहासले लेख्नेछ
यो राष्ट्रसँग, प्रजातन्त्र थियो
तर साहस थिएन
र त्यो वाक्य
संसारकै सबैभन्दा ठूलो
व्यंग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्